काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्था नरहेको बताएका छन्।
देशको अर्थतन्त्र उकास्ने उद्देश्यले महासंघले आज बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा अध्यक्ष ढकालले निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताए।
मुलुक निर्वाचनको दिशामा उन्मुख हुनु सुखद भए पनि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको उनको भनाइ छ।
'चुनावी वातावरण लोकतन्त्रप्रतिको वर्तमान सरकारको समर्पणको एक उदाहरण हो। हामी शान्ति र स्थायित्वका लागि विवेकी, लचिलो र प्रतिबद्ध छौँ भन्ने यो पनि एक उदाहरण हो,' उनले भने, 'तर, यति हुँदाहुँदै पनि समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको भान हामीलाई परेको छ। निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन सकेको छैन। निजी क्षेत्रले अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्था छैन।'
गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका कायम रहेको उनले बताए। उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेसा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानीको वातावरण नबन्ने अध्यक्ष ढकालले स्पष्ट गरे।
लगानी नहुँदा रोजगारी नहुने र रोजगारी नहुँदा आयस्तरमा सुधार नहुने भन्दै अध्यक्ष ढकालले निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहन गरिने नीति आवश्यक रहेकोमा जोड दिए।
'लगानी नभई रोजगारी हुँदैन, रोजगारी नभए आयस्तरमा सुधार हुँदैन। आयस्तर बढ्न सकेन भने मानव विकासमा अपेक्षाकृत सुधार हुन सक्दैन,' उनले भने, 'शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजस्व बढ्नु जरुरी छ। राजस्व बढ्न निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहन गरिने नीति आवश्यक छ।'
