बाँके- कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो। जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे। तर समय फेरिएसँगै बजारमा भित्रिएका बढी फल्ने र छिटो पाक्ने उन्नत (हाइब्रिड) जातका धानको भीडमा ती रैथाने बास्नाहरू हराउन थाले।
अहिले बाँकेमा ३४ हजार १९० हेक्टरमा धानखेती हुन्छ तर ती फाँटहरूमा कालानमकजस्ता परम्परागत जातका धानको उपस्थिति करिब शून्य जस्तै छ। किसान व्यावसायिकतातर्फउन्मुख भएसँगै थोरै लगानीमा धेरै प्रतिफल खोज्दा हाम्रा मौलिक स्वादहरू संकटमा परेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
कालात्मक धान लोप हुनुका पछाडि मुख्य तीन कारण छन्- कम उत्पादन, बढी समय र उच्च लगानी। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सन्तोष पाठकका अनुसार यो धान तयार हुन करिब १४० दिन लाग्छ।
असारमा रोपेको धान मङ्सिरको पहिलो साता मात्र भित्र्याउन सकिन्छ। 'विगतमा यसको खेती निकै हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै लाभ लिनतिर लागे', उनी भन्छन्, 'यसमा सिँचाइ र स्याहार बढी चाहिने तथा रोग किराको प्रकोप पनि बढी देखिने भएकाले किसान ‘हाइब्रिड’तिर आकर्षित भए।'
कालानमक धानखेतीमा केही प्राविधिक समस्याहरू पनि छन्। पहिलेका बीउहरू धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या थियो। अहिले होचो जातको बीउ प्रयोगमा ल्याइएको छ। अर्को समस्या भनेको ‘किरा’को हो। असोज-कात्तिकमा अन्य धान भित्र्याइसकेपछि वरपरका सबै किराहरू ढिलो पाक्ने कालात्मकमा सर्ने गर्छन्, जसले धान पोकट बनाउने जोखिम रहन्छ।
'विगतमा बाँके र बर्दिया जिल्लामा यसको खेती हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे', सूचना अधिकारी पाठकले भने, 'कालानमकको खेती शून्य प्रायः भएपछि अहिले यसको प्रव्रद्धन र प्रचारमा लागेका छौँ।'
पहिलाको कालानमक धानको बीउ धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या भएकाले अहिले होचो कालानमक बीउ प्रयोगमा ल्याइएको छ। किसानले रासायनिक मल धेरै हाल्ने चलन रहेकाले ढल्ने समस्या देखिएको हुँदा युरिया, डिएपी र पोटासको सन्तुलित प्रयोग गर्न किसानलाई सल्लाह दिने गरिएको पाठकले बताए।
उनका अनुसार आर्थिक रूपमा भने यो धान निकै लाभदायक देखिन्छ। सामान्य धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार पाँच सय छ भने कालानमक प्रतिक्विन्टल १० हजारसम्ममा सजिलै बिक्री हुन्छ। विशेषगरी उच्च घराना र पर्यटकको पहिलो रोजाइमा पर्ने हुनाले यसको बजार सुनिश्चित छ।
संरक्षणको आशा
हराउँदै गएको यो रैथाने सानलाई जोगाउन कृषि ज्ञान केन्द्र बाँकेले अहिले विशेष पहल थालेको छ। कृषि अनुसन्धान परिषद् (नार्क) खजुराबाट प्राप्त बीउलाई बाँकेको वैजनाथ गाउँपालिका-८ टिटिहिरियाका किसान जगनारायण चौधरीको खेतमा परीक्षणका रूपमा लगाइएको छ। चौधरीले करिब एक हेक्टर क्षेत्रफलमा कालानमक खेती गर्दै आएका छन्। पाँच वर्षदेखि यो धान जोगाउन लागेका उनी भन्छन्, 'उत्पादनमा खर्च बढी लाग्छ, तर यसको बजारमा माग निकै छ।'
यस प्रजातिको धानको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महङ्गो परेको जनाइएको छ। यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ।
सिँचाइ पनि पर्याप्त चाहिन्छ। करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ। अन्य धान असोज-कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको कृषक चौधरीले बताए।
आयात प्रतिस्थापनको लक्ष्य
सरकारले अहिले मसिनो तथा बास्नादार धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ र प्रविधिमा अनुदान दिन थालेको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेका अनुसार कालानमक जस्ता रैथाने धानको उत्पादन बढाएर बाहिरबाट हुने मसिनो चामलको आयात प्रतिस्थापन गर्ने योजना छ।
आधुनिकताको दौडमा हामीले हाम्रा रैथाने बीउबिजन गुमाउँदै गएका छौँ। टिटिहिरियाका जगनारायण चौधरी जस्ता किसान र कृषि ज्ञान केन्द्रको यो प्रयासले ‘कालानमक’ को सुगन्ध फेरि बाँकेका फाँटहरूमा फर्किने आशा जगाएको छ। यदि प्रविधि र सन्तुलित मलखादको प्रयोगमा किसानलाई प्रोत्साहन गर्ने हो भने कालानमक केबल पहिचान मात्र होइन, समृद्धिको आधार पनि बन्न सक्छ।
बाँकेमा किसानले रामधान, राधा ४, एमपी ६०, गोरखनाथ लगायतको हाइब्रिड धान रोप्दै आएका छन्। रैथाने धानको जातलाई प्रवर्द्धन गर्न खोजे पनि किसानले रुचि नदेखाएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ घिमिरेको भनाइ छ।
यो धान उत्पादन बढाउन बाँकेमा प्रवर्द्धनात्मक कार्यक्रम नै लागू गरिएको छ। मसिना तथा बास्नादार धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई बिउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको छ। कालानमक धानको उत्पादन बढाएर मसिनो धान आयात प्रतिस्थापन गर्ने योजना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
पुराना रैथाने जातबाट उत्पादन कम हुने र रोगकिरासित लड्ने क्षमतामा पनि कम हुने भएकाले पुराना जातको सट्टा नयाँनयाँ जातको धान खेती हुने गरेको छ। बालीको निश्चित अवधिपछि रोगकिराको प्रतिरोधात्मक शक्तिमा कमी हुन्छ । यसले रासायनिक मल तथा विषादी बढी प्रयोग गर्नुपर्ने हुनाले उत्पादन लागत बढ्न जाँदा किसानले नयाँ जात खोज्ने गरेको घिमिरेको भनाइ छ।
पछिल्ला दिनमा किसानका खेतमा कालोरङका स्यामजिरा, कालानमक र मसिनो बासमती धानका बाला झुलेको देखिन छाडेका छन्। अहिले किसानले उन्नत र हाइब्रिड जातका धानखेती गर्दै आएको नेपालगञ्ज-१९ का किसान ललवा माहुतले बताए।
'नयाँ पुस्ताले रैथाने बीउको प्रयोग गर्नै चाहँदैनन्, रोगप्रतिरोधात्मक धानको बिउ अहिले लोप भयो', किसान माहुतले भने, 'व्यापार व्यवसायतर्फ नयाँपिँढी लाग्दा दोस्रो पुस्ताले हाम्रा बाउबाजेले यो धानखेती गर्थे र भनेर चकित पर्ने दिन आउन सक्छ।'
कृषि ज्ञान केन्द्रका अनुसार मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता धानका लागि अन्य जातका धानकोभन्दा धेरै पानी चाहिन्छ। उत्पादन पनि उन्नत र हाइब्रिड जातका धानको तुलनामा कम हुन्छ।
पश्चिम तराईका अधिकांश जिल्लामा पर्याप्त सिँचाइ सुविधा नभएका कारण किसानले पानी बढी चाहिने रैथाने स्थानीय जातका धानखेती गर्न छाडेर सुक्खा सहनसक्ने उन्नत जातका विभिन्न हाइब्रिड धानखेती गर्न थालेका छन्। रैथाने जातको धान प्रतिहेक्टर तीनमेट्रिक टनसम्म उत्पादन हुन्छ भने उन्नत र हाइब्रिड जातको धान प्रतिहेक्टर पाँच मेट्रिकटनसम्म उत्पादन हुन्छ।
रैथाने धान उत्पादनमा गाभरवासी अग्रसर
बाँकेको बैजनाथ गाउँपालिका-१ गाभर भ्याली पछिल्लो समयमा आएर रैथाने उत्पादनको महत्वपूर्ण पकेट क्षेत्र बन्दै गएको छ। स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षणमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएपछि यो क्षेत्रमा रैथाने उत्पादनमा विशेष ध्यान दिइएको हो।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेकोले बाँके जिल्लाको गाभर भ्यालीमा रैथाने धान उत्पादन सुरु गरिएको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताए।
यो क्षेत्रमा पाइने कालानमक, घैया, गर्भे र अनदीलगायतका रैथाने धानहरू लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्ने अभियान सुरु भएको छ। गाभर क्षेत्रमा एक बिघाभन्दा बढी क्षेत्रफलमा यस्ता धानको खेती भइरहेको छ।
गाभर भ्यालीमा आउने पर्यटकहरू रैथाने उत्पादन अवलोकन गर्न पनि आउने गरेको उनले बताए। यी धानहरू संरक्षण गरेर यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउँदै रैथाने धानहरूको व्यावसायिक उत्पादन गर्ने योजना रहेको चौधरीको भनाइ छ। रासस
