मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

धितोपत्र बोर्डले अग्राधिकार सेयर निष्कासनका लागि कानूनी बाटो खोलेसँगै बैंकहरूको पुँजीकोषको समस्या समाधान हुने

सोमबार, असार २३ २०८२
धितोपत्र बोर्डले अग्राधिकार सेयर निष्कासनका लागि कानूनी बाटो खोलेसँगै बैंकहरूको पुँजीकोषको समस्या समाधान हुने

काठमाडौं- नेपाल धितोपत्र बोर्डले  धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको बाटो खोलिदिएपछि बैंक तथा वित्तीय संस्थामा देखिरहेको प्राथमिक पुँजीकोष अनुपातको दबाब कम हुने भएको छ। 

राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थाहरुको प्राथमिक पुँजीकोषको अंग हुनेगरी अग्राधिकार सेयर जारी गर्नेसक्ने व्यवस्था गरेपनि धितोपत्र बोर्डले कानूनको अभाव रहेको भन्दै लामो समयसम्म रोकेको थियो।

बैंकहरुले जारी गर्ने अग्राधिकार सेयर संस्थापक लगानीकर्ता र संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने तर सर्वसाधारण लगानीकर्ताले खरिद गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेपछि धितोपत्र बोर्ड अनिर्णित भएको थियो। 

सर्वसाधारणलाई खरिद गर्न नपाउने कुनै पनि सार्वजनिक निष्कासन धितोपत्र बोर्डले जारी गर्ने अनुमति दिन नमिल्ने भन्दै निर्देशिका संशोधन गर्नुपर्ने बताउँदै आएको थियो। 

अग्राधिकार सेयर जारी गर्न अनुमति नदिए बैंकहरु पुँजीकोषको ठूलो समस्यामा पर्ने भन्दै बोर्डको सञ्चालक समितिभित्र राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकले उठाएपछि धितोपत्र बोर्डले अन्तत: निर्देशिका संशोधन गरेर अग्राधिकार सेयर निष्कासनको बाटो खोलेको हो।

हाल राष्ट्र बैंकबाट बोर्डको सञ्चालक समितिमा कार्यकारी निर्देशक रेवतिप्रसाद नेपालले प्रतिनिधित्व गरिरहेका छन्। 

बढ्दो खराब कर्जा र प्रोभिजनिङका कारण बैंक तथा वित्तीय संस्थाहरुको प्राथमिक पुँजीकोष अनुपातमा उच्च दबाब छ। यही दबाब कम गर्न भन्दै राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामा बैंकहरुले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्नसक्ने व्यवस्था गरेको थियो। 

बैंकले असञ्चिति सेयर जारी गर्नका लागि विभिन्न १२ सर्त राष्ट्र बैंकले अगाडि सारेको छ। बैंक वित्तीय संस्थाहरुले भुक्तानी अवधि तोक्न नपाउने, संस्थापक तथा संस्थागत लगानीकर्ताले मात्रै सेयर खरिद गर्न पाउने, सम्बन्धित बैंक स्वयंले जारी गर्नुपर्ने र सेयरमा कुनै पनि सुरक्षण राख्न नपाउने व्यवस्था गरेको छ। 

अग्राधिकार सेयर जारी गर्दा लाभांश वितरण गर्ने वा नगर्ने भन्ने अधिकार सम्बन्धित बैंक वित्तीय संस्थाहरुका लागि हुने र लाभांशको दर विवतरणपत्रमा स्पष्टरुपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ। 

साथै अग्राधिकार सेयर लगानीकर्तालाई सम्बन्धित वर्षको नाफाबाट मात्रै लाभांश वितरण गर्नुपर्ने, घाटा भएको वर्ष लाभांश वितरण गर्न नपाइने र संस्थाको सञ्चित कोष वा कुनै पनि कोषबाट लाभांश वितरणमा रोक लगाइएको छ। 

राष्ट्र बैंकले अग्राधिकार सेयरलाई प्राथमिक पुँजीकोषमा समायोजन गर्न दिने व्यवस्था गरेको छ तर यसका लागि ५.१२५ प्रतिशतको ट्रिगर बिन्दु तोकेको छ।

बैंकहरुको प्राथमिक पुँजीकोष घटेर ट्रिगर पोइन्ट ५.१२५ प्रतिशत बिन्दुभन्दा कम भएमा जारी अग्राधिकार सेयरलाई प्राथमिक पुँजीमा समायोजन गर्न पाइने सुविधा राष्ट्र बैंकले दिएको छ।

इजाजतपत्र संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा निहित जोखिम तथा ट्रिगर बिन्दुपश्चात हुने अपेक्षित परिणामबारे प्रष्टरुपमा खुलाएर 'रिक्स डिसक्लोजर स्टेटमेन्ट' तयार पार्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यस्तै संस्था खारेजी परेको अवस्थामा अग्राधिकार सेयर लगानीकर्ताको भुक्तानी साधारण सेयरभन्दा अगाडि भएपनि पूरक पुँजीकोषमा समावेश भएका नियामकीय पुँजी उपकरणहरु, निक्षेपकर्ता एवं साधारण साहुको दायित्वपछि मात्रै हुनेलगायतको व्यवस्था गरिएको छ। 

अग्राधिकार सेयरसम्बन्धी सम्पूर्ण सर्तहरु पालना गर्दै कामना सेवा विकास बैंक र नबिल बैंकले राष्ट्र बैंकबाट अनुमति पाएर धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन्। 

यस्तै सिद्धार्थ बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंकलगायतका वाणिज्य बैंकहरु अग्राधिकार सेयर निष्कासनको तयारीमा छन्।

यस्तै धितोपत्र बोर्डले अग्राधिकार सेयर निष्कासनका लागि अनुमति दिएसँगै पुँजीकोषमा दबाब रहेका वाणिज्य बैंकहरु कुमारी बैंक र हिमालयन बैंकलाई पनि विशेष राहत पुग्ने देखिएको छ। हिमालयन बैंक १५७ रुपैयाँका दरले करिब ९६ लाख कित्ता एफपीओसमेत निष्कासन गर्ने तयारीमा छ। यसका लागि बैंकले धितोपत्र बोर्डबाट स्वीकृतिसमेत पाइसकेको छ। 


प्रकाशित : सोमबार, असार २३ २०८२२०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend