मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

इजरायल-इरान द्वन्द्वपछि तेलमा 'चीन-इरान गोप्य सम्बन्ध'बारे विश्वभर बढेको चासो

सोमबार, असार १६ २०८२
इजरायल-इरान द्वन्द्वपछि तेलमा 'चीन-इरान गोप्य सम्बन्ध'बारे विश्वभर बढेको चासो

अमेरिकाले इरानको तेलमा प्रतिबन्ध लगाएको छ। यद्यपि चीनले यी प्रतिबन्धहरूलाई 'अवैध र एकपक्षीय' भनेको छ। चिनियाँ भन्सार तथ्यांकले जुलाई २०२२ देखि इरानबाट कुनै पनि तेल आयात भएको औपचारिक रूपमा रेकर्ड गरेको छैन।

काठमाडौं- यही जुन १३ मा इजरायल र इरानबीचको द्वन्द्व सुरु भएदेखि नै इरानसँग चीनको अपारदर्शी सम्बन्धले सबैको ध्यान खिचेको छ। यसपछाडिको एउटा प्रमुख कारण इरानको तेलको प्रमुख खरिदकर्ता चीन हो।

अमेरिकाको तर्क छ, चिनियाँ ग्राहकहरूले यसरी 'इरानी शासनलाई आर्थिक जीवनदान' प्रदान गरेको छ। पश्चिमी मिडियाले इरानको कच्चा तेल निर्यातको ९० प्रतिशत चीनमा जान्छ भनिरहेका छन् भने चिनियाँ मिडिया यो सम्पूर्ण विषयमा मौन छन्।

इरानबाट चीनले कति तेल आयात गर्छ भन्नेबारे कुनै भरपर्दो स्रोत छैन। यसमा सबैका अनुमान फरक-फरक छ। तर मिडिया रिपोर्टहरूले यसलाई १० देखि १५ प्रतिशतको बीचमा राखेका छन्।

हालै समाचार एजेन्सी रोयटर्सले चीनले आफ्नो कुल तेलको १३.६ प्रतिशत इरानबाट आयात गर्ने रिपोर्ट सार्वजनिक गरेको छ। केही अन्य मिडिया रिपोर्टहरूले पनि चीनको ५० प्रतिशत तेल हर्मुज मार्गबाट जाने गरेको बताउँछन्। यद्यपि यसमा इराक र कुवेतजस्ता देशहरूबाट हुने आयात पनि समावेश छ।

इरानबाट तेल आयात गर्ने बारेमा चिनियाँ अधिकारीहरू आजसम्म मौन बसेका छन्। आधिकारिक रूपमा चीनले इरानबाट कुनै पनि तेल आयात गर्दैन।

अमेरिकाले इरानको तेलमा प्रतिबन्ध लगाएको छ। यद्यपि चीनले यी प्रतिबन्धहरूलाई 'अवैध र एकपक्षीय' भनेको छ। चिनियाँ भन्सार तथ्यांकले जुलाई २०२२ देखि इरानबाट कुनै पनि तेल आयात भएको औपचारिक रूपमा रेकर्ड गरेको छैन।

ब्लूमबर्गले २०२४ मा एक रिपोर्टमा इरानी तेलको ठूलो हिस्सा मलेसियाबाट आएको जस्तोगरी प्रस्तुत गरेको थियो। यो त्यही जटिल नेटवर्कको हिस्सा हो जहाँ इरानी कच्चा तेल पुराना ट्यांकरहरूको फ्लिटमार्फत उत्तरी चीनमा निजी स्वामित्वमा रहेका रिफाइनरीहरूमा गोप्य रूपमा ढुवानी गरिँदै थियो।

जुन २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सोसल मिडियामा इजरायल-इरान युद्धविरामपछि चीनले इरानबाट 'तेल किन्न जारी राख्न सक्छ' भन्ने बताएका थिए।

जुन २५ मा चीनको विदेश मन्त्रालयलाई यस विषयमा प्रश्न सोध्दा मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनले 'देशको राष्ट्रिय हितमा आधारित ऊर्जा सुरक्षासम्बन्धी उपायहरू लिने' बताएका थिए।

जुन २७ मा फेरि के चीनले 'इरानबाट तेल आयात गर्न थालेको छ?' भनेर गरिएको सञ्चारमाध्यमको प्रश्नमा गुओ जियाकुनले फेरि 'राष्ट्रिय हित' को कुरा दोहोर्‍याएका थिए।

इजरायलसँगको द्वन्द्वका बीचमा इरानले होर्मुज मार्ग बन्द गर्ने धम्की दिएको थियो। केही दिनअघि फारसको खाडी र महासागरभन्दा बाहिरको तेल आयातको प्रमुख मार्ग होर्मुजको महत्त्वको बारेमा सोध्दा गुओ जियाकुनले चिनियाँ सन्दर्भको सट्टा अन्तर्राष्ट्रिय सन्दर्भमा जवाफ दिएका थिए।

चिनियाँ मिडियामा के भनिएको छ?

बीबीसी मनिटरिङले जुन १३ देखि प्रमुख चिनियाँ राज्य सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरू ट्रयाक गर्‍यो। यस समयमा चिनियाँ मिडियामा इरानको हर्मुज मार्ग बन्द गर्ने धम्की र तेलको मूल्यको बारेमा धेरै छलफल भयो।

प्रमुख चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले विश्वको २० प्रतिशत तेल हर्मुजबाट जाने रिपोर्ट गरेका छन् तर त्यसको कति भाग चीनमा जान्छ भनेर कुनै पनि रिपोर्टमा उल्लेख गरेको छैन।

जहाँ चीनले व्यापारको कुरा गर्छ त्यहाँ इरानको सट्टा खाडी देशहरू वा खाडीबाट हुने आयातलाई जनाउँछ। जहाँ यसको प्रभावको बारेमा छलफल गरिन्छ त्यहाँ चीनलाई प्रायः अन्य क्षेत्रीय अर्थतन्त्रहरू जस्तै जापान, दक्षिण कोरिया र भारतसँगै उल्लेख गरिन्छ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले चीनको लागि यसको प्रभावलाई कम आँकलन गर्दै लेखेको छ, ‘पश्चिमी टिप्पणीकारहरूले हर्मुजको सम्भावित नाकाबन्दीको तथाकथित जोखिमहरूलाई चीनको ऊर्जा सुरक्षासँग जोडेर बढाइचढाइ गरिरहेका छन्।’ उक्त पत्रिकाले चीनले पहिले नै आफ्नो आयातलाई विविधीकरण गरिसकेको र आफ्नो भण्डारलाई बलियो बनाएको तर्क गरेको छ।


प्रकाशित : सोमबार, असार १६ २०८२१६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend