सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नक्कली पुर्जा देखाएर जग्गा बैना गर्दै ३३ लाख ठगी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १२ २०७८
नक्कली पुर्जा देखाएर जग्गा बैना गर्दै ३३ लाख ठगी

काठमाडौं- नक्कली पुर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी ३३ लाख रूपैयाँ ठगी गरेका छन्। ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका-११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना ३५ लाख रूपैयाँमा दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेका छन्।

पीडितलाई जग्गाको पुर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा पास गरिदिन्छु भन्दै आश्वासन दिएर ३३ लाख रूपैयाँ लिएर जग्गा बैनाको कागज बनाएको खुल्न आएको कुँवरले बताए।

तोकिएको समयमा जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुलेपछि मात्रै पीडितले ठगीमा परेको थाहा पाएका थिए। पीडितले उजुरी दिएपछि महाशाखाले बुढाथोकीलाई पक्राउ गरेको हो। उनले अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनी नक्कली कागज बनाएर ठगी गरेको पाइएको छ। बुढाथोकीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ।  


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend