काठमाडौं- नयाँपुस्ताले सुरु गरेको आन्दोलन सफलताको गर्व गर्न नपाउँदै काठमाडौं सहर आतंक र लुटपाटले त्रस्त भएको छ।
सोमबार भएको विरोध प्रदर्शनमा केपी शर्मा ओली नेतृत्वको सरकारले १९ जना युवाको हत्या गर्यो भने अन्य सयौँ घाइते भए। त्यही प्रदर्शनमा भएको सरकारी दमनपछि त मंगलबारको आन्दोलन व्यापक भयो।
सरकारले बिहानैदेखि काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य स्थानमा कर्फ्यु आदेश जारी गरे पनि जेनजी स्वतस्फूर्त सडकमा पुगेका थिए। उनीहरूलाई अरु हजारौँले साथ दिए।
घरघरबाट स्थानीय बासिन्दाहरु चोकचोकमा निस्किएर युवाहरुको आवाजलाई साथ दिए। नयाँ पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिविरुद्धको नारामा सबैले आवाज थपे। व्यापक जनसहभागितापछि आन्दोलन सफलताउन्मुख भइरहँदा विभिन्न स्वार्थ समूहसहित अराजक गतिविधि सुरु भयो।
देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा आगजनी भयो। न्यायालयहरु जलाइए। प्रहरी बिटहरुमा आगजनी भयो। सरकारी सम्पत्ति मात्र होइन निजी सम्पत्तिमाथि पनि तोडफोड र आगजनी भइरहेका छन्।
भाटभटेनी सुपरमार्केट जलाइएको छ। एनसेल भवन र हिल्टन होटल जलाइएको छ। सामानहरु लुटपाट भएका छन्। थापाथली चोक आसपासका गाडी शोरुम जलाइएका छन्। सीजी इलेक्ट्रोनिक्समा आगजनी गरिएको छ। प्रदर्शनकारीले उद्योगभित्रबाट सामानहरू बाहिर सडकमा ल्याएर जलाएका छन्।
नेताहरुको सम्पत्ति र उनीहरूमाथि भइरहेका आक्रमण कुशासनको परिणाम र आन्दोलनमा आवेगको प्रतिक्रिया भनिए पनि सार्वजनिक निजी सम्पत्तिमाथिको आगजनी र तोडफोडको सामाजिक सञ्जालमा भत्सर्ना भइरहेको छ। प्रधानमन्त्रीको राजीनामा आएसँगै आन्दोलन सफल भइसक्दा पनि तोडफोड र आगजनी हुनु सही नभएको उनीहरुको प्रतिक्रिया छ।
निजी सम्पत्ति, उद्योग, शोरुम र कर्पोरेट हाउसहरू तोडफोड, लुटपाट र आगजनी हुँदा त्यसको प्रत्यक्ष असर रोजगारी, आम्दानी, कर, राजस्व लगायतमा पर्नेछ। जसको पूर्ति वर्षौँ सम्म हुनसक्ने देखिँदैन। खर्बौँको सम्पत्ति खरानी भएको छ।
मंगलबार अबेरतिर आन्दोलन सफल भएको भन्दै एक समूह आतिसबाजीसहित सडकमा खुसीयाली मनाइरहँदा केही समूह भने लुटपाट र आगजनीमै व्यस्त देखिएको थियो।
आन्दोलनले उग्र रुप लिएसँगै ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन्। रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएका हुन्। देशमा परिवर्तनका लागि सोमबार ज्यान बलिदान दिएका युवाको सपनामाथि नै 'मजाक' बनाउँदै केही समूहले मंगलबार त्यसको फाइदा लिने प्रयास गरे।
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको अवस्थामा अझै आन्दोलनका गतिविधि चलिरहँदा अब यसको निकास के हो भन्ने यकिन देखिएको छैन। राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेना साथै युवा पुस्ताले प्रिय मानेका नेता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भने संयमित हुन आग्रह गरिरहेका छन्।
सेनाले वार्तामा आएर समस्याको समाधान निकाल्न आग्रह गरेको छ। साथै मंगलबार राति १० बजेदेखि सार्वजनिक सम्पत्तिको सुरक्षार्थ सबै सुरक्षा निकाय खटिने उद्घोषसमेत सेनाले गरेको छ।
