सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आक्रामक बजार विस्तारमा चर्चा कमाएका कान्छा सीईओ रोशन न्यौपाने, चुनौतीबीच राजीनामा

बिहीबार , असोज २ २०८२
आक्रामक बजार विस्तारमा चर्चा कमाएका कान्छा सीईओ रोशन न्यौपाने, चुनौतीबीच राजीनामा

प्रारम्भिक अवस्था कमजोर भए पनि उनले छोटो अवधिमा वित्तीय सूचक सुधार गर्दै पुँजी, बजार हिस्सा, ग्राहक संख्या र नाफामा बैंकलाई अग्रस्थानमा पुर्‍याए।

काठमाडौं- एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले पदावधि बाँकी रहँदै बिहीबार राजीनामा दिएका छन्। पारिवारिक समस्या र स्वास्थ्यलाई समय दिनुपर्ने कारण देखाउँदै उनले २०८३ मंसिरसम्म रहने कार्यकाल पूरा नगरी पदबाट बाहिरिने निर्णय गरे

आउँदो मंसिरमा न्यौपाने अनिवार्य अवकाशमा जानै पर्ने थियो। राष्ट्र बैंकको नियमअनुसार दुई कार्यकालभन्दा बढी सीईओमा बस्न नपाउने व्यवस्था छ। समयअगावै उनले दिएको राजीनामाले वित्तीय क्षेत्रमा व्यापक चर्चा चलेको छ।

न्यौपानेको राजीनामासँगै बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीलाई कायम मुकायम सीईओ तोकेको छ।

यसअघि २०७९ मंसिर १५ देखि लागु हुनेगरी न्यौपानेलाई चार वर्षको लागि पुनः नियुक्त गरिएको थियो। अहिले समयअगावै पारिवारिक अवस्थाले बाहिरिन बाध्य बनेको उनले स्पष्टीकरण दिएका छन्।

एनआईसी एसियालाई मुलुककै सर्वोत्कृष्ट बैंक बनाउने सपना न्यौपानेले देखेका थिए। प्रारम्भिक अवस्था कमजोर भए पनि उनले छोटो अवधिमा वित्तीय सूचक सुधार गर्दै पुँजी, बजार हिस्सा, ग्राहक संख्या र नाफामा बैंकलाई अग्रस्थानमा पुर्‍याए।

कान्छा सीईओको उदय

रसुवाको सामान्य परिवारमा जन्मेका न्यौपाने २८ वर्षको उमेरमा तत्कालीन बैंक अफ एसियाको आन्तरिक लेखा परीक्षण विभागका इन्चार्ज बने। बैंक अफ एसिया मर्ज भएपछि एनआईसी एसिया बैंक बनेको थियो।

न्यौपाने क्रमशः रिक्स डिपार्ट प्रमुख हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत बने। त्यही बाटो हुँदै उनी कायम मुकायम सीईओ बने र २०७५ मंसिर १६ गतेदेखि स्थायी सीईओ बनेका थिए। ३८ वर्षमै प्रमुख सीईओ बनेका उनी नेपालकै कान्छा सीईओका रूपमा चर्चित भए।

न्यौपानेको कार्यकालमा बैंकले 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने नारा दिएर आक्रामक व्यवसाय विस्तार सुरु गर्‍यो। राजधानीमै सीमित ग्राहक भएको एनआईसी एसियालाई उनले गाउँगाउँ पुर्‍याए।

हाल बैंकसँग ३६० शाखा, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित सेवा बिन्दु छन्। मुगु, कालिकोट, जुम्ला, सल्यान, बझाङजस्ता दुर्गम जिल्लामा समेत बैंकले शाखा विस्तार गरेको छ। ३४ भन्दा बढी स्थानीय तहमा एनआईसी एसियाले उपस्थिति जनायो।

न्यौपानेको कौशलका कारण २०७७ चैत २७ गते उनलाई राष्ट्रपति कार्यालयले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’बाट विभूषित गर्‍यो। त्यस्तै ‘कर्पोरेट सीईओ अफ द इयर २०७८’, बेलायतको ग्लोबल बिजनेस आउटलुक म्यागजिनबाट ‘बैंकिङ सीईओ अफ द इयर- नेपाल २०२१’ लगायतका अन्तर्राष्ट्रिय सम्मानसमेत उनको नाममा जोडिए।

अन्तिमतिर बढेका चुनौती

कार्यकालको अन्तिम समयमा भने बैंकलाई निरन्तर उचाइमा पुर्‍याउन न्यौपानेसामु चुनौती थपियो। रिटेल कर्जाको असुली समस्या गम्भीर बन्यो। पुँजीकोषमा दबाब बढ्यो। कोभिड-१९ पछि साना व्यवसायीका समस्या बैंकमा समेत परे। यी कारण बैंकको वित्तीय स्वास्थ्य धमिलो देखिन थाल्यो।

यद्यपि सुधारका संकेत पनि देखिन थालेका छन्। गत वर्ष साउनमा ५६ करोड ४५ लाख नाफा कमाएको बैंकले चालु वर्षको साउनमा ६१ करोड ६९ लाख नाफा कमायो। ९.२५ प्रतिशतले नाफा वृद्धि भएको हो।

स्मरणीय कार्यकाल

न्यौपानेले जुन उचाइमा बैंकलाई पुर्‍याए, त्यसले एनआईसी एसियालाई नेपालका पुराना तथा ठूला बैंकहरूसँग प्रतिस्पर्धा गर्नसक्ने स्तरमा पुर्‍यायो। नबिल बैंक र ग्लोबल आइएमईलाई चुनौती दिने स्तरमा पुर्‍याएको बैंकको अहिलेको हैसियत न्यौपानेको कार्यकालकै उपलब्धि हो। नाफा कमाउनेमा समेत दुइवर्ष अघि नबिल र ग्लोबल आइएमई बैंकसँग एनआईसी एसियालाई प्रतिस्पर्धामा उभ्याएका थिए।

कार्यकालको अन्तिम चरणमा न्यौपानेले बैंकका समग्र पक्ष अपेक्षाकृत सम्हाल्न सकेनन्। अब उनले देखाएको बाटो नयाँ नेतृत्वले कसरी अघि बढाउँछ भन्ने प्रश्न बाँकी नै छ। तथापि उनका आक्रामक रणनीति, नेतृत्व कौशलका कारण उनको कार्यकाल नेपाली बैंकिङ क्षेत्रमा लामो समय स्मरणीय रहने निश्चित देखिन्छ।


प्रकाशित : बिहीबार , असोज २ २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend