काठमाडौं- नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा धान बालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व तीनै सूचकमा कमी आउने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा धान खेती गरिएको क्षेत्रफल ३.८ प्रतिशतले घट्दा कुल उत्पादन ४.२० प्रतिशतले घट्ने देखिएको छ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। चालु आर्थिक वर्षमा यो क्षेत्रफल घटेर १३ लाख ७६ हजार ८ सय ७२ हेक्टरमा सीमित हुने प्रारम्भिक अनुमान गरिएको छ। क्षेत्रफल घटेसँगै धान उत्पादन पनि अघिल्लो वर्षको ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टनबाट घटेर चालु वर्ष ५७ लाख ५ हजार १ सय २६ मेट्रिक टनमा झर्ने अनुमान छ।
उत्पादकत्वमा पनि सामान्य गिरावट देखिएको छ। गत आर्थिक वर्षमा प्रतिहेक्टर ४.१९ मेट्रिक टन रहेको उत्पादकत्व चालु आर्थिक वर्षमा १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिक टन प्रतिहेक्टरमा सीमित हुने मन्त्रालयको अनुमान छ।
धान नेपालको खाद्य सुरक्षाका दृष्टिले अत्यन्त महत्वपूर्ण बाली मानिन्छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २५.१६ प्रतिशत रहने अनुमान छ भने कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धान बालीको योगदान करिब १२ प्रतिशत रहेको छ। यही कारण धान उत्पादनसम्बन्धी तथ्यांक योजनाविद्, अनुसन्धानकर्ता र आम जनसमुदायका लागि चासोको विषय रहँदै आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार धान बालीको तथ्यांक अनुमान गर्दा सातवटै प्रदेशका कृषि विषय हेर्ने प्रदेश मन्त्रालयबाट प्राप्त विवरणलाई आधार बनाइएको छ। क्षेत्रफल अनुमानका लागि अघिल्ला वर्षका तथ्यांक, रोपाइँको अवस्था, सिँचाइ क्षेत्रफलमा आएको परिवर्तन, किसानसँगको अन्तर्क्रिया तथा जमिनको अन्य प्रयोगमा भएको परिवर्तनलाई समेटिएको छ। उत्पादकत्वको अनुमान कृषि कार्यालय, कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत गरिएको बाली कटानीका तथ्यांकका आधारमा गरिएको हो।
यसका अतिरिक्त कृषि तथा पशुपन्छी विकास मन्त्रालय र एकीकृत पर्वतीय विकास केन्द्र (आईसिमोड) को सहकार्यमा तयार गरिएको ‘रिमोट सेन्सिङ २०२५’ बाट प्राप्त तथ्यांकलाई समेत प्रयोग गरी प्रदेश मन्त्रालयहरूको सहभागितामा त्रिकोणिकरण र भ्यालिडेसनपछि अन्तिम अनुमान तयार गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
धान बालीको क्षेत्रफल र उत्पादन घट्नुका कारणबारे मन्त्रालयले विभिन्न संरचनागत र मौसमजन्य कारण औंल्याएको छ। पहाडी क्षेत्रमा बसाइँसराइ, युवाहरूको वैदेशिक रोजगारीतर्फ बढ्दो आकर्षण तथा फलफूल र नगदेबालीको क्षेत्रफल विस्तारका कारण धान खेती घट्दै गएको छ। तराई तथा सहरी क्षेत्रमा भने आप्रवासनको चाप, जमिनको औद्योगिक प्रयोग र भौतिक पूर्वाधार निर्माणका कारण धान खेती संकुचित हुँदै गएको मन्त्रालयको विश्लेषण छ।
विशेषगरी मधेश प्रदेशमा धान रोपाइँको समयमा परेको खडेरीका कारण खेतीयोग्य क्षेत्रफल घटेको जनाइएको छ। उन्नत बीउबिजन र मलखादको पर्याप्त उपलब्धता हुँदाहुँदै पनि प्रतिकूल मौसमका कारण चालु आर्थिक वर्षमा उत्पादकत्वमा समेत कमी आएको मन्त्रालयले जनाएको छ।
