काठमाडौं- जेनजी आन्दोलनको दोस्रो दिन गएको मंगलबार राजधानी काठमाडौंसहित देशका विभिन्न सहरहरूमा उद्यमी, उद्योगपति र बहुराष्ट्रिय कम्पनीहरूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरियो। प्रदर्शनकारीहरूले सुपरमार्केट, उद्योग, होटल, सञ्चारमाध्यम, वायुसेवा कम्पनी, शैक्षिक संस्थामात्र होइन उद्यमीहरूका व्यक्तिगत निवास र कार्यालयमा समेत आगजनी, तोडफोड र लुटपाट गरे।
आन्दोलनकारीको आक्रमणपछि निजी क्षेत्रको खर्बौँको सम्पत्तिमा क्षति भएको छ। लगानीकर्ता र उद्यमीहरूले देशमा लगानीको वातावरण थप असुरक्षित बनेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
युवा पुस्ताको आन्दोलन भड्किँदा नेताका निजी निवाससँगै सिंहदरबार, प्रधानमन्त्री निवास, शीतल निवास र अदालतहरू समेत जलाइए। सर्वोच्चसहितका अदालतहरू जलाउनुका साथै सरकारी वकिल कार्यालयहरूमा समेत आक्रमण भएको थियो। सरकारीसँगै ठूलो आक्रमण निजी क्षेत्रमाथि पनि भयो।
राजनीतिक अस्थिरताले उत्पन्न गरेको असुरक्षा अब प्रत्यक्षरूपमा ठूला उद्योग र उद्यमीलक्षित हिंसामा परिणत भएपछि भविष्यमा प्रत्यक्ष विदेशी लगानी र ठूला व्यावसायिक पहल थप जोखिममा पर्ने देखिएको छ।
व्यवसायी र सुरक्षा संयन्त्रका अनुसार एकथरी आन्दोलनकारीहरू पेट्रोल, ग्यास सिलिन्डर, सलाइ, लाइटरसमेत लिएर हिँडेका थिए। लुटपाटपछि आगजनी गर्ने शैली एकै प्रकारको देखिएको छ। यो कुनै निश्चित समूहले सञ्चालन गरेकोजस्तो देखिएको व्यवसायीहरूको भनाइ छ।
यसरी आक्रमणसँगै मुलुकको निजी क्षेत्र खर्बौँ रुपैयाँबराबरको क्षतिमा परेको छ। आक्रमणको सबैभन्दा ठूलो निसाना मीनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केट बनेको छ। काठमाडौं उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध-चुच्चेपाटी, कोटेश्वर, राधेराधे, कलंकीलगायत १४ वटा शाखामा लुटपाट र आगजनी गरी पूर्णरूपमा ध्वस्त पारिएको छ। राजधानीबाहिर विराटनगर, धरान, दमक, बिर्तामोड, पोखरा, हेटौंडा र भरतपुरस्थित शाखा पनि आक्रमणमा परेका छन्।
सांसद तथा उद्योगी विनोद चौधरीको रविभवनस्थित निवासमा आगजनी हुँदा भवन पूर्णरूपमा जलेको छ। निवासभित्र रहेका आधा दर्जन गाडी खरानी बनेका छन्। त्यस्तै सतुंगलस्थित सीजी डिजिटल पार्क, थापाथलीस्थित गाडी शोरुम र रविभवनको सीजी शोरुममा पनि आगजनी गरिएको छ। विनोद चौधरीका भाइ बसन्त चौधरीको ठमेलस्थित घरमा तोडफोड गरिएको छ।
कुन व्यवसायीको कहाँ क्षति?
उपेन्द्र महतो : भाटभटेनीस्थित आवासमा लुटपाट, आगजनी।
शेखर गोल्छा : सितापाइलास्थित निवास आंशिक जले, ४-५ गाडी खरानी।
हिल्टन होटल (शंकर ग्रुप लगानी) : नक्सालस्थित पाँचतारे होटल पूर्णरूपमा जलेर ध्वस्त।
कान्तिपुर मिडिया ग्रुप : थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आगजनी, समाचारकक्ष ध्वस्त।
थापाथलीमा ग्लोबल आईएमई बैंक शाखामा क्षति।
कान्तिपुर कम्प्लेक्स, तीनकुने : आगजनीबाट टेलिभिजन र संरचनामा क्षति।
सिम्रिक एयर : तीनकुनेस्थित मुख्यालयमा आगजनी।
अन्नपूर्ण पोष्ट : गैरीगाउँस्थित कर्पोरेट टावरमा आगजनी, सञ्चालक रामेश्वर थापाको काभ्रेको निवास र हेलिकोप्टर जले।
पवन गोल्यान : बानेश्वरस्थित गोल्यान टावरमा तोडफोड, आंशिक क्षति।
राजेन्द्र बजगाईं (कांग्रेस सांसद) : बालुवाटारस्थित वर्णवास होटलमा आगजनी।
मारवाडी सेवा समिति टावर, बत्तीसपुतली : आगजनीबाट हिमालयन बैंक, हिमालयन जाभा कफी, कार्यालयहरू ध्वस्त।
चन्द्र ढकाल समूह : चन्द्रागिरि र मौलाकाली केबलकारको बटम स्टेसनमा आगो।
ग्लोबल कलेज अफ म्यानेजमेन्ट, पुरानो बानेश्वर : तोडफोड र आगजनी।
पोखरा : सरोवर होटल, बगैँचा रिसोर्ट र लगानीकर्ता बिन्दुकुमार थापाको निवास जले।
हायात होटल : ठूलो संख्यामा पुगेको समूहले तोडफोड।
एनसेल : मुख्या भवनमा आक्रमण र आगजनी।
राष्ट्रिय वाणिज्य बैंक : बानेश्वर शाखामा तोडफोड।
