सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हारेका छैनन् हिम्मत : खरानी टकटक्याएर उठ्दै उद्यमीहरू

आइतबार, भदौ २९ २०८२
हारेका छैनन् हिम्मत : खरानी टकटक्याएर उठ्दै उद्यमीहरू
एआई निर्मित सांकेतिक तस्बिर।

'अहिले उद्योगी-व्यवसायीहरूले भौतिक सम्पत्तिमात्र गुमाएका छैनन्। आफ्नो सपना र समर्पणमाथि समेत चोट पाएका छन्। तर श्रम, हौसला र आत्मबल भने कहिल्यै खेर जान्न। यी नै तत्वले फेरि नयाँ निर्माण सम्भव बनाउने छन्।'

काठमाडौं- गएको हप्ता भएको युवाहरूको आन्दोलनले मुलुकमा धेरै थोक गरिसकेको छ। सरकार नै ढालिदिएर चुनावी म्यान्डेडसहितको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भइसकेको छ। 

सुशासन र उत्तरदायित्वको माग गर्दै सुरू भएको युवा आन्दोलनमा सरकारको बर्बर दमनले पहिलो दिन नै १९ जनाको हत्या भयो। ७० जनाभन्दा बढीले ज्यान गुमाएको यो आन्दोलनको दोस्रो दिन गएको मंगलबार भड्किएको भिडले सार्वजनिक तथा निजी संरचनामा समेत आगो लगाइदियो।

मुलुकको शासकीय केन्द्र सिंहदरबारदेखि देशभरका धेरै सरकारी कार्यालय जलेर खरानी भएका छन्। यीसँगै नेताहरूका घर पनि जलेर खरानी भए। सर्वोच्चलगायतका अदालत र सरकारी वकिल कार्यालयहरू जलाइए। 

आन्दोलनका क्रममा उद्यम व्यवसाय र व्यवसायीका निजी संरचनामा पनि तोडफोड, लुटपाट र आगजनी गरियो। कतिपय व्यवसाय नै खरानी भएका छन्। आन्दोलनकारीको आक्रमणपछि निजी क्षेत्रको खर्बौँको सम्पत्तिमा क्षति भएको छ।

आक्रमणको सबैभन्दा ठूलो निसाना मीनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केट बनेको छ। काठमाडौं उपत्यकाका नक्साल, महाराजगञ्ज, चुच्चेपाटी, कोटेश्वर, राधेराधे, कलंकीलगायतका शाखामा लुटपाट र आगजनी गरी पूर्णरूपमा ध्वस्त पारिएको छ। राजधानीबाहिर विराटनगर, धरान, दमक, बिर्तामोड, पोखरा, हेटौंडा र भरतपुरस्थित शाखा पनि आक्रमणमा परेका छन्।

सांसद तथा उद्योगी विनोद चौधरीको रविभवनस्थित निवासमा आगजनी हुँदा भवन पूर्णरूपमा जलेको छ। निवासभित्र रहेका आधा दर्जन गाडी खरानी बनेका छन्। सतुंगलस्थित सीजी डिजिटल पार्क, थापाथलीस्थित गाडी शोरुम र रविभवनको सीजी शोरुममा पनि आगजनी गरिएको छ। बसन्त चौधरीको ठमेलस्थित घरमा तोडफोड गरिएको छ।

व्यवसायी उपेन्द्र महतोको भाटभटेनीस्थित आवासमा लुटपाट र आगजनी भयो। शेखर गोल्छाको सितापाइलास्थित निवास आंशिक जले भने पाँच गाडी खरानी बन्यो। शंकर ग्रुप लगानी रहेको नक्सालस्थित पाँचतारे हिल्टन होटल पूर्णरूपमा जलेर ध्वस्त भयो। 

कान्तिपुर मिडिया ग्रुपको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आगजनी भयो। त्यहाँ नै रहेको ग्लोबल आईएमई बैंक शाखामा पनि क्षति भयो। तीनकुनेस्थित कान्तिपुर कम्प्लेक्समा आगजनीबाट टेलिभिजन र संरचनामा क्षति पुगेको छ। तीनकुनेस्थित सिम्रिक एयरको भवनमा आगजनी भयो। थापाथलीमा सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडको थापाथली शोरुमा तोडफोड र आगजनी हुँदा पाँचवटा गाडी ध्वस्त भयो।  

गैरीगाउँस्थित अन्नपूर्ण पोष्टको कर्पोरेट टावरमा आगजनी भयो, त्यसका सञ्चालक रामेश्वर थापाको काभ्रेको निवास र हेलिकोप्टर पनि जलाइयो। बानेश्वरस्थित गोल्यान टावरमा तोडफोड गरियो। सांसद राजेन्द्र बजगाईंको  बालुवाटारस्थित वर्णवास होटलमा आगजनी भयो।

बत्तीसपुतलीमा मारवाडी सेवा समिति टावरमा आगजनीबाट हिमालयन बैंक, हिमालयन जाभा कफी र कार्यालयहरू ध्वस्त भए। चन्द्र ढकाल समूहको चन्द्रागिरि र मौलाकाली केबलकारको बटम स्टेसनमा आगजनी गरियो।

यसैगरी पुरानो बानेश्वरको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा तोडफोड र आगजनी भयो। पोखरामा सरोवर होटल, बगैँचा रिसोर्ट र लगानीकर्ता बिन्दुकुमार थापाको निवास जलाइयो।

ठूलो संख्यामा हायात होटल पुगेको समूहले तोडफोड र लुटपाट गर्‍यो। लैनचौरको एनसेल मुख्य भवनमा आक्रमण र आगजनी गरियो। राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र लुटपाट गरियो। 

यी सबै व्यवसायीले क्षतिविक्षत भएको तेस्रो दिनदेखि नै नियमित काममा फर्किने र फेरि व्यवसाय सुरू गर्न थालिसकेका छन्। मीनबहादुर गुरुङले दसैँअघि नै अधिकांश आउटलेट ठड्याउने घोषणा गरेका छन्। हजारौँ मान्छेको रोजगारीसँग जोडिएको भाटभटेनीलाई दसैँसम्म सञ्चालनमा ल्याएर सबैलाई काममा फर्काउने उनले घोषणा गरेका छन्। 

त्यस्तै चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पनि युवा पुस्ताको आन्दोलनको उद्देश्य सही भएपनि गलत नियत राख्नेहरूको घुसपैठले व्यवसायलाई खरानी बनाएको बताए। उनले आफूहरूको सपना ज्युँदै रहेको र आजैदेखि फेरि व्यवसाय उठाउन लागिएको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको तर आफूहरू विचलित नभएको बताउँदै भनेका छन्, 'हामी पनि अझै सशक्तरूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।'

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका प्रबन्ध निर्देशक करण चौधरीले पनि परिवर्तनका लागि भएको आन्दोलनका क्रममा निजी व्यवसायमा क्षति पुगेकोमा दु:ख लागेपनि आगामी दिनमा फेरि राम्रो हुने अपेक्षा गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भनेका छन्, 'अहिले उद्योगी-व्यवसायीहरूले भौतिक सम्पत्तिमात्र गुमाएका छैनन्। आफ्नो सपना र समर्पणमाथि समेत चोट पाएका छन्। तर श्रम, हौसला र आत्मबल भने कहिल्यै खेर जान्न। यी नै तत्वले फेरि नयाँ निर्माण सम्भव बनाउने छन्।'

अर्थतन्त्रका जानकारहरूले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिकरुपमा उल्लेखनीय क्षति ब्यहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको बताएका छन्। 

नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले पछिल्लो प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरु रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताएका छन्।

यस्तै अर्थशास्त्री डा. समिर खतिवडाले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिएका छन्।

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पनि निजी क्षेत्रलाई सरकारको साथ रहने बताएकी छिन्। आइतबार पदभार ग्रहणलगत्तै सम्बोधन गर्दै उनले जनता र सरकार दुवै सँगसँगै माथि उठ्नुपर्ने अवस्था रहेको र निजी क्षेत्रलाई सरकारले साथ दिने बताइन्।  

'जनता र सरकार विषम आर्थिक परिस्थितिमा रहेकोले यसबाट माथि उठ्नुपर्ने छ। व्यक्तिको सम्पत्ति, उद्योगी व्यवसायीको सम्पत्ति पनि नाश गर्ने काम भएको छ। अब सबैजना सँगै उठ्नुपर्ने भएको छ। उनीहरूलाई कसरी उठाउने भन्ने विषयमा सरकारले गर्नसक्ने सहयोग गर्ने छ' उनले भनिन्, 'जलाएर खरानी बनाउने काम हुँदा पनि म उठ्छु भन्ने जुन अठोट निजी क्षेत्रले देखाएको छ त्यो सह्रानीय छ।'


प्रकाशित : आइतबार, भदौ २९ २०८२१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend