काठमाडौं- विदेशी लगानीका लागि गरिएको प्रतिबद्धताको आधा पनि नेपालमा आउने गरेको छैन। विदेशी लगानी स्वीकृतिको औपचारिक तथ्यांक राख्न थालेदेखि आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार नेपालमा प्रतिबद्धताको जम्मा ३१.९ प्रतिशतमात्र खुद विदेशी लगानी भित्रिएको छ।
मुलुकमा हालसम्म १ खर्ब ६८ अर्ब खुद विदेशी लगानी (पुँजी लगानी) आएको छ। ऋण तथा सञ्चितिको गणना गरेर कुल विदेशी लगानी भने ३ खर्ब ३२ अर्ब रहेको छ। खुद विदेशी लगानी भने १ खर्ब ६८ अर्बमै सीमित रहेको छ। यो भनेको प्रतिबद्धताको ३१.९ प्रतिशत हो।
नेपालमा उद्योग दर्ता तथा स्वीकृतिका लागि उद्योग विभागमा प्रतिबद्धतासहित दर्ता गर्नुपर्छ। यसरी विभागमा दर्ता भएर गरिएको प्रतिबद्धताअनुसार २०८०/८१ सम्म कुल ५ खर्ब १२ अर्ब रुपैयाँ विदेशी लगानीकको प्रतिबद्धता गरिएको छ। तर यो बीचमा जम्मा १ खर्ब ६८ अर्ब रुपैयाँमात्र विदेशी लगानी आएको नेपाल राष्ट्र बैंकको पछिल्लो विदेशी लगानी सर्वेक्षणले देखाएको छ।
थोरै प्रतिबद्धता, त्यही पनि दुई तिहाइ आउँदैन
यो आँकडाअनुसार ५ खर्ब १२ अर्ब ४ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता मुलुकले प्राप्त गरेको छ। तीस वर्षमा मुलुकमा विदेशीले जम्मा ५ खर्ब रुपैयाँ लगानी गर्छु भनेर प्रतिबद्धतता गर्नु आफैमा ठूलो होइन। बर्सेनि हेर्दा पनि हालसम्म एउटा वर्षमा सबैभन्दा धेरै कमिटमेन्ट भएको ६९ अर्ब रुपैयाँ हो। जुन २०८०/८१ मा भएको थियो।
ऊर्जा क्षेत्रमा निजी लगानी आउन थालेपछि यही कारणले प्रतिबद्वतामा उछाल देखिएको हो। यसरी प्रतिबद्धतामै खासै उत्साह नदेखिएपको मुलुकमा वास्तविक लगानी भने झन् थोरै अर्थात् करिब ३२ प्रतिशत छ। ५८ प्रतिशत लगानी नै आउँदैन। हालसम्म जम्मा १ खर्ब ६३ अर्ब कूल विदेशी लगानी आएको छ।
नेपालको इतिहासमा २० अर्ब रुपैयाँभन्दा धेरै विदेशी लगानी कुनै पनि वर्षमा भित्रिएको छैन। राष्ट्र बैंकको यो तथ्यांक अनुसार सबैभ्नदा धेरै २०७७/७८ सालमा १९ अर्ब ५१ करोड लगानी भित्रिएको थियो। जुन सोही वर्षको प्रतिबद्धतताको ५१ प्रतिशतमात्र हो। सो वर्ष लगातार दोस्रो वर्ष १९ अर्बमाथिको विदेशी लगानी आएको थियो। अहिलेसम्म नेपालमा २० अर्ब विदेशी लगानी एकै वर्ष भित्रिएको रेकर्ड छैन।
यो आँकडाले नेपालमा विदेशी लगानीकर्ताका लागि उल्लेख्य आकर्षण नरेहेको देखाउँछ। नेतादेखि व्यापारी, कर्मचारीदेशि विज्ञहरूले नेपालमा सम्भावना उच्च छ भनेर दैनिक भाषण गरेपनि तथ्यमा भने विदेशी लगानीकर्ताले नेपालमा खासै चासो नदिएको तथ्यले देखाएको छ।
भएकै लगानीको सुरक्षणमा प्रश्न, क्षमता उपयोग र मार्जनमा उत्साह छैन
नेपाल जस्ता विकासोन्मुख मुलुकमा लगानीको प्रतिफल उच्च हुनुपर्छ तबमात्र विदेशी लगानीकर्ता आकर्षित हुन्छन्। कूल विदेशी लगानीकर्ताको सम्पत्तिमा पुँजी लगानी बराबर सञ्चिति हुने मुलुकमा प्रतिफल फिर्ता लिने प्रक्रियामै समस्या रहेको छ। पछिल्लो सर्वेक्षण अनुसार नेपालमा उत्पादनमूलक फर्मको नाफा प्रतिफल १० प्रतिशत रहेको छ भने क्षमता उपयोग ४७ प्रतिशत छ।
लगानीको वातावरण नहुँदा आएकै लगानीकर्ता पनि पन्छिने गरेका छन्। लगानीका लागि लाभदायक क्षेत्रको पहिचान, सरकारी अग्रसरताको कमी, नीतिगत अस्थिरताका कारणले विदेशी लगानीको सम्भावना न्यून हुँदै गएको विभिन्न अन्तर्राष्ट्रिय संस्थाले विश्लेषण गर्दे आएका छन्।
लगानीका लागि आवश्यक आधारभूत पूर्वाधारको कमी, बजारको सुनिश्चितता र आन्तरिक बजारको सशक्तीकरणको कमीलाई पनि लगानीको बाधकको रुपमा हेर्ने गरिन्छ।
धेरै रोजगारी सिर्जना गर्ने तथा व्यापार सन्तुलनमा सहयोगी हुने क्षेत्रमा विदेशी लगानीकर्ताको चासो न्यून देखिएको छ। नेपालमा दर्ता भएका उद्योग र पाएको लगानी स्वीकृतिको तथ्यांकअनुसार ऊर्जाबाहेकका अन्य ठूला परियोजनामा विदेशी लगानीकर्ताको चासो देखिएको छैन।
उत्पादन लागत उच्च रहेको, नेपालबाट विदेश निर्यात गर्दा प्रतिस्पर्धी नहुनेलगायतका कारणले गर्दा उत्पादनमूलक उद्योगमा विदेशी लगानीकर्ताको चासो न्यून हुँदै गएको हो। स्वदेशी खनिजमा आधारित सिमेन्टलगायतका केही मेगा परियोजना विगतमा लगानी आएपनि पछिल्लो समय अन्य क्षेत्रमा भने खासै आएको छैन। पछिल्लो दशकमा उल्लेख्य ठूलो विदेशी लगानी नेपालमा भित्रिएको छैन।
यही वर्षमात्र चौधरी समूहले दुई भारतीय उद्योगलाई नेपालमा ल्याएका छन्। यो बाहेक खासै लगानीका लागि उत्साह जाग्ने खबर आएका छैनन्।
६० देशबाट लगानी, सबैभन्दा धेरै भारतबाट
नेपालमा हालसम्म ६० देशबाट लगानी आएको छ। यसमा सबैभन्दा धेरै भरतबाट खुद विदेशी लगानी ५५ अर्ब ६२ करोड भित्रिएको छ। त्यस्तै चीनबाट २९ अर्ब ७६ करोड छ। तेस्रोमा भने सिंगापुर रहेको छ। आयरल्याण्ड, दक्षिण कोरिया, अष्ट्रेलिया, वेष्टइन्डिज, अमेरिका, टापु देश इस्ल अफ म्यान, हङकङको पोर्टफोलियो १० औं स्थानमा छ।
हाइड्रोले उछिन्यो उत्पादनमूलक क्षेत्रलाई
नेपालको विदेशी लगानीको सम्भावनाको कुरा गर्दा सबैभन्दा आकर्षक क्षेत्रको पहिचान बनाएको उत्पादनमूलक क्षेत्र पछाडि परेको छ। लामो समयसम्म मार्जन र सम्भावनाका दृष्टिले नेपालमा उत्पादनमूक क्षेत्रमा विदेशी लगानी उच्च रहँदै आएको थियो।
धेरै लगानी चाहिने र आवश्यकता पनि भएकाले ऊर्जामा यस्तो लगानीको घनत्व बढ्दै गएको छ। कूल विदेशी पुँजीमा नेपालमा ऊर्जा क्षेत्रको २९.५ प्रतिशत छ। त्यस्तै उत्पादनमूलक क्षेत्रको २९.३ प्रतिशतमा सीमित रहेको छ। वित्तीय सेवामा २४.४ र होटलमा ८ प्रतिशत रहेको छ। न्यून लगानी तथा उच्च प्रतिफल हुने सूचना प्रविधिको भने हिस्सा ६.५ प्रतिशतमा सीमित छ।
उद्योग दर्ता गरेर किन गायब हुन्छन् विदेशी?
उद्योग दर्ता गर्ने तर सञ्चालन नगरी बेपत्ता हुने विदेशी लगानीकर्ताको ठूलो संख्या रहेको छ। उद्योग विभागका अनुसार नेपालमा उद्योग दर्ता गरेर बेपत्ता हुने लगानीकर्ताको संख्या उच्च देखिएको छ। हालसम्म करिब ६ हजार यस्ता लगानीकर्ता बेपत्ता भएको पाइएको छ।
कुनै पनि विदेशी लगानीकर्ताले नेपालमा उद्योग विभागमा दर्ता गर्दा २० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ। यस्तो धरौटी उद्योग सञ्चालन भएपछि फिर्ता हुन्छ। तर सम्पर्कमै नरहेका उद्योगीहरूकै रकम ११ करोड रुपैयाँभन्दा धेरै थुप्रिएको छ।
साँच्चिकै सम्भावना देखेर लगानी गर्नेहरू केही समस्या भोगेर नेपालमा दर्ता गरेर पनि सम्पर्कविहीन हुने अंश यसमा धेरै नरहेको विभागका अधिकारीहरूको भनाइ छ। नेपालमा अरु नै काम गर्नेगरी आउने तर भिसा थप गर्नका लागि सजिलै उद्योग दर्ता हुने भएपछि दर्ता गर्ने प्रवृत्ति मौलाएको छ। यस्तोमा धेरै चीनबाट रहेको छ।
विभागका अधिकारीहरूका अनुसार यो प्रवृत्ति पछिल्लो समय मौलाएको छ। विशेषगरी चिनियाँहरूले नेपालमा कार्गो, रेष्टुरेण्ट वा अन्य साना प्रकृतिका उद्योग दर्ता गर्ने तर सञ्चालन भने कहिल्यै नगर्ने प्रवृत्ति देखिँदै आएको छ।
