बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रतिपक्षी र सरकारबीचको विवादले बजेट प्रस्तुत गर्ने दिन नै बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

आइतबार, असार १ २०८२
प्रतिपक्षी र सरकारबीचको विवादले बजेट प्रस्तुत गर्ने दिन नै बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

कर्णाली प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र खत्रीले विवाद सुल्झाउन कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसकेको जानकारी दिए।

कर्णाली- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने दिन आज प्रदेशसभाको बैठक बस्न सकेको छैन। कर्णालीमा सरकार र प्रतिपक्षबीचको विवादले आज दिउँसो ३:०० बजे बस्ने भनिएको प्रदेशसभाको बैठक बस्न नसकेको हो।

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आयोजना बैंक नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको बताए। मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्य जिल्लाको योजनासमेत आफैले पेस गरेको पाइएको उनको भनाइ छ।

प्रमुख सचेतक जिसीले भने, 'सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याएको छ। आयोजना बैंकका नाममा ल्याएको यो बजेट अपारदर्शी छैन, आयोजना बैंकमा के-कस्ता योजना छन् भन्नेबारे समेत थाहा छैन।'

प्रमुख प्रतिपक्षी दललाई थाहा नदिएर ल्याइएको बजेटले ‘अवैध र चोर बाटो’ अँगालेको मात्र नभइ आग्रह-पूर्वाग्रहपूर्ण तरिकाले आफ्ना योजनामात्र समावेश गर्ने गरेको उनको आरोप छ।

कर्णाली प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र खत्रीले विवाद सुल्झाउन कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसकेको जानकारी दिए। अब प्रतिपक्षी दल र सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वबीचको छलफलबाट निकास निस्कने उनले विश्वास व्यक्त गरे। 


प्रकाशित : आइतबार, असार १ २०८२१८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend