काठमाडौं- करोडौँ रुपैयाँ करछली गरेको आरोप खेप्दै १६ वर्षदेखि बन्द अवस्थामा रहेको श्री डिष्टिलरी लिमिटेड अहिले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने चरणमा पुगेको छ।
लामो समय विवादित भएको उद्योगले कुल ६० लाख कित्ता सेयरमध्ये १६ प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।
उद्योगले अहिले ऋणमुक्त भएको दाबी गरे पनि विगतमा नतिरेको कर, अघिल्लो व्यवस्थापनमाथिका मुद्दा र वित्तीय नतिजाको अस्थिरता लगानीकर्ताका लागि ठूलो चुनौती बन्न सक्ने देखिन्छ।
आईपीओ प्रयोजनका लागि कम्पनीले सन् २०२२ मा प्राइभेटबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ।
सन् १९८६ मा उद्योगपति मथुराप्रसाद मास्केले श्री डिष्टिलरीको स्थापना गरेका थिए। २०५५ सालमा देशकै सबैभन्दा बढी कर बुझाएको भन्दै पुरस्कृत यो उद्योगले त्यसपछिको वर्षदेखि करछली गरेको अभिलेखमा उल्लेख छ।
मदिरा उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ नष्ट भएको देखाएर करछली गरेको भन्दै उद्योगमाथि करिब ८७ करोड २९ लाख ७९ हजार रुपैयाँ नतिरेको आरोप लागेको थियो।
विस २०५८ मा मुद्दा दायर भएपछि आन्तरिक राजस्व विभागले छानबिन अघि बढायो। २०६१ सालमा कर असुल गर्ने निर्णयसँगै उद्योग बन्द भयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आन्तरिक राजस्व विभागलाई कारबाही गर्न आदेश दिँदै मथुरा मास्के र उनकी पत्नीको सम्पत्ति रोक्का गरेको थियो। त्यसैक्रममा २०६१ पुस २३ गते मास्केको सबै चलअचल सम्पत्ति राज्यले रोक्का गर्यो।
आन्तरिक राजस्व कार्यालय भरतपुरले ५० हजार क्विन्टल खुदो हिनामिना गरी २ लाख ४६ हजार बाकस उच्च गुणस्तरको मदिरा उत्पादन गरेको ठहर गर्दै कर, जरिवाना र ब्याजसहित ८७ करोड २९ लाख ७९ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको थियो। साथै मथुरा मास्केलाई ६ महिनाको कैद सजाय तोकिएको थियो।
मास्केको २०७० साल असार १० गते निधनपछि उद्योग लामो समय बन्द रह्यो। पछि २०७३ सालमा उद्योगी धिरजजंग कार्की र क्याप्टेन रामेश्वर थापाले उद्योग किने। उनीहरूले ९० प्रतिशत स्वामित्व लिए भने बाँकी १० प्रतिशत सनत न्यौपानेलाई दिइएको थियो। उद्योग बिक्री प्रक्रियामा पनि अर्बौँ कर नतिरी ‘सेटिङ’मार्फत हातबदल भएको आरोप त्यतिबेला उठेको थियो।
१६ वर्ष बन्द रहेपछि श्री डिष्टिलरी २०७७ सालमा पुनः सञ्चालनमा आयो। नयाँ व्यवस्थापनले उद्योगलाई पुनरुत्थान गर्ने घोषणा गर्यो। हाल उद्योगको स्वामित्व क्याप्टेन रामेश्वर थापा, धिरजजंग कार्की र सनत न्यौपानेसँग छ। थापा जलविद्युत, एयरलाइन्स र मिडिया क्षेत्रमा पनि संलग्न छन्।
नवलपरासीको अरुण खोलामा करिब १० विगाह जमिनमा फैलिएको यो उद्योगसँग डिस्टिलरी र स्प्रिट उत्पादन गर्ने इजाजतपत्र छ। उद्योगसँग वार्षिक ४८ लाख ६० हजार लिटर मदिरा उत्पादन क्षमता रहेको दाबी गरिएको छ। हाल उद्योगले ७० युपी क्षमताको मदिरा उत्पादन गर्दै आएको छ भने ४०, ३० र २५ युपीका ब्रान्ड बजारमा ल्याउने तयारीमा छ।
श्री डिष्टिलरीसँग १४ भन्दा बढी ब्रान्ड छन्। प्रमुख ब्रान्डमा किंग्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, गोर्खाली रम, बन्ड ब्ल्याक लेबल, ओएसीस एक्स्ट्रा ड्राइ, श्री स्पेशल नम्बर वान, दुधिया स्पेशल, बुलेट, सगुन लगायत छन्। हाल कम्पनीले प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, जोश र स्पेशल नम्बर वान उत्पादन गर्दै आएको छ। निकट भविष्यमा ओएसीस, अल्फा ब्लु र बन्ड ब्ल्याक लेबल पुनः बजारमा ल्याउने तयारीमा छ।
कम्पनीको प्रमुख प्रिमियम ब्रान्ड माउन्ट एभरेस्ट ह्विस्की जर्मनीमा निर्यात भइरहेको छ भने किंग्स प्राइडसमेत विदेशी मदिरासँग प्रतिस्पर्धा गर्ने उत्पादन मानिन्छ।
