काठमाडौं- तेलबाट कमाएको पैसा खन्याएर सन् २००० को सुरूतिर संयुक्त अरब इमिरेट्स (यूएई) ले भवनमा क्रान्ति गर्यो। उक्त रियलस्टेट बुमपछिको यूएई तेलबाट सिंगारिएको सुन्दर पर्यटन केन्द्रका रूपमा धेरैले हेरेका थिए। भवनसँगै चमकदार पूर्वाधारका कारण पर्यटकमैत्री सहरका रूपमा दुवईलाई लिन थालिएको थियो।
यूएईको रणनीति फरक थियो जसका कारण दुई दशक पहिले कल्पना पनि गर्न नसक्ने आर्थिक क्रान्ति यूएईले आज गरेको छ। चीनको प्रगतिको कथाकै बीच यूएईले जुन रफ्तारमा चमत्कार गरेको छ त्यो साँच्चिकै लोभलाग्दो छ।
सरिया (मुस्लिम) कानून भएको रुढीवादी समाज, राजनीतिक रूपमा पनि त्यति उदार नभएको यूएई आज विश्वका 'सुपर रिचको' गन्तव्य बनेको छ। सन् २०२४ मा ७ हजारको हाराहारीमा धनाढ्यहरू यूएई पुगेका थिए भने २०२५ भा ९ हजार पुग्ने अनुमान गरिएको छ। ८० हजारभन्दा बढी करोडपति र २० अर्बपति अहिले यूएईमा छन्।
अवस्था यस्तो छ कि यूएई धनको चुम्बक हो। आखिर यति धेरै धनाढ्य किन यूएई गइरहेका छन्? यूके, अमेरिकामै जमिरहेका धनाढ्य यूएई गइरहेका छन्। उनीहरू गगनचुम्वी भवन देखेर, चिल्ला सडक देखेर त पक्कै पनि गएका छैनन्।
जब कि सुविधाका हिसाबले उनीहरू बसिरहेको देश पहिले नै यूएईभन्दा कम छैन। न त शासकीय साँठगाँठले जम्मा गरेको धन जोगाउनका लागि उनीहरू यूएई गएका छन्। वितीय सेवा, अरू देशमा पनि छ भने कर सहुलियत ट्याक्स हेभनमा पनि छ तर पनि धनाढ्यहरूको ताँती यूएईमा लागेको छ।
कुनै एउटामात्र सुविधाले यूएई धनाढ्यको नयाँ मुकाम बनेको होइन। न त हिजोको आजै बनेको हो। यसको कथा सन् १९८० बाट सुरु भएको हो। तेल बेचेर कमाएको पैसा जति पनि थियो त्यही पैसाबाट संसारकै ठूलो विमानस्थल यूएईले बनायो।
त्यही एयरपोर्टबाट सस्तो इन्धन र भौगालिक अवस्थितिको लाभ उठाउँदै उड्डयन हब बनायो। जसबाट विस्तारै समुन्द्रको हबसँगै व्यापारिक हब बन्यो।
सन् २००४ मा दुबई इन्टरनेशनल फाइनान्सियल सेन्टर बन्यो जससँगै अंग्रेजी कानून, करमुक्त क्षेत्रको घोषण भयो। यसले व्यापारसँगै वित्तीय केन्द्र पनि बन्यो।
जीडीपीमा ९० प्रतिशत हिस्सा तेलको आम्दानी भएको मुलुकको आज ७५ प्रतिशत ननआयल आम्दानी भएको छ। यो सबै सन् १९८० देखि २०२० सम्मको व्यवस्थाबाट सम्भव भयो।
सरिया कानून भए पनि विदेशीको हकमा नलाग्ने व्यवस्थाले रियलस्टेटमा जुन बुम भयो त्यसले सुरक्षित जीवनशैलीको लोभमा धेरै धनाढ्य यूएईलाई नयाँ गन्तव्य बनाउन थालिसकेका थिए। सन् २०१९ पछि त यूएईले जुन नीति लियो त्यसले धनाढ्यहरूको ओइरो लाग्न थालेको छ।
सन् २०१९ मा यूएईले गोल्डेन भिसाको व्यवस्था ल्यायो। यही कारण धेरै गरिब मुलुकका धनीमात्र होइन अस्थिर राजनीति भएका मुलुकका धनाढ्यहरू यूएई गए। निश्चित रकम लगानीपछि निश्चित अवधिको आवास सुविधा पाइने भएपछि पनि लगानी बढ्यो। कोभिडकालमा युरोपमा करको संरचनामा जे कडाइ गरियो त्यसले पनि यूएईको मूल्य बढायो।
पुँजीका ऐतिहासिक केन्द्रलाई छाडेर यूएईलाई रोज्नुका पछाडि कर पनि कारण छ। यूएईमा व्यक्तिगत आयकर छैन, कर्पोरेट पनि ५ प्रतिशत छ। स्वीट्जरल्याण्ड, सिंगापुर, बेलायतमा उच्च कर छ। त्यसैले युरोप छाडेर धनाढ्यहरू यूएई आउन थाले।
संसारका धनाढ्यहरू जहिले पनि तीव्र विकास र आम्दानीको संरक्षणको खोजीमा हुन्छन्। धेरै लगानीले यूएईलाई ग्रोथ दियो न्यून करले उच्च आम्दानी भयो।
सन् २०२० पछि यूएईले जे गरेको छ त्यसले यूएईलाई भविष्यको केन्द्र बनाएको छ। सिंगापुरमा बसेर क्रिप्टोमा लगानी गरेर कसैले पनि भविष्य देख्दैन तर यूएईले क्रिप्टो तथा डिजिटल एसेटमा नेतृत्व गरेको छ। संसारको पहिलो नियामक यूएईले बनाएको छ। यही कारणले क्रिप्टो लगानीकर्ता तथा धनाढ्यहरूले यूएईलाई मुकाम बनाएका छन्।
अमेरिकाले जुन कानून अहिले बनाउँदै छ त्यस्तो नियामकीय संरचना यूएईले पहिले बनाइसकेको छ। यही कारणले बेनान्सका संस्थापकदेखि इथेरियमका संस्थापकसम्म यूएई पुगेका छन्। क्रिप्टोलाई परम्परागत वित्तीय व्यवस्थासँग जोड्ने कानूनी र नियमन गरेको यूएईमा संसारका धेरै देशबाट व्यवसायी पुगेका छन्।
सन् २०२४ मा मात्र ४ अर्ब फिनटेकमा लगानी भित्रियो। क्रिप्टोमै रियलस्टेटदेखि हवाई टिकट्सम्म खरिद गर्न मिल्ने व्यवस्था भएको दुबई आर्थिक दुनियाँको नयाँ चुम्बक बनिरहेको छ।
दुबई धेरै नेपालीहरूको श्रमको गन्तव्य थियो र छ। तर पछिल्लो समय धेरै व्यवसायीको पनि गन्तव्य बनेको छ। नेपालको आधुनिक आर्थिक इतिहासमा आफ्नै बलबुतामा बेदाग प्रगति गर्न सफल भएका विश्वास ढकाल त औपचारिक रूपमै दुबई गइसकेका छन्।उनीबाहेक प्राय सबै धनाढ्यको एउटा कार्यालय दुबईमा छ। पहिलो विश्वसँगको प्रत्यक्ष सम्पर्कसँगै पुँजी परिचालन र थप आम्दानीका लागि यूएईमा नेपाली व्यवसायी सक्रिय छन्।
नेपालका प्राय स्थापित व्यवसायीले अघोषित रुपमा यूएईमा लगानी बढाएका छन्। सुरुमा गैरआवासीय नेपालीका रुपमामात्र लगानी गरेका नेपालीहरू नै अघोषित रुपमा त्यहाँ जम्न थालेका छन्। क्रिप्टोदेखि रियलस्टेटसम्म नेपालीले पनि लगानी गरेका छन्।
