काठमाडौं- देशको कानूनी प्रणालीमा अत्यन्तै महत्त्वपूर्ण संवैधानिक निकाय महान्यायाधीवक्ताको कार्यालयमा रहेका कम्प्युटरहरूबाट हार्ड ड्राइभहरू नै गायब बनाइएको छ।
हिजो मंगलबार युवा पुस्ताले गरेको आन्दोलन भड्किँदा सर्वोच्चसहितका अदालतहरू जलाउनुका साथै सरकारी वकिल कार्यालयहरूमा समेत आक्रमण भएको थियो। कुन कार्यालयमा कति क्षति भएको छ भन्ने यकिन विवरण आइनसके पनि कर्मचारीहरू कार्यालयको अवस्था बुझ्दै सुरक्षित बनाउन सकिने सामानलाई सुरक्षित बनाइरहेका छन्।
महान्यायाधीवक्ता कार्यालयका कर्मचारीका अनुसार त्यहाँ एक सयभन्दा बढी कम्प्युटर सीपीयूबाट हार्ड ड्राइभ लगिएको छ। केही मनिटर फुटाइएको छ। अब चारवटा कम्प्युटरमात्र फुटाउन बाँकी छ। लाइब्रेरी ध्वस्त बनाइएको छ। कतिपय सामानहरू हराएका छन्।
हरेक तलामा रहेको सिस्टम बक्स जलाइएको छ। सीसीटीभी कन्ट्रोल र इलेक्ट्रिसिटी सिस्टम कन्ट्रोल बक्स जलाइएको छ। गौतम बुद्ध हल पूरै जलाइएको छ। फलामे सिटहरू केही बचेका छन्।
'हरेक तलामा सिस्टम कन्ट्रोल जलाइएको छ। यस्ता डिजिटल सिस्टमबारे थाहा हुने व्यक्तिहरूले नै यो सबै गरेको जस्तो देखिन्छ। कम्प्युटर हार्ड ड्राइभमा डाटा सुरक्षित हुने भएकाले त्यो सबै लगिएको देखिन्छ। न्याय प्रणाली नै ध्वस्त बनाउने योजना देखियो, यहाँ आएर हेर्दा भावुक हुने अवस्था छ' एक कर्मचारीले बताए।
पार्किङमा रहेका गाडी ध्वस्त बनाइएको छ। पहिलो तलामा काठको सिलिङ सबै झरेको छ। सिसाहरू फुटाइएका छन्। पछाडि भएको क्यान्टिन ध्वस्त भएका छन्। कार्यालय सहयोगी बस्ने कोठा जलाइएको छ। कतिपय स्थानमा आगोको ज्वाला अझै देखिन्छ।
महान्यायाधीवक्ता बस्ने कोठाको सचिवालयभित्र पसेर त्यहाँ रहेको कम्प्युटर र रेकर्ड फाइलहरू लगिएको छ। महान्यायाधीवक्ताको कोठा भने ढोका फोर्न नसकेर छाडिएको जस्तो देखिन्छ।
यो सबै हेर्दा नयाँ पुस्ताको आन्दोलनको आडमा न्याय प्रणाली नै ध्वस्त बनाउने योजनाजस्तो देखिएको छ। हरेक फाइल र डाटामाथि आक्रमण भएको छ। यसले महत्त्वपूर्ण कानूनी फाइल, डाटा र दस्तावेज हराएका छन्।
सर्वोच्च अदालतमा जलेर जोगिएका केही फाइलहरू सुरक्षित बनाउने काममा वकिल, कर्मचारी र केही स्वयंसेवक खटिएका छन्।
जलेर नष्ट हुन बाँकी रहेका सर्वोच्च अदालतभित्रका कागजपत्र र फाइलहरु संकलन गरिँदै [तस्बिरहरू]
