सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एक करोड खर्चेर बनाइएको वायु ऊर्जा आयोजना १५ वर्षदेखि अलपत्र

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
एक करोड खर्चेर बनाइएको वायु ऊर्जा आयोजना १५ वर्षदेखि अलपत्र

पर्वत- पर्वतको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ। महाशिला गाउँपालिका-६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो।

विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय-समयमा मर्मतसम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ। केन्द्रबाट विद्युत् उत्पादन त भएको छैन त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयवासीले मर्मत गर्न माग गरेका छन्।

दैनिकजसो बढ्दै गएको विद्युत्को मागलाई पूर्ति गर्नका लागि स्थानीय बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हुन्। विसं २०६३ मा सो केन्द्र नै बन्द भएको थियो। टिटीबिजी नामक संस्थाले एक करोड रूपैयाँभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजान निर्माण गरेको थियो। तर संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय शिक्षक गोविन्द विश्वकर्माले बताए। केही उपकरण अझै पनि प्रयोग गर्न मिल्ने भएकाले सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।

समुद्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाडाँमा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो। फलामखानी, भँगरालगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए। 

त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन्। हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने जनाइएको छ। उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सम्बन्धित पालिका तथा ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको छ। 

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक प्रतिवेदन अनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ। उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो। वायु ऊर्जा आयोजना पुनःनिर्माण गर्न सकेमा फलमखानी करिब ४ सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासीको भनाइ छ।

महाशिला गाउँपालिकाले वायु ऊर्जा आयोजनालाई व्यवस्थापन गर्ने योजना बनाएको छ। यसका बारेमा अध्ययन गरी पुनः सञ्चालन गर्ने वा त्यहाँ भएका उपकरणहरूको व्यवस्थापनबारे निर्णय गरिने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए। रासस


प्रकाशित : बुधबार, फागुन ११ २०७८०७:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend