सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बिजनेस न्युज पाँचौँ वर्षमा : प्रभावकारिताको नयाँ अध्याय

शनिबार, भदौ २१ २०८२
बिजनेस न्युज पाँचौँ वर्षमा : प्रभावकारिताको नयाँ अध्याय

आगामी दिनमा पनि प्रतिस्पर्धामा आधारित आर्थिक नीति, उपभोक्ता हित र अर्थतन्त्रको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर समाचार, आलेख, विचार, भिडियोका साथै अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्ने छौँ।

आर्थिक नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताका मुद्दा समेटेर अर्थतन्त्रका विविध पक्षमा विश्वसनीय समाचार सम्प्रेषण गर्दै बिजनेस भेन्चर मिडिया प्रालिद्वारा सञ्चालित बिजनेस न्युज डटकम पाँचौँ वर्षमा प्रवेश गरेको छ।

सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रता नै खुम्च्याउने गरी भइरहेका पछिल्ला गतिविधिबीच हामी अझ सशक्त ढंगले अघि बढ्नुपर्ने जिम्मेवारी महसुस गरेका छौँ। अप्ठ्यारा परिस्थितिमा पनि नडगमगाइ सञ्चार माध्यमले निर्वाह गर्नुपर्न भूमिकाप्रति हामी दृढ छौँ। 

हामी सरकारलाई झकझकाउँदै सार्वजनिक वृत्तमा सकारात्मक प्रभाव पार्ने खालको ठोस नतिजा ल्याउन प्रभावकारि पत्रकारितामा निरन्तर लागिरहने छौँ। 

हामीले उठान गरेर निचोडमा पुर्‍याएका विषयवस्तुका साथै समग्र समाचार सामग्रीमा पाठकहरूको साथ र हौसलाले बिजनेस न्युजलाई नेपालको आर्थिक पत्रकारितामा मूलधारका रुपमा उभ्याउन सफल भएको अनुभव गरेका छौँ। 

विद्युतीय पत्रकारिताको आधार फराकिलो हुँदै गएको विद्यमान परिस्थितिमा हाम्रो अगाडिको बाटो थप स्पष्ट देखिएको छ। आर्थिक समाचार र यससँग जोडिएका विषयवस्तुमा रुचि राख्ने पाठकसामु बिजनेस न्युज सबैभन्दा भरपर्दो विकल्पका रूपमा प्रस्तुत भएको हामीले विश्वास गरेका छौँ। 

वस्तुनिष्ठ र तथ्यपरक सूचना उत्खनन् गरी समाचारका रूपमा पाठकसमक्ष प्रस्तुत गर्ने ऊर्जा अझ बढ्दै गएको अनुभव गरेका छौँ। सूचना, त्यसबाट निर्माण हुने सोच र विश्वसनियतालाई ध्यानमा राखेर विषय सुरु गर्ने मात्र होइन त्यसलाई निचोडमा पुर्‍याउनमा हामीले ध्यान केन्द्रित गरिरहेका छौँ। 

अनलाइन मिडियाको विश्वसनियतामा प्रश्न उठिरहेकै बेला गम्भीर र विश्वसनीय आर्थिक पत्रकारिता गर्ने प्रतिबद्धताका साथ हामी आएका थियौँ। हामीले आफ्नो उद्देश्यलाई ध्यानमा राखेर गएका चार वर्ष पाठकको विश्वास जित्न सफल भएको अनुभव गरेका छौँ। 

अहिले पाएको विश्वास र मायाबीच निश्चय पनि अझ परिमार्जित, परिस्कृत र परिपक्व हुँदै जानुछ। समाचार बन्नै अयोग्य रहेका हरखाले सूचनाको पछाडि दौडनुभन्दा निश्चित दायरामा आफूलाई बाँधेर त्यसभित्रको गहिरो आयाम विचार गरिरहेका छौँ। आउने दिनमा पनि समाचारमा यी दायराबाट बाहिर भड्किने छैनौँ। 

हामी पाठक/दर्शकको रूचिअनुसारको गुणस्तरीय समाचार तथा भिडियो सामग्री प्रकाशन गर्ने र त्यसमार्फत मुलुकको अर्थतन्त्र र आर्थिक क्षेत्रमा योगदान गर्ने प्रतिबद्धतामा कुनै सम्झौता गर्ने छैनौँ। 

आगामी दिनमा पनि प्रतिस्पर्धामा आधारित आर्थिक नीति, उपभोक्ता हित र अर्थतन्त्रको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर समाचार, आलेख, विचार, भिडियोका साथै अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्ने छौँ।

सरकारको नियमनकारी भूमिका र निजी क्षेत्रको उत्थान र प्रतिस्पर्धालाई हामीले सधैँ बढावा दिनेछौँ। हाम्रा सूचना र सामग्रीको प्रस्तुति विधि र विधानअनुरुप नै अघि बढ्नेछ। हाम्रा लागि समाचारको लम्बाइ, चौडाइ र गहिराइ सबैको केन्द्रमा पाठक हुनेछन्। वस्तुनिष्ठ र तथ्यपरक सूचना र समाचारका साथ दीर्घकालीन यात्रामा हामी तपाईंसँगै निरन्तर रहनेछौँ।

पाँचौँ वर्ष प्रवेशको अवसरमा हामी पाठकवर्ग, विज्ञापनदाता तथा सहयोगीहरूमा आभार व्यक्त गर्दछौँ।


प्रकाशित : शनिबार, भदौ २१ २०८२०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend