सुर्खेत- राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे। सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए।
शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए। त्रास सिर्जना गर्ने युवकलाई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजंग बुढ्थापाले जानकारी दिए।
पछिल्लो समय बाह्य व्यक्तिहरूको अनधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका जनाइएको छ। आफ्नै जीवन्त रीतिरिवाज र वेशभूषामा जंगलमा बस्दै आएका उनीहरुका बस्तीमा जथाभावी बाह्य व्यक्तिहरूको प्रवेशले असुरक्षित बन्न थालेका हुन्। विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको उनीहरुको भनाइ छ।
कर्णालीका विभिन्न ठाउँमा फिरन्ते रूपमा जीवन बिताउँदै आएका राउटे समुदाय माथि केही वर्षअगाडि पनि अवाञ्छित काम गर्ने केही व्यक्तिलाई प्रहरीले कारबाही गरेको थियो।
राउटे समुदायका युवा दीपक शाही भन्छन्, 'बाहिरबाट बिनाकाम बस्तीभित्र आउने गर्दा हामीहरूलाई असहजता बनाएको छ। रातिमा बस्तीभित्र बाहिरका मानिस आउन थालेपछि झनै असुरक्षित हुन थालेको छ, हामीलाई सुरक्षा चाहियो। हिजोमात्र हाम्रो बस्तीमा रक्सी खाएर एकजना मान्छे आएर हल्ला गर्यो। अरु बेलामा पनि जथाभावी मानिसहरू आउँदा हामी त्रासमा छौँ।' उनले दिउँसोको समयमा राउटे बस्तीमा आए पनि रातको समयमा मादक पदार्थ सेवन गरेर नआउन आग्रह गरे।
यस्तै, राउटे समुदायको रेखदेखका लागि काम गर्दै आएका सोसेकका दुर्गा खत्रीले पनि पछिल्लो समय राउटे समुदायमा सुरक्षा चुनौती थपिएको जनाउँदै बस्तीको लागि प्रहरी खटाउन आवश्यक रहेका औँल्याइन्।
'राउटे बस्तीमा प्रहरी चाहिएको अवस्था छ', उनले भनिन्, 'यहाँ बाहिरको मानिसहरू धेरै आउने, भिडियो बनाउनेसँगै रातिको समयमा गलत मानिसहरूको प्रवेश बढ्दै जाँदा राउटेको सुरक्षा जोखिम बढ्दो छ।'
उनले राउटेहरूलाई भत्ताको सट्टा राशन दिनुपर्ने जनाउँदै भत्ताका रूपमा रकम दिँदा उनीहरू मदिराको लतमा फस्दै गएकाले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको बताइन्। यसले पनि राउटेहरूको सुरक्षामा चुनौती थपिएको बताइन्।
राउटे समुदायमा भाइरल ज्वरोको संक्रमण
केही दिनदेखि राउटे समुदायमा भाइरल ज्वरोको संक्रमण बढ्दै गएको पाइएको छ। सुरुमा दुईजनामात्रै बिरामी परेकामा पछिल्लो एक हप्तामा २५ जना बिरामी परेका छन्। उनीहरूले डेंगुलगायतका अन्य चेकजाँच गर्न नदिने गरेको भन्दै प्राथमिक उपचारमात्र गर्ने गरिएको राउटे समुदायको उपचारका लागि खटिएकी स्वास्थ्यकर्मी अनुजा पन्त बताउँछिन्।
'अहिले राउटे बस्तीमा ज्वरोको संक्रमण बढ्दो छ, पछिल्लो एक हप्तादेखि २५ जनाभन्दा बढी बिरामी पर्नुभएको छ, उहाँहरूले डेंगु चेकजाँच गर्न दिनुहुन्न। हामीले प्राथमिक उपचारमात्र गरेका छौँ। अन्य समस्या चेकजाँच गर्नका लागि उहाँहरू तयार हुनुहुन्न', उनले भनिन्।
सङ्ख्या लगातार घट्दै राउटे समुदायको सङ्ख्या लगातार घटिरहेको छ। राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको सङ्ख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ।
प्रतिवेदनमा २०७५ सालमा एकसय ४९ रहेको राउटेको जनसङ्ख्या १५ माघ २०८१ सम्म आइपुग्दा घटेर एकसय ३५ मा झरेको छ। विसं २०७५ मा एकसय ४९ रहेको राउटेको सङ्ख्या एकजनाले घटेर २०७६ मा एकसय ४८ भयो। २०७७ मा फेरि तीनजनाको मृत्युपछि एकसय ४५ मा झरेको यो समुदायको सङ्ख्या २०७८ मा आउँदा एकसय ४४ मा झर्यो।
अहिले यो समुदायको सङ्ख्या एकसय ३५ मा सीमित हुन पुगेको छ। यो समुदायको सङ्ख्या घट्नुका विभिन्न कारण रहेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार यो समुदायको जनसङ्ख्या घट्नुको पछाडि सामाजिक मूल्य, मान्यता प्रमुख कारण छ।
राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा भन्छन्, 'राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवतीहरू विवाह नगरेर बसेको अवस्था छ। अर्को परम्परा भनेको श्रीमानको मृत्युपछि जतिसुकै उमेर समूहका महिला भए पनि एकल भएर बस्नुपर्ने बाध्यता छ।'
उनले थपे, 'अहिले एकल महिला २३ जना छन्, तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरूले अर्को विवाह गर्न पाउँदैनन्, प्रजनन उमेरका महिलाहरू बच्चा जन्माउनै नपाएपछि कसरी सङ्ख्या बढ्छ।'
प्रमुख थापा राउटे समुदायमा युवाहरूको सङ्ख्याभन्दा ज्येष्ठ नागरिक र बालबालिकाको सङ्ख्या धेरै रहेको बताउँछन्। उनी भन्छन्, राउटे समुदायको जनसङ्ख्या घट्नुको अर्को कारण अत्यधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनीहरू भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ।
राष्ट्रिय मानवअधिकार आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तीनै तहका सरकारहरूले राउटे संरक्षणसम्बन्धी योजना बनाउनुपर्ने उनको सुझाव छ। आयोगले सिधै रकमको साटो आवास, खाद्यान्न, पोषण, लत्ताकपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छ भने बाहिरी आधुनिक दुनियाँले उनीहरूको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ।
राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु/नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावजस्ता कारणले राउटेको जनसङ्ख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ।
आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्की भन्छन्, 'राउटे समुदाय जीवन चलाउने भनेर सरकारले भत्ता दिने गर्यो, उनीहरूको जीविका चलाउन सहज होस् भनेर सरकारले भत्ता त दियो। तर त्यो भत्ताको प्रयोग उनीहरूले आफ्नो खानपानभन्दा पनि मदिरा सेवनमा प्रयोग गर्ने गरेको पाइयो। यसले गर्दा उनीहरूको मृत्यु धेरै भएको देखिन्छ। यहीमात्र कारण त नहोला तथापि अन्य कारणले पनि उनीहरूको सङ्ख्या घटिरहेको छ।'
उनीहरूको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको भन्दै तीनै तहका सरकारले मुख्यगरी उनीहरूको संरक्षणका लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ। पछिल्लो समय बढ्दो असुरक्षाले उनीहरूको मानवअधिकारसमेत हनन हुने सम्भावना बढेको उनको भनाइ छ।
'उनीहरू स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमी तथा विभिन्न कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ। त्यसका साथै सामाजिक परम्परा पनि छन् जनसङ्ख्या घट्नुको कारण छन्। त्यसैले सरकारले नयाँ योजना बनाएर यो समुदायको संरक्षणमा लाग्न सुझाव दिन्छु', कार्की भन्छन्।
कर्णाली प्रदेश सरकारले भने उनीहरूका लागि राउटे करिडोर निर्माण गरी विभिन्न संरक्षणका योजना अगाडि सारेको छ। रासस
