काठमाडौं- इरान-इजरायल युद्धले विश्वको तेल बजारमात्र होइन समग्र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा गहिरो असर पार्ने संकेत देखिएको छ। युद्धले इन्धनको मूल्यवृद्धि, आपूर्ति श्रृंखलामा अवरोध, मुद्रास्फीतिको चाप, वित्तीय बजारमा अस्थिरता र अन्तर्राष्ट्रिय व्यापारमा गिरावट ल्याउने संकेत देखिएको छ।
युद्ध तत्काल रोकिने अवस्था देखिएको छैन। अन्तर्राष्ट्रिय समुदायले समयमै संयम र हस्तक्षेपका माध्यमबाट नियन्त्रणमा लिन सकेनन भने यो द्वन्द्वले केवल एउटा भूभाग होइन समग्र विश्व आर्थिक संरचनामा संकट निम्त्याउनेछ।
युद्धको केन्द्रमा रहेको होर्मुजको खाडीमार्फत विश्वको झन्डै २० प्रतिशत कच्चा तेलको ढुवानी हुन्छ। यो मार्ग इरानको सामरिक प्रभावमा पर्छ। पछिल्ला आक्रमण र प्रतिआक्रमणबीच यो जलमार्ग असुरक्षित बन्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ४.४ प्रतिशत र डब्लूटीआईको मूल्य ४.३ प्रतिशतले उक्लिएको छ। यो वृद्धिसँगै ब्रेन्टको मूल्य ७६.४५ डलर र डब्लूटीआईको मूल्य ७४.८४ डलर प्रतिब्यारेल पुगेको छ। विश्लेषकहरूले निकट भविष्यमै मूल्य एकसय डलर पार गर्ने प्रक्षेपण गरेका छन्।
तेल मूल्यवृद्धिको असर विश्वभर पर्नेछ। आयातमा निर्भर रहेका विकासशील मुलुकहरूमा विशेषगरी असर बढी देखिनेछ। इन्धन महँगो हुँदा ढुवानी, कृषि, निर्माण, हवाई उडान तथा उपभोग्य वस्तुको उत्पादन लागतसमेत बढ्नेछ। यसले क्रमशः मुद्रास्फीतिको दबाब सिर्जना गर्नेछ। महामारीपछिको पुनःस्थापना प्रक्रिया प्रारम्भिक चरणमै रहेको बेला पुनः एकपटक मूल्यवृद्धिको लहर आउने सम्भावना उच्च छ।
युद्धको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन। विश्वभरका पुँजी बजारमा पनि यसले अस्थिरता ल्याएको छ। लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित भइरहेका छन्। सुन, चाँदी, अमेरिकी डलर र स्विस फ्रान्कमा लगानीको चाप बढेको देखिन्छ भने सेयर बजारमा गिरावट आएको छ। लगानीको प्रवाह घट्दा विकासशील राष्ट्रमा प्रत्यक्ष वैदेशिक लगानी घट्ने सम्भावना बढेको छ। यसले रोजगार सृजना, औद्योगिक विस्तार तथा पुँजी निर्माणमा अवरोध पुर्याउन सक्छ।
युद्ध लम्बिँदै जाँदा आपूर्ति श्रृंखला पनि धरापमा पर्ने देखिन्छ। होर्मुज खाडी, सुएज नहर र रेड सागरजस्ता संवेदनशील जलमार्ग असुरक्षित बन्दै जाँदा कच्चा पदार्थ र अन्य रणनीतिक वस्तुको ढुवानीमा अवरोध आउन सक्छ। यसले उद्योगहरूमा कच्चा पदार्थको अभाव, ढुवानी लागतमा वृद्धि र समयमै सामग्री नपुग्ने समस्यासहित उत्पादन प्रक्रियामा गम्भीर प्रभाव पार्न सक्छ।
मूल्यवृद्धिका साथै युद्धले वित्तीय चापसमेत सिर्जना गरिरहेको छ। विश्वभरको मौद्रिक नीति युद्धको असरसँग जुध्न विवश हुनेछ। अमेरिकी डलरको माग बढ्ने क्रममा अन्य मुलुकका मुद्रामा अवमूल्यनको सम्भावना देखिन थालेको छ। यसले आयात महँगो बनाउनेछ, जसको असर नेपाल, भारत, पाकिस्तानजस्ता मुलुकमा झन चर्को हुन सक्छ।
युद्धको मानवीय असरहरू पनि गहिरिँदै छन्। इरान र इजरायल दुवै देशमा सयौँ नागरिकको मृत्यु भइसकेको छ। हजारौँ शरणार्थी बन्ने जोखिम बढेको छ। यदि द्वन्द्व फैलिँदै गयो भने युरोप, टर्की, अफगानिस्तान हुँदै शरणार्थीको लहर बढ्न सक्छ। यस्ता मानवीय संकट व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको चाप बढ्नेछ र राष्ट्रहरूको आर्थिक स्रोत पनि पुनः सुरक्षा र राहतमा खर्चिनुपर्ने अवस्था आउनेछ।
तेलमा निर्भर मुलुकहरूको सन्दर्भमा नेपाललाई हेर्दा वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भइरहेको छ। युद्धको कारण मूल्यवृद्धि हुँदा नेपालमा भाडादर, खाद्यान्न मूल्य तथा समग्र उपभोग्य वस्तुहरूको मूल्यमा वृद्धि हुनेछ। यसले सर्वसाधारणको जीवनस्तर, उत्पादन लागत र सरकारी बजेटमा समेत चाप ल्याउनेछ।
‘छाया लडाइँ’ बाट खुला भिडन्ततर्फ
इरान र इजरायलबीचको शत्रुता नयाँ होइन। विगत दुई दशकदेखि यिनको सम्बन्ध ‘छाया युद्ध’, साइबर आक्रमण, आणविक कार्यक्रम नियन्त्रण र क्षेत्रीय प्रभाव विस्तारमा केन्द्रित रहँदै आएको थियो।
सिरियामा इरान समर्थित मिलिसिया समूहहरू र इजरायली हवाई हमलाबीच समय-समयमा झडप हुने गरेका थिए। तर पछिल्लो घटनाक्रमले यस पुरानो तनावलाई खुला युद्धमा परिणत गरिदिएको छ। गत हप्ता इजरायलले दमास्कसनजिक इरानी सैन्य पोस्टमाथि हमला गरेपछि इरानले इजरायली भूमिमै पहिलोपटक प्रत्यक्ष मिसाइल प्रहार गरेको थियो।
इरानले राजधानी तेलअभिव, हाइफा, पेताह टिक्वा लगायतका प्रमुख सहरहरूमा ५ सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र सशस्त्र ड्रोन प्रहार गरिसकेको छ। इजरायलको ‘आयरन डोम’ प्रणालीले अधिकांश रोक्न सफल भए पनि केही मिसाइलहरूले घातक क्षति पुर्याएका छन्।
इजरायलले पनि प्रतिआक्रमण गर्दै तेहरानस्थित राष्ट्रिय टेलिभिजन भवन, मिसाइल भण्डारण केन्द्रहरू तथा नताञ्जस्थित भूमिगत आणविक प्रतिष्ठानमा सीधा हवाई हमला गरेको छ। यस भिडन्तमा हालसम्म इरानमा २५० भन्दा बढी, इजरायलमा ८ नागरिकको मृत्यु, सयौँ घाइते र थुप्रै संरचनात्मक क्षति भएको रिपोर्ट आएको छ।
तेहरानमा इजरायली आक्रमणको क्रममा राष्ट्रिय टेलिभिजन प्रत्यक्ष प्रसारण भइरहेको बेला नै बम आक्रमण भएको दृश्य सार्वजनिक भएपछि युद्धले सूचना क्षेत्रमै पनि धक्का पुर्याएको छ।
दुवै देशमा बंकर र आश्रयस्थलहरूमा लुकेर बसेका हजारौँ नागरिकहरू भय र भ्रमबीच जीवन कटाइरहेका छन्। इरानका केही क्षेत्रमा इन्टरनेट, विद्युत सेवा अवरुद्ध भएको छ।
अमेरिका र जी-७ बीच तनाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्नुभन्दा अघि इरानलाई स्पष्ट सन्देश दिएका छन्, ‘तेहरान खाली गर’। ट्रम्पले हालै सम्पन्न जी-७ शिखर सम्मेलन नै त्याग्दै मध्यपूर्व संकटमा आफ्नो ध्यान केन्द्रित गरेका छन्।
जी-७ राष्ट्रहरू, संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, चीन, भारतजस्ता क्षेत्रीय शक्तिहरूले युद्धको अन्त्यको आह्वान गरेका छन् तर हालसम्म दुबै देश वार्ता वा युद्धविरामको मुडमा देखिएका छैनन्।