काठमाडौं- पहिलो पांग्रा 'आविष्कार' थियो भने गाडीको दोस्रो पाँग्रा 'चमत्कार'! पहिलो पांग्राले एक्लै घुम्नसक्ने क्षमता राख्थ्यो तर संसारलाई घुमाउनका लागि दोस्रो पांग्रा नै चाहिएको थियो। यही गाडीको किस्सासँग मेल खाने कथा छ- क्रिप्टोकरेन्सीको।
क्रिप्टोको दुनियामा 'बिटक्वाइन' अविष्कार थियो। जसले धेरै लगानीकर्ताको टाउको घुमाइदिएको थियो। तर यसले जसरी भौतिक मुद्रालाई विस्थापित गर्छ भनिएको थियो त्यसैगरी काम गर्न सकेको थिएन। तब बिटक्वाइनको दोस्रो पांग्राको रूपमा क्रिप्टोको दुनियाँमा 'स्टेबल क्वाइन'को उदय भयो।
स्टेबल क्वाइनले त मौद्रिक बजारको दुनियाँमा तहल्का नै पिटेको छ। यसमा संसारका धेरै देश उदार बन्दै गएका मात्र होइनन् स्टेकहोल्डर नै त्यसप्रति सकारात्मक हुन थालेका छन्। उतारचढावका कारण भुक्तानीको मूलधार गुमाएको बिटक्वाइनकै प्रोटोकलमा बनेको ब्लकचेन प्रविधिको यो डिजिटल क्वाइन अहिले स्थिर सम्पत्तिको सुरक्षणमा हुन्छ। अर्थात १ क्वाइन बराबर १ अमेरिकी डलर हुन्छ।
डलरसँग बाँधिएको स्टेबल क्वाइनको लोकप्रियता बढ्नुका पछाडिको कारण कमजोर घरेलु मुद्राको जोखिम घटाउनमा छ। जस्तो टर्की, अर्जेन्टिनामा यसको प्रचलन बढेको छ। त्यस्तै परम्परागत अन्तरदेशीय भुक्तानीको तुलनामा ८० प्रतिशत सस्तो भएकाले पनि यसको लोकप्रियता बढेको छ।
स्टेबल क्वाइनलाई सुरुवातमा जुन संस्थाहरूले रोकेका थिए अहिले उनीहरूले अग्रसरता लिन थालेका छन्। अन्तरदेशीय भुक्तानीमा अहिले जुन समय र शुल्क लाग्छ यसबाट यसले जुन उन्मुक्ति दिएको छ त्यही कारण कम्पनी, सेवाग्राहीले अंगाल्न थालेका छन्।
सन् २०२५ मा स्टेबल क्वाइनको आकार २८० अर्ब डलरसम्म पुगेको छ। प्रत्येक हप्ता ६७२ मिलियन डलर कारोबार हुन्छ। २० मिलियन सक्रीय वालेट छन् भने वार्षिक ३८ ट्रिलियन डलर ट्रान्सफर हुन्छ। अहिलेसम्मका मुख्य क्वाइनमा ९० प्रतिशत डलरसँग पेग गरिएको छ। विश्वकै वित्तीय बजारलाई प्रभावित पार्ने अमेरिकामा एमटू मनी सप्लाइको १ प्रतिशत पुगिसकेको छ।
अहिलेसम्म टेदर सबैभन्दा प्रचलित क्वाइन हो। त्यस्तै यूडी क्वाइन, डाइयूएसडी, सर्कल, पेपालको क्वाइन पनि रहेको छ। अमेरिकी बैंक तथा भुक्तानी सेवा प्रदायकहरूले पनि आफ्नै क्वाइन ल्याइसकेका छन्।
स्टेवल क्वाइन मूलधारमा आइसकेको छ। रेमिट्यान्सदेखि क्लाउड सेवामात्र होइन अमेरिकी ऋणपत्रको छैटौ ठूलो खरिद नै यही क्वाइनमा हुन थालेको छ।
सबैभन्दा असुरक्षित र उतारचढावपूर्ण मानिएको क्रिप्टोको दुनियामा स्टेबल क्वाइनले भने स्थिरता, सस्तो र सुरक्षित भुकानीको विकल्प दुनियालाई दिएको छ। यही कारणले गर्दा अफ्रिकाको नाइजेरियादेखि अरबको युएई, उत्तर अमेरिकाको अर्जेन्टिनादेखि अमेरिकासम्म यो लोकप्रिय बनेको छ।
मौद्रिक बजारमा पश्चिम र पूर्वमा कसले कुन प्रविधि लिने भन्ने होड उहिल्यैदेखि छ। चीनमा कागज आउनुभन्दा पहिले दुनिया भुक्तानीका लागि भौतिक टोकनमा निर्भर थियो। तर जब चीनले कागज दियो तब विश्व नै कागजी मुद्रामा रमायो।
भुक्तानीका लागि कागजी मुद्रा बोक्नुपर्ने झन्झटबाट कार्डले मुक्त गरिदियो जसमा अमिरिकी पहल तथा नेतृत्व थियो। त्यसलाई पनि मत्थर पारिदिने अनलाइन भुक्तानी प्रणालीमा चीनले नेतृत्व लियो। अब डिजिटल मुद्रामा फेरि अमेरिकाले पहल गरेको छ।
स्टेवल क्वाइनका विषयमा अमेरिकाले हालै कानून ल्याएर यसलाई अझै व्यवस्थित र विश्वसनीय बनाउन खोजेको छ। युरोपले पनि यसलाई व्यवस्थित बनाउन नियमनको दायरामा ल्याएको छ भने जपान, युएईलगायतका मुलुक पनि उदार छन्। चीनले यसमा प्रतिबन्ध जारी राखेको छ। दक्षिण कोरिया, भारतलगायतका मुलुक पनि यसलाई स्वागत गर्ने मुडमा छैनन्।
कानूनी अवरोधकै बीचमा बजारकै अग्रसरतामा पश्चिममा क्रिप्टोको दुनियामा पहिलो दशकमा भएको यो क्रान्तिले ढिलोचाँडो विश्वलाई लपेट्ने निश्चित छ।
नेपालले पनि सबै प्रकारका किष्टो करेन्सीमाधि सख्त प्रतिबन्ध लगाएको छ। तर नेपाल राष्ट्र बैंक आफै सेन्ट्रल बैंक डिजिटल करेन्सीको तयारीमा थियो। पछिल्लो समय अमेरिकाले सीबीडीसीबाट पछि हटेर स्टेबल क्वाइनमा जाने तयारी गरेसँगै नेपालमाथि पनि दबाब बढ्ने निश्चित छा
पछिल्लो समय अन्तर्राष्ट्रिय मुद्रा कोष, अमेरिका जस्ता दातृ निकायसँगको भेटमा वा छलफलमा स्टेबल क्वाइनका विषयमा छलफल भइरहेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्। 'हामीले पनि सीबीडीसीको एउटा अध्ययन गरेका छौँ तर अमेरिका आफै स्टेबल क्वाइनतिर जान थालेको छ, यसको हावा पक्कै पनि हाम्रोसम्म पनि पर्छ' राष्ट्र बैंकका एक अधिकारीले भने।
पश्चिमा बजारमा जसरी स्टेबल क्वाइन लोकप्रिय भएको छ यही कारण क्रिप्टोप्रति नेपाल पनि उदार हुनैपर्ने अवस्था आउने देखिएको छ।
(बिजनेस न्युज डटकमको यूट्युब च्यानलमा प्रकाशित भिडियोहरू हेर्न तथा सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। टिकटक, फेसबुक र एक्समा पनि हाम्रा सामग्री हेर्न सकिन्छ।)
