सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मुद्दती निक्षेपको अंश ५० प्रतिशतभन्दा तल, ब्याजदर घटेपछि बचत खातातर्फ आकर्षण

आइतबार, कात्तिक २ २०८२
मुद्दती निक्षेपको अंश ५० प्रतिशतभन्दा तल, ब्याजदर घटेपछि बचत खातातर्फ आकर्षण

बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको हिस्सा लगातार घट्दै गएको छ। नेपाल राष्ट्र बैंकले भदौ महिनासम्मको तथ्यांक सार्वजनिक गर्दा कुल निक्षेपमा मुद्दती खाताको अंश ५० प्रतिशतभन्दा तल झरेको देखिएको छ।

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको हिस्सा लगातार घट्दै गएको छ। नेपाल राष्ट्र बैंकले भदौ महिनासम्मको तथ्यांक सार्वजनिक गर्दा कुल निक्षेपमा मुद्दती खाताको अंश ५० प्रतिशतभन्दा तल झरेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२ भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले जम्मा ७३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। तर सोमध्ये मुद्दती निक्षेपको हिस्सा ४७ दशमलव ९ प्रतिशतमा सीमित रहँदा साधारण बचत खाताको हिस्सा ३८ प्रतिशतमा पुगेको छ। गत वर्ष सोही अवधिमा मुद्दती निक्षेपको अंश ५६ दशमलव ७ प्रतिशत र बचत खाताको हिस्सा ३१ प्रतिशत थियो।

तरलता सहज बनेपछि ब्याजदरमा आएको गिरावटले मुद्दती निक्षेप घटेको विश्लेषण गरिएको छ। विपरीत बचत खातामा निक्षेप बढ्दै गएको छ।

राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म कुल निक्षेप ३२ अर्ब ८६ करोड रुपैयाँले (०.५ प्रतिशत) वृद्धि भएको छ भने निजी क्षेत्रलाई प्रवाहित कर्जा ४९ अर्ब २४ करोड (०.९ प्रतिशत) बढेर ५५ खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

ब्याजदर घट्दै, निक्षेपकर्ताको आकर्षण घट्दै

कोभिड-१९ पछि बैंकहरूले आक्रामकरूपमा कर्जा विस्तार गर्दा तरलता अभाव भएको समयसम्म निक्षेप आर्कषित गर्न मुद्दती खातामा ब्याजदर बढाएका थिए। त्यसकै प्रभावमा २०७९ पुसमा मुद्दती निक्षेपको हिस्सा ६० दशमलव ३ प्रतिशत पुगेको थियो। तर पछिल्ला महिनाहरूमा ब्याजदर निरन्तर घटेपछि मुद्दती निक्षेप क्रमशः घट्दै अहिले ५० प्रतिशतभन्दा तल पुगेको हो।

नेपाल बैंकर्स संघले २०७९ साउनदेखि ब्याजदरसम्बन्धी ‘भद्र सहमति’ अन्त्य गरी स्वतन्त्र रूपमा ब्याज निर्धारण गर्ने निर्णय गरेपछि बैंकहरूले ब्याजदर घटाउने प्रतिस्पर्धा थालेका थिए। राष्ट्र बैंकले पनि निर्देशनमार्फत हरेक महिनामा अधिकतम १० प्रतिशतसम्म मात्र ब्याजदर तलमाथि गर्न पाउने व्यवस्था लागु गरेको छ।

ब्याजदर घटेपछि व्यक्तिगत र संस्थागत निक्षेपकर्ताहरू बैंकको मुद्दती खाताबाट हट्दै सरकारी ऋणपत्र र सहकारीजस्ता वैकल्पिक लगानी साधनतर्फ आकर्षित हुन थालेका छन्।

कात्तिक महिनामा पनि ब्याजदर घट्यो

नेपालका वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जसमा अधिकांश बैंकले ब्याजदर घटाएका छन्। असोज महिनाको तुलनामा २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर असोजको ५.४६ प्रतिशतबाट घटेर कात्तिकमा ५.२० प्रतिशतमा पुगेको छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि ३.८७ प्रतिशतबाट घटेर ३.६५ प्रतिशतमा झरेको छ। यसअनुसार व्यक्तिगत निक्षेपमा औसत ०.२६ प्रतिशत बिन्दु र संस्थागत निक्षेपमा ०.२२ प्रतिशत बिन्दुले कमी आएको छ।


प्रकाशित : आइतबार, कात्तिक २ २०८२०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend