काठमाडौं- सुनको मूल्य बुधबार तोलामा दुई हजार रूपैयाँले वृद्धि हुँदै प्रतितोला २ लाख ७ हजार ९ सय रूपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।
गएको शुक्रबारयता लगातार कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्यले बुधबार पनि वृद्धि हुँदै रेकर्ड कायम गरेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको हो।
यो साता आइतबार, सोमबार र मंगलबार पनि सुन उच्च मूल्यमा कारोबार भएको थियो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रूपैयाँ कायम थियो।
लगातार बढिरहेको चाँदीको मूल्य भने बुधबार तोलामा ५ रूपैयाँले घटेर प्रतितोला दुई हजार चारसय ८० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता मंगलबार चाँदी प्रतितोला दुई हजार चारसय ८५ रूपैयाँमा कारोबार भएको थियो।
