काठमाडौं- पोखरा महानगरपालिका क्षेत्रमा २ हजार जनाभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा संलग्न छन्। पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको पोखरा महानगरपालिकाको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।
महानगरभित्रका वडामध्ये विशेषतः १६, १८, २०, २३, २६, २८, ३०, ३३ लगायतका वडामा मौरीपालनतर्फ आकर्षण बढिरहेको छ। महानगरभित्र हाल वार्षिक ९० टनजति मह उत्पादन हुने गरेको बताउँदै उनले त्यो बढ्दो क्रममा रहेको उल्लेख गरे।
उनका अनुुसार महानगर क्षेत्रमा विशेषतः सेरेना जातका मौरीपालन गर्ने गरिएको छ। 'बजारमा महको माग बढ्दो छ, उत्पादन गर्न सकेमा बजारको समस्या छैन,' उनले भने, 'यस क्षेत्रमा मह उत्पादनको सम्भावना राम्रो भएका कारण आयआर्जनको महत्त्वपूर्ण विकल्प बन्ने देखिन्छ। मौरीपालनबाट अन्य कृषिजन्य उत्पादनमा पनि फाइदा पुग्ने उनले बताए।
पछिल्ला समयमा मौरीपालन व्यवसायलाई व्यावसायिक बनाउनका लागि समय-समयमा विभिन्न किसिमका तालिम पनि प्रदान गर्दै आइएको छ। अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको समन्वयमा यहाँका किसानलाई आइतबारदेखि ६५ दिने मौरीपालक तह-१ तालिम दिन सुरु गरिएको छ।
पोखरा महानगरपालिका-२६ लेखनाथ ढलेपीपल कृषि सेवा केन्द्रमा तालिमको सुरुआत गरिएको शाखा प्रमुख कडरियाले जानकारी दिए। तालिममा महानगर क्षेत्रका २० जना अगुवा किसान सहभागी छन्। रासस
