सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

के सबै सत्ता पल्टाउने विद्रोह 'टुलकिट' हुन्छन्?

बिहीबार , कात्तिक ६ २०८२
के सबै सत्ता पल्टाउने विद्रोह 'टुलकिट' हुन्छन्?

मतदानमा हस्तक्षेपकारी हैसियतमा पुग्दै गरेको यो पुस्ताले शासनमा पनि आफूजस्तै उल्लेख्य उपस्थिति खोज्छ। त्यसैले संसारभर सरकारविरोधी प्रदर्शनमा नयाँ पुस्ताको सहभागिता धेरै छ।

काठमाडौं- सामान्य अवस्थाको सरकार अदलबदलको प्रक्रियालाई पनि विदेशी डिजाइन, हस्तक्षेपको आरोप लाग्ने नेपालमा हरेक राजनीति घटनाक्रमलाई षड्‌यन्त्रको सिद्धान्तको लेपन लगाइन्छ। अझ हालैको जेनजी बिद्रोहलाई निश्चित शक्तिकेन्द्र‌को टुलकिट भनेर स्थापित राजनीतिक दल, कार्यकर्ता, तिनै दलको दर्शनबाट दीक्षित अन्य पेशाकर्मीले फैलाउने काम गरेका छन्।

भदौ २३ गतेको नरसंहार गराउने कांग्रेस एमालेको सरकारमै बसेकाहरूले अहिलेसम्म माफी मागेका छैनन् तर उल्टो बिद्रोहलाई विभिन्न कन्स्पिरेसी सिर्जना गरेर पन्छिन खोजेका छन्।

नेपालमा मात्र होइन प्राय देशमा सत्ता उलटफेर गराउने विद्रोहलाई यस्तै टुलकिटको नाम दिएर कन्स्पिरेन्सी खेती अरु देशमा पनि हुन्छ।

श्रीलंकामा विद्रोह हुँदा बनि बिरोधी तत्त्वको हात भनियो, बंगलादेशमा अमेरिकी सहयोग र नेपालको जस्तै एउटा गैरसकारी संस्थाको हात छ भनेर भनियो। तर के सरकार विरोधी प्रदर्शन, बिद्रोह टुलकिट हुन्? कि यो विश्वव्यापी घटनाका उपक्रम हुन्?

इन्टरनेट, सामाजिक सञ्जाल नहुने समयमा सरकारको कमजोरी, अर्थतन्त्रको विरोधाभास नेताहरूको भ्रष्ट प्रवृत्ति त्यतिबेलामात्र बाहिरिन्थ्यो जतिबेला छोप्न मिल्ने केही हुन्थेन। अक्सर सरकारहरू चमकदार आर्थिक आँकडा पेस गर्छन्। जनताको कष्ट र सास्ती जस्तोसुकै भएपनि सरकारले समृद्धि र उन्नतिको आँकडा दिइरहन्छन्।

नेपालमा त वर्षौँदेखि नागरिकले सडकमा सकस झेलिरहेका छन्। २०४६ पछि हामीले यति र उति सडक बनायौँ भनेर सरकार तथ्यांक दिन्छ। तर नागरिक सास्ती अथाह छ। सार्वजनिक सेवामा उसैगरी वर्षौँदेखि नै सकस झेलिरहेका छन्। समयक्रमसँगै फेरिने प्रगतिबाहेक राज्य सत्ताले देखिनलायक काम गरेको छैन। 

सन् १९९८ को एसियन मौद्रिक संकटभन्दा दुई महिना पहिलेमात्र थाइल्याण्ड, इन्डोनेसियालगायतका देशलाई टाइगर अर्थतन्त्र भनिएको थियो। ती देशका सरकारले पनि चमकदार आँकडा दिइरहेका थिए। तर जब ती देशभा संकट आयो तब जीवनस्तर तल झर्‍यो र जनताले त्यतिबेला मात्र थाहा पाए।

समय बदलियो तर सरकारी प्रवृत्ति बदलिएन। जनजीवन एकातिर सत्ता लम्ब्याउनका लागि विकासका रूमानी कथा हाल्न सरकारहरूले छाडेनन्। यस्ता कथा सरकारमात्र होइन मिडियादेखि प्रभावशालीसम्मले सरकारी तथ्यांकलाई चुनौती दिने काम गरेनन्। अझ सरकारी तथ्यांकको मात्र भर पर्ने विश्व बैंक, एडीबीजस्ता संस्थाले पनि सरकारी भाषा नै बोल्ने भए।

आर्थिक असमानता, भ्रष्टाचार, कमसल सार्वजनिक सेवाको अनुभूति जनताले गर्ने, सरकार भने ऐतिहासिक रूपमै बनिबनाउ आर्थिक आँकडा तयार पार्ने। यो सब पहिले खुब चलेको थियो तर इन्टरनेट र सामाजिक सञ्जालको मूलप्रवाहीकरणपछि सरकारको चमकदार झुटको पर्दा च्यातिन थाल्यो। यसरी सरकारको प्रत्येक झुटको पर्दाफास सामाजिक सञ्जालले गर्न थालेपछि सरकारविरोधी स्वर चर्किन थाल्यो विश्वभर।

दक्षिण एसियाको टाइगर भनेर बंगलादेशी अर्थतन्त्रको बखान बढ्न थालेको थियो तर असमानता, प्रतिशोध र भ्रष्टाचारले जनतामा वितृष्णा बढाउँदै गयो र सरकार नै फालियो। त्यसभन्दा पहिले श्रीलंकामा पर्यटनको चमकदार कथा बुनियो र त्यही आधारमा सरकारले ऋण धेरै लियो। अन्ततः अर्थतन्त्र धराशायी भयो र सरकार नै फाल्नेगरी बिद्रोह भयो।

नेपालमा सरकारले पछिल्लो समय सार्वजनिक विकासका नाममा भवन निर्माणमा क्रान्ति नै गर्‍यो। यस्ता भवन निर्माणको गतिविधिले आर्थिक वृद्धिको प्राविधिक आँकडामा ठीकठाक नै देखायो। यसबाट सरकारले आर्थिक समृद्धिको आँकडा देखायो तर जनताले भवनबाट न सेवा पाए न सुशासन।

यस्ता अनुभव एकजनाले गर्दा असन्तुष्टिमै सीमित हुन्छ तर सञ्जालका कारण यो व्यापक भयो र साइबर विद्रोहको रूप लिने नै भयो। यस्ता अनगिन्ति असन्तुष्टिका कारण नै नेपालमा भदौ २३ गतेको स्वतस्फुर्त विद्रोह भयो।

संसारमा यस्ता सयौँ बिद्रोह छन् जुन सानो घटनाले व्यवस्था नै पल्टाएका छन्। सन् २०१९ मा चिलीमा मेट्रोको भाडामा ४ सेन्ट वृद्धि हुँदा सुरु भएको विरोधले विद्रोहको रूप लियो र अन्ततः संवैधानिक सुधारसमेत गर्नुपरेको थियो। ल्याटिन अमेरिकाकै स्थिर लोकतन्त्र, राम्रो आर्थिक वृद्धिको कथा बुनिएको चिलीको विद्रोहलाई पनि टुलकिटकै नाम दिइएको थियो।

मूल्यवृद्धिका कारणले सम्पत्ति र सुविधामा न्यून पहुँच पाएको र भविष्यमा पनि न्यून सम्भावना देखेको नयाँ पुस्ता आफैमा आक्रोशित छ। साइबर डिजिटल नेटिभ यो पुस्ता सडकभन्दा पहिला सञ्जालमै व्यस्त हुन्छ। यही पुस्ताले आफूले अवसर नपाउनुका पछि भ्रष्ट सरकार, नेता र कर्मकाण्डी सरकारलाई दोष दिन्छ। मतदानमा हस्तक्षेपकारी हैसियतमा पुग्दै गरेको यो पुस्ताले शासनमा पनि आफूजस्तै उल्लेख्य उपस्थिति खोज्छ। त्यसैले संसारभर सरकारविरोधी प्रदर्शनमा नयाँ पुस्ताको सहभागिता धेरै छ।

कुनै पनि शक्तिले आफूअनुकूलको सत्ताको खोजी गर्ने काम अन्यथा होइन। तर प्रत्येक विद्रोहलाई विदेशी हस्तक्षेप देख्ने पराजित शक्तिको प्रवृति हो। यस्तो नेपालमा मात्र नभएर संसारभर हुन्छ। पुरानो संस्थापनले जहिले पनि नयाँ वेभमा षड्‌यन्त्र नै देख्छ। तर फेरि पनि देशभित्रकै जनताले त्यस्ता कन्स्पिरेसीलाई निस्तेज पारिदिन्छन्।


प्रकाशित : बिहीबार , कात्तिक ६ २०८२१४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend