सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १४ २०७८
हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

काठमाडौं- प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा  एक करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ आम्दानी भएको छ। त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ। 

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५ आय र  ४२ लाख ४२ हजार ३५० व्यय, आव २०७६/०७८ मा ५३ लाख ८९ हजार ८६९ आय र  ४० लाख ६२ हजार ५२१ व्यय तथा आव २०७७/०७८ मा  ५१ लाख २८ हजार ४०४ आय र  ४२ लाख २६ हजार १७९ रुपैयाँ व्यय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए। 

भेटीबापत जम्मा भएको रकम खर्च कटाएर  ७७ लाख ६ हजार ४ सय ३८ रुपैयाँ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ। हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदीका गरगहनालगायतका सामग्री भने हालसम्म सुरक्षित राखिएको छ। 

हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी, विदेशी मुद्रा तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ। हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले दानपेटिकाको चाँबी राख्ने गरेका हुन्।

मन्दिरबाट सङ्कलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रङ्गरोगन, बसाहा थान धाराको ढल निकास ९जेसिभी प्रयोग०, भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगलगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए।

प्राकृतिकरुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन्। हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन्।

मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ।  रासस


प्रकाशित : शनिबार, फागुन १४ २०७८०७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend