सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वाणिज्य र विकास बैंक दुवैमा खराब कर्जाको भार, पुँजीकोषमा प्रत्यक्ष दबाब

शुक्रबार, कात्तिक २८ २०८२
वाणिज्य र विकास बैंक दुवैमा खराब कर्जाको भार, पुँजीकोषमा प्रत्यक्ष दबाब

देशको बैंकिङ प्रणालीमा खराब कर्जाको भार बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म आउँदा वाणिज्य र विकास बैंक दुवैको कर्जा गुणस्तर कमजोर बन्दै गएको देखिएको छ।

काठमाडौं- देशको बैंकिङ प्रणालीमा खराब कर्जाको भार बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म आउँदा वाणिज्य र विकास बैंक दुवैको कर्जा गुणस्तर कमजोर बन्दै गएको देखिएको छ।

ऋण असुलीमा कठिनाइ, लगानी विस्तार सुस्त र अर्थतन्त्रको समग्र मन्दीले गर्दा बैंकहरूको नाफा घट्नुका साथै पुँजीकोषमाथि पनि प्रत्यक्ष दबाब परेको छ।

तरलता केही सहज देखिए पनि कर्जा असुलीमा कमजोरी र निष्क्रिय कर्जा बढेसँगै वित्तीय संस्थाहरूमा लगानी क्षमतामा प्रत्यक्ष दबाब परेको छ। कर्जा नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम छुट्याउनुपर्ने अवस्थाले पुँजीकोषमाथि पनि दबाब बढेको हो।    

नाफा घट्नु, निष्क्रिय कर्जा बढ्नुका साथै लगानी जोखिम बढ्दै गएको छ। यी तीनै सूचकले बैंकिङ प्रणालीमा संरचनागत कमजोरी बढ्दै गएको संकेत देखाएको छ।

आगामी त्रैमासमा पनि आर्थिक गतिविधि सशक्त रूपमा नबढे बैंकहरूको कर्जा गुणस्तर सुधार्ने सम्भावना न्यून रहनेछ। यता ब्याजदर लगातार घट्दै जाँदा नाफा पनि घट्ने, कर्जा असुली नहुने र ऋण लगानी पनि नहुने अवस्था सिर्जना हुँदै गएको छ। यसले आगामी वर्ष बैंकहरुमा गम्भीर संकट नित्याउने खतरा बढ्दै गएको छ।

विकास बैंकमा खराब कर्जा १० प्रतिशतनजिक

विकास बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार १६ बैंकको औसत खराब कर्जा अनुपात असोज मसान्तसम्म ९.८६ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा यो ७.८९ प्रतिशत मात्र थियो। एक वर्षमा खराब कर्जा १.९८ प्रतिशत बिन्दुले बढेको हो।

१७ मध्ये कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएपछि बाँकी १६ बैंकको विवरण सार्वजनिक भएको हो। तीमध्ये ११ बैंकको खराब कर्जा बढेको छ भने पाँच बैंकले केही सुधार गर्न सकेका छन्।

२०८२ असोजमा सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ५७.०४ प्रतिशत पुगेको छ। यस्तै सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंकको मात्र ०.५५ प्रतिशत खराब कर्जा देखिएको छ।

बैंकहरूले धितो लिलामी गरेर असुली प्रयास गरे पनि बिक्री नहुँदा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको छ। आर्थिक शिथिलता र जेनजी आन्दोलनपछि ऋण असुली झन कठिन बनेको छ। जसका कारण बैंकहरू पनि दबाबमा छन्।

विकास बैंकहरूको निष्क्रिय (खराब) कर्जा अनुपात

क्र.सं. विकास बैंक २०८१ असोज २०८२ असोज
मितेरी  ०.५५ १.८०
मुक्तिनाथ  ३.१६ ३.९६
कामना सेवा  ३.५० ४.६१
शाइन रेसुङ्गा  ३.८२ ४.९३
गरिमा  ४.७३ ४.९३
ग्रीन  ४.७३ ४.९३
महालक्ष्मी  ५.५० ४.९०
सांग्रिला ७.६१ ९.४३
सालपा  ६.३६ ६.८६
१० लुम्बिनी  ३.६९ ७.९७
११ ज्योति  ४.९८ ११.२९
१२ सिन्धु  ९.६८ ११.७३
१३ एक्सेस  ९.६८ ११.७७
१४ सप्तकोशी  ११.५० १४.७७
१५ कर्पोरेट  ४.९५ ९.६८
१६ नारायणी ३४.८१ ५७.०४

वाणिज्य बैंकहरूको नाफा घटेर  निष्क्रिय कर्जा बढ्यो

२० वाणिज्य बैंकहरूले पहिलो त्रैमासमा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन गत वर्षको सोही अवधिको १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ भन्दा १८.४७ प्रतिशतले घटेको हो।

वित्तीय प्रणालीमा तरलता केही सहज बने पनि कर्जाको गुणस्तर भने कमजोर बन्दै गएको छ। बैंकहरूले लिएको ऋण फिर्ता हुन नसक्ने जोखिम बढ्दै गएपछि धितो लिलामी गरेरसमेत असुल गर्न कठिन भएको र त्यसका लागि कर्जा नोक्सानी व्यवस्था रकम छुट्याउनुपर्ने अवस्थाले बैंकहरूको लगानी क्षमतामा प्रत्यक्ष असर परेको देखिन्छ।

नेपालका २० वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा दर गत वर्षको चौथो त्रैमासको ४.०४ प्रतिशतबाट बढेर चालु वर्षको पहिलो त्रैमासमा ४.८९ प्रतिशत पुगेको छ। यो वृद्धि बैंकहरूको कर्जा गुणस्तरमा आएको गिरावटको संकेत हो।

वाणिज्य बैंकहरूको खराब कर्जा कुनको कति?

क्र.स.

बैंकको नाम

२०८१ असोज

२०८२ असोज

हिमालयन बैंक

४.९८

७.९३

एनआईसी एशिया बैंक

४.२४

६.९९

कुमारी बैंक

४.९६

६.९८

सिटिजन्स बैंक

५.४१

६.८४

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

५.८२

६.६३

प्राइम बैंक

४.८६

५.८६

प्रभु बैंक

४.९४

५.७८

नेपाल बैंक

३.९५

५.४९

लक्ष्मी सन् बैंक

५.४४

५.४२

१०

ग्लोबल आइएमई बैंक

४.६७

४.९८

११

कृषि विकास बैंक

४.७८

४.७८

१२

एनएमबि बैंक

३.६३

४.५८

१३

नविल बैंक

४.२४

४.३१

१४

माछापुच्छ्रे बैंक

३.१५

४.१३

१५

सानिमा बैंक

२.९४

३.९१

१६

राष्ट्रिय वाणिज्य बैंक

४.२३

३.८३

१७

सिद्धार्थ बैंक

३.९१

३.८०

१८

नेपाल एसबिआई बैंक

१.८४

३.०१

१९

स्ट्यान्डर्ड चार्टर्ड बैंक

१.९५

१.७१

२०

एभरेष्ट बैंक

०.७७

०.७४


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend