बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

चार वर्षदेखि अलपत्र सोती आयोजना, विहादीका तीनसय परिवार खानेपानीबाट वञ्चित

आइतबार, असार १ २०८२
चार वर्षदेखि अलपत्र सोती आयोजना, विहादीका तीनसय परिवार खानेपानीबाट वञ्चित

योजना सम्पन्न नहुँदा पिउने पानीका लागि गाउँलेहरू टाढाटाढाका कुवा र खोलाको पानीमा भर पर्नुपरेको छ।

पर्वत- बजेट अभावका कारण दक्षिण पर्वतको विहादी गाउँपालिका-२ बर्राचौरमा निर्माणाधीन सोती लिफ्टिङ खानेपानी योजना अधुरै रहेको छ। विकट गाउँका जनतालाई पिउने पानीको सुविधा पुर्‍याउने उद्देश्यले निर्माण थालिको योजना बजेट अभावका कारण चार वर्षदेखि अलपत्र छ।

गण्डकी प्रदेश सरकारको चार करोड रूपैयाँ लागतमा बहुवर्षीय खानेपानी योजना निर्माण सुरु भएको थियो। तीनसय घरपरिवारलाई खानेपानी उपलब्ध गराउने लक्ष्यसहित आर्थिक वर्ष २०७७/७८ देखि निर्माण सुरु भए पनि पर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र बनेको र बनेका संरचनासमेत जीर्ण बन्दै गएको विहादी गाउँपालिका-२ का अध्यक्ष गणेश शर्मा पौडेलले बताए।

दुई वर्षमा सम्पन्न हुने भनिएको खानेपानीको योजना वर्षौँ लाग्दा पनि सम्बन्धित निकायले बजेट विनियोजनमा बेवास्ता गरेको उनको भनाइ छ।

योजना सम्पन्न नहुँदा पिउने पानीका लागि गाउँलेहरू टाढाटाढाका कुवा र खोलाको पानीमा भर पर्नुपरेको छ। चैतदेखि यता भएका पानीका स्रोत पनि सुकेपछि पिउने पानी लिन दुई घण्टा धाएर कालीगण्डकी किनारमा जानुपर्ने बाध्यता रहेको अध्यक्ष शर्मा पौडेलको भनाइ छ।

खानेपानी योजना पूरा नहुँदा वडा नं २ का गैरे, सातविसे, शेरा, ठौवा, बासकोट, कर्मीथर, आरनटोल, उपल्लो बर्राचौर, तल्लो बर्राचौरलगायत क्षेत्रमा पानीको हाहाकार छ।

शेरा टोलकी लीलाकुमारी नेपालीले खानेपानीको हाहाकारले सकस भएको बताइन्। घरमा पालेका बाख्रा, भैँसी, बङ्गुर र राँगोलाई पानी खुवाउन पनि समस्या भएको उनको भनाइ छ। उनले भनिन्, 'एक गाग्री पिउने पानीका लागि एक घण्टा लगाएर भूपेखोला धाउनुपरेको छ।'

खानेपानी योजनाअन्तर्गत निर्माण गरिएका एक रिजर्भ ट्यांकी र छवटा शाखा ट्यांकी लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन्। बिछ्याइएका पाइप लाइन कच्ची सडक खन्ने क्रममा क्षतविक्षत भएका छन्। ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत केही परिवारका धारा निर्माण गरिए पनि पानी आएको छैन।

बस्तीभन्दा तल कालीगण्डकी किनार नजिकै खानेपानी स्रोतबाट एकसय घनमिटरको ट्यांकी निर्माण गरिएको छ भने ५० घनमिटर बराबरका पाँच ट्यांकी निर्माण गरी छोडिएका छन्। खानेपानी योजनाको प्रमुख पाइपलाइन र शाखा पाइपलाइन विस्तारको काम पनि पूरा गरिएको छैन।

निर्माणको ठेक्का सम्झौता लिएका निर्माण व्यावसायी गिरिजाप्रसाद तिवारीले खानेपानी योजनाको काम ५० प्रतिशत पूरा गरेको बताए। बजेट विनियोजन नभएका कारण योजना पूरा गर्न नसकिएको उनको भनाइ छ।

अहिलेसम्म दुई करोड रूपैयाँभन्दा बढी रकम खर्च गरिसकेको खानेपानी योजनालाई अर्थाभावका कारण पूरा गर्न नसकिएको गुनासो खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोति कुँवरको छ। प्रदेशको खानेपानी मन्त्रालयले बर्सेनि पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको हो।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले योजनाको लागत धेरै, विनियोजित बजेट कम हुँदा समयमै पूरा हुन नसकेको बताए। उनका अनुसार चालु आव २०८१/८२ मा २० लाख रूपैयाँ विनियोजन भएको थियो। आगामी आव पूरा गर्नेगरी बजेट विनियोजन गर्न माग गरिएको छ। रासस


प्रकाशित : आइतबार, असार १ २०८२११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend