काठमाडौं- इन्टरनेटमा प्रयोग हुने साना अंकहरूले एकदिन अन्तर्राष्ट्रिय राजनीति, अदालत, करोडौँ डलरको कारोबार र शक्तिशाली समूहहरूबीचको झगडा निम्त्याउला भनेर कसैले सोचेकै थिएन। अहिले इन्टरनेटका डिजिटल ठेगाना 'आईपीभी फोर एड्रेस' ठूलो सम्पत्ति बनिरहेका छन्।
४.३ अर्ब आईपीभी फोर एड्रेस नै आज सुनचाँदीभन्दा ठूलो डिजिटल सम्पत्ति भइसकेका छन्। इन्टरनेटमा डेटा कहाँ पठाउने र कहाँबाट आएको हो भनेर चिनाउन उपकरणहरूबीच 'कन्ट्याक्ट एड्रेस' जस्तै काम गर्ने 'आईपीभी फोर' कै कारण वेबसाइट, एप, नेटवर्क एकअर्कासँग जोडिएर रहन्छन्। यो इन्टरनेट सुरु भएको समयदेखि प्रयोग हुँदै आएको मुख्य प्रणाली हो।
यसैले चर्चा र विवादको शिखरमा रहेका छन् चीनका लु हेङ। चीनको एउटा गाउँ शिपुमा हुर्कँदै गर्दा सानै उमेरदेखि लु हेङले इन्टरनेटमा खेल्न सुरु गरे। कलेज पढ्दा पढ्दै त उनले 'वर्ल्ड अफ वर्कक्राफ्ट' भिडियो गेमका टाइम कार्डहरू बेच्थे। त्यसपछि नेदरल्याण्ड पुगेका उनले त्यहाँ नै इन्टरनेट सेवाप्रदायक कम्पनी खोले।
२५ वर्षको उमेरतिर पुग्दा लु हेङ यस्तो एउटा सोचमा अघि बढे जसले उनलाई निकै धनाढ्य बनायो। उनले मुख्यरूपमा अफ्रिकामा प्रयोगमा नआएका लाखौँ इन्टरनेट प्रोटोकल (आईपी) ठेगानाहरू किन्न थाले र ती आईपी ठेगानाहरूको अत्यधिक आवश्यकता भएका अफ्रिकाबाहिरका कम्पनीहरूलाई भाडामा दिन थाले।
गत दशकभरि लु हेङले करिब एक करोड आईपी ठेगाना जम्मा गरेका छन्। यसले उनलाई इन्टरनेटसँग सम्बन्धित विश्वका धेरै ठाउँमा विवादमा पनि ल्याएको छ। कतिपय विश्वव्यापी मुद्दाहरू निम्त्याएको छ। उनकै कारण अफ्रिकाका इन्टरनेट सेवाप्रदायकहरूलाई क्षमता विस्तार गर्ने प्रयासमा कठिनाइमा पारेको छ। अफ्रिकाका प्रविधि क्षेत्रका धेरै अधिकारीहरू उनीसँग खुब रिसाएका छन्।
लु हेङलाई अफ्रिकाबाट आईपी ठेगानाहरू बटुलेर धनी बनेको आरोप लाग्ने गरेको छ। द वाल स्ट्रिट जर्नलका अनुसार लु हेङले आफूले कुनै पनि गैरकानूनी काम नगरेको प्रतिक्रिया दिएका छन्। आफ्नो चरित्रबारे आएका विषयहरू आधारहीन रहेको उनको प्रतिक्रिया छ।
जब इन्टरनेट भर्खरै सुरु भएको थियो तब इन्टरनेटमा जोडिएका उपकरणहरूलाई चिनाउने तरिकाको रूपमा 'आईपी एड्रेस'हरूको आविष्कार गरिएको थियो। प्रत्येक सेलफोन, कम्प्युटर वा स्मार्ट टेलिभिजनलाई इन्टरनेटमा जोडिनका लागि एउटा छुट्टै एड्रेस चाहिन्छ। ती प्रारम्भिक आईपी एड्रेसहरू जसलाई 'आईपीभी फोर' भनिन्छ। यिनैले इन्टरनेटको दुनियाँमा संयोजन कायम गर्छन्। सन् १९८० को दशकको सुरुमा तिनीहरू 'रोलआउट' गर्दा आवश्यकताभन्दा बढी मानिएको थियो। आज यो संख्या निकै सानो छ।
सन् २०१२ मा एउटा नयाँ इन्टरनेट प्रोटोकल 'आईपीभी सिक्स' सुरु भयो। 'आईपीभी सिक्स'ले अक्षर र संख्याहरूको लामो शृङ्खला प्रयोग गर्छ, जसले असाध्यै धेरै अद्वितीय संयोजनहरू सिर्जना गर्छन्। यद्यपि करिब आधा इन्टरनेट ट्राफिकले 'आईपीभी फोर' प्रयोग गरिरहेको छ। किनकि 'आईपीभी सिक्स' मा परिवर्तन गर्न महँगो र जटिल हुन सक्छ। धेरै पुराना उपकरणहरूलाई त अझै पनि 'आईपीभी फोर' नै चाहिन्छ।
अमेजन, माइक्रोसफ्ट र गुगलजस्ता कम्पनीहरूलाई अझै पनि 'आईपीभी फोर' एड्रेसहरू आवश्यक छ। तिनीहरूका 'क्लाउड-होस्टिङ' व्यवसायहरूलाई 'आईपीभी फोर' र 'आईपीभी सिक्स' बीच पुलको रूपमा यिनीहरूको आवश्यकता पर्छ।
सामान्यत: विश्वभरि फैलिएका 'रिजनल इन्टरनेट रजिस्टर'ले सेवा प्रदायकहरू, क्लाउड कम्पनीहरू र अन्य संस्थाहरूलाई आईपी एड्रेसहरू बाँडफाँड गर्छन्, जसले आफूलाई वा आफ्ना ग्राहकहरूलाई काम सञ्चालन गर्न सहयोग गर्न सक्छन्।
विश्वका अन्य भागको तुलनामा इन्टरनेट पूर्वाधार विकास गर्न ढिलो गरेको अफ्रिकामा अझै पनि ती पुराना एड्रेसहरू वितरण गर्न बाँकी रहेका छन्। लु हेङले यहीँ अवसर देखे। अन्वेषण नगरिएको नयाँ क्षेत्र भएकाले आफूले कामका लागि अफ्रिका रोजेको उनको भनाइ छ। उनले प्रयोगमा नआएका 'आईपीभी फोर', 'आईएसपी' वा अरू कसैले पनि प्रयोग नगरेका एड्रेस खोज्छन् र आफ्नो हङकङमा आधारित कम्पनी लारसको प्रयोग गरेर अरूलाई भाडामा दिन्छन्। यसमा लामो समयदेखि विवाद र कानूनी लडाइँ चलिरहेको छ।
सन् २०१३ मा लु हेङले हिन्द महासागरमा रहेको अफ्रिकी द्वीपसमूह सेशेल्समा अफ्रिकाको इन्टरनेट रजिस्ट्री, 'अफ्रिकन नेटवर्क इन्फर्मेसन सेन्टर' (अफ्रिनिक) बाट आईपी एड्रेसहरूका लागि आवेदन दिन एउटा नयाँ कम्पनी 'क्लाउड इनोभेसन' दर्ता गरे। सन् २०१३ र २०१६ को बीचमा अफ्रिनकले उक्त कम्पनीलाई ६२ लाख 'आईपीभी फोर' ठेगानाहरू प्रदान गरेको देखिन्छ।
एउटा एकल 'आईपीभी फोर' एड्रेसको मूल्य लारस जस्तो कम्पनीमा स्थानान्तरण गर्दा करिब ५० डलर हुन सक्छ, जसले उक्त मूल्यको वार्षिक करिब ५ प्रतिशतदेखि १० प्रतिशतमा त्यसलाई भाडामा लगाउँछ। लु हेङले द वाल स्ट्रिट जर्नललाई बताएअनुसार लारस र यसका सम्बद्ध कम्पनीहरूले एक करोडभन्दा बढी 'आईपीभी फोर' एड्रेसहरूमा नियन्त्रण कायम गरेका गर्छन्।
इन्टरनेट सुरुवात हुँदा सायद कसैले पनि यसरी आईपी एड्रेसहरूबाट पैसा कमाउन खोज्लान् भन्ने सोचिएको थिएन। तर लु हेङले मौलिक ती आईपी एड्रेसहरूलाई स्वामित्वमा लिन सकेमा स्टक वा बन्ड जस्ता अन्य सम्पत्ति जस्तै गरेर तिनको ठूलो मूल्य हुन सक्ने सोचे।
जर्जिया इन्स्टिट्युट अफ टेक्नोलोजीका सार्वजनिक नीति प्राध्यापक मिल्टन मुलरलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा भनिएका छन्, 'लु हेङले यी नियमहरूमा स्पष्टताको कमीको फाइदा उठाए, अफ्रिकी कम्पनीको रूपमा दर्ता गरेर धेरै एड्रेस प्राप्त गरे र त्यसपछि तिनीहरूलाई चिनियाँ बजारमा मध्यस्थता गर्न थाले।'
लु हेङका गतिविधिहरूले अफ्रिकाको इन्टरनेट रजिस्ट्रीसँग ठूलो विवाद निम्त्यायो। सन् २०२० मा आन्तरिक समीक्षा भएको बताएपछि अफ्रिनिकले लु हेङ र अरूलाई उनीहरूले राखेका आईपी एड्रेसहरू फिर्ता गर्न पत्र पठायो। लु हेङको विषयमा अफ्रिनिकले उनले ती आईपी एड्रेसहरू अफ्रिकाबाहिर प्रयोग गर्न नहुने बताएको थियो।
लु हेङले भने ती आईपी एड्रेसहरू लिँदा आफूले कुनै पनि कानूनको उल्लंघन नगरेको जवाफ दिए। आफूहरूले ती आईपी एड्रेस प्राप्त गरी प्रयोग गर्दा भाडामा दिन निषेध गर्ने वा सोही क्षेत्रभित्र मात्र प्रयोग गर्नुपर्नेजस्ता कुनै नियम थिएनन्। अफ्रिनिकसँगको विवाद चर्कँदै जाँदा लु हेङले पनि मौरिससमा अफ्रिनिकविरुद्ध मुद्दा दायर गरे। यस्ता मुद्दा अहिले दर्जनौँ पुगिसकेका छन्।
जानकारहरूका अनुसार ती आईपी एड्रेसहरू लिन लु हेङले कानूनको उल्लंघन गरेको नदेखिए पनि तीनलाई भाडामा लगाउन भने उनले अफ्रिनिकको अनुमति लिन आवश्यक थियो। तर लु हेङले त्यस्तो अनुमति लिन आवश्यक ठानेनन्।
कतिपय व्यक्तिहरू, केही आईएसपी र विभिन्न कम्पनीका कार्यकारीहरूसमेत लु हेङले दशकौंसम्म कम लागतको सार्वजनिक वस्तुको रूपमा व्यवस्थापन गरिएको डिजिटल सम्पत्तिको भण्डारलाई नियन्त्रणमा लिन खोजिरहेको गुनासो गर्छन्। जसले अन्ततः अन्तिम प्रयोगकर्ताहरूका लागि लागत बढाउन सक्ने चिन्ता रहेको उनीहरूको भनाइ छ।
इन्टरनेटको विकासलाई समर्थन र प्रवर्द्धन गर्ने गैरनाफामुखी संस्था इन्टरनेट सोसाइटीका बोर्ड सदस्य कार्ल क्लोपेनबर्गले अभिव्यक्ति स्वतन्त्रता नै दाउमा हुनसक्ने जस्ता प्रतिक्रिया पनि दिएका छन्।
सन् २०२१ मा मौरिससको एउटा अदालतले अफ्रिनिकको बैंक खाताहरू नै रोक्का गर्न लगायो। लु हेङद्वारा दायर गरिएका मुद्दामध्ये एउटामा त्यहाँको अदालतलाई अफ्रिनिकका बैंक खाताहरू रोक्का गर्न लगायो, जसले उक्त संस्थालाई नै पंगु बनाउँदै अन्ततः रिसिभरसिपमा धकेल्यो। कुनै संस्था वा कम्पनी आर्थिक समस्यामा परेपछि अदालतले एक स्वतन्त्र रिसिभर नियुक्त गरेर त्यस संस्थाको सञ्चालन, सम्पत्ति र देनदार व्यवस्थापन नियन्त्रणमा लिने कानूनी प्रक्रिया नै रिसिभरसिप हो।
रिसिभरसिपले नयाँ 'आईपीभी फोर' एड्रेसहरूको वितरणमा रोक लगायो, जसले अफ्रिकाका सेवाप्रदायकहरूलाई क्षमता विस्तार गर्न संघर्ष गर्न बाध्य बनायो। दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको 'इन्टरएक्सल वर्ल्ड कनेक्सन' नामक आईएसपीका प्रमुख कार्यकारी जाको क्रोनले आफूले अन्तिम पटक आईपीभी फोर ठेगानाहरू २०२० को वरिपरि प्राप्त गरेको बताएका छन्। यसले 'ग्राहकको कनेक्टिभिटी'मा समस्या भइरहेको उनको भनाइ छ।
लु हेङले आफ्ना केही आलोचकहरू, इन्टरनेट सेवाप्रदायकसहित केही व्यक्ति र कम्पनीविरुद्ध दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेलायत र अन्य देशहरूमा मानहानीका मुद्दा दायर गरेका छन्। कानूनी कारबाहीमार्फत आलोचना बन्द गर्न नभइ प्रतिष्ठामा गम्भीर क्षति पुर्याउन सक्ने झुठा दाबीविरुद्ध प्रतिरक्षाका लागि आफूले मुद्दा हालेको लि हेङले बताउने गरेका छन्।
गएको जुलाईमा लु हेङको कम्पनी क्लाउड इनोभेसनले अफ्रिनिक विघटन गर्नका लागि मौरिससको सर्वोच्च अदालतमा निवेदन दायर गरेको थियो। केही दिनपछि नै मौरिससका प्रधानमन्त्रीले अनुसन्धान बाँकी रहेकाले अफ्रिनिक समावेश भएका सबै अदालतका कामकारबाही स्थगित गरिदिए। गएको सेप्टेम्बरमा अफ्रिनिकले नयाँ बोर्ड निर्वाचित गर्यो। त्यसबेलादेखि केही इन्टरनेट सेवा प्रदायकहरूलाई आईपीभी फोर ठेगानाहरू प्रदान गरिएको छ।
जोहानेसबर्गमा रहेको वर्कअनलाइन कम्युनिकेसन्सका सहसंस्थापक एडवर्ड लरेन्सले विश्व 'आईपीभी सिक्स'मा परिवर्तन नभएसम्म लु हेङले भाडामा लगाएका ठेगानाहरू अफ्रिनिकलाई फिर्ता गरिनुपर्ने तर्क गरेका छन्। ता कि अन्य नेटवर्कहरूले तिनलाई विकासका लागि प्रयोग गर्न सकून्। यसले अफ्रिकाभरि इन्टरनेटको विकासमा मद्दत गर्ने उनको भनाइ छ। धेरै मानिसहरूलाई शिक्षा र स्वास्थ्य सेवामा पहुँच दिने उनको तर्क छ।
लु हेङ भने त्यो तरिकाले हेर्दैनन्। उनले आईपी ठेगानाहरू आफूहरूले गरेका सम्झौता अनुरूप प्रयोग गरेको बताएका छन्। सधैँ कनेक्टिभिटी विस्तारको सेवामा आफू लागिरहेको उनको भनाइ छ। आफ्नो लक्ष्य सधैँ इन्टरनेटको पहुँचलाई अधिकतम बनाउनु रहेको उनले बताएका छन्।
अफ्रिकी नेटवर्क अपरेटरहरूले भने 'आईपीभी फोर' एड्रेस निजी सम्पत्ति नभइ सार्वजनिक स्रोत भएको बताउने गरेका छन्। लु हेङले गरेको जस्तो व्यापारका कारण इन्टरनेट पहुँच महँगो हुँदै गएको र डिजिटल विभावन अझ बढाउने खतरा रहेको उनीहरूको भनाइ छ।
(यो समाचार सामग्री द वाल स्ट्रिट जर्नललगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित जानकारीहरूका आधारमा तयार पारिएको हो।)
