बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल बैंकर्स संघद्वारा गभर्नर अधिकारीको विदाइ तथा डा. पौडेलको स्वागत

शनिबार, जेठ ३१ २०८२
नेपाल बैंकर्स संघद्वारा गभर्नर अधिकारीको विदाइ तथा डा. पौडेलको स्वागत

नेपाल बैंकर्स संघले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई विदाइ तथा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत गरेको छ।

काठमाडौं- नेपाल बैंकर्स संघले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई विदाइ तथा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत गरेको छ।

कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै कोभिड–१९ महामारीको कठिन समय सम्झिए। त्यस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि बैंकहरूले देखाएको संयम र नेतृत्वप्रति धन्यवाद दिंदै उनले अर्थतन्त्रको स्थायित्वमा बैंकिङ क्षेत्रको समन्वयात्मक भूमिकाको प्रशंसा गरे। अधिकारीले भने, 'महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि होइन, यो सम्पूर्ण बैंकिङ क्षेत्रको साझा प्रयासको परिणाम हो।'

आफ्नो कार्यकालको अनुभव सुनाउँदै उनले केही निर्णयहरू कठोर भए पनि दीर्घकालीन सुधारका लागि आवश्यक रहेको बताए। विगतका कमजोरीहरूमाथि पुनरावलोकन गर्दै भविष्यमा त्यस्ता गल्तीहरू दोहोरिन नदिन सतर्क रहनुपर्नेमा उनले जोड दिए। साथै, गभर्नर पदबाट बाहिरिएपनि आवश्यक परेमा बैंकिङ क्षेत्रलाई सल्लाह र अनुभवमार्फत सघाउन सधैं तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।

सोही अवसरमा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रलाई अझ सुदृढ, समावेशी र दीर्घकालीन विकासको दिशामा अघि बढाउने संकल्प व्यक्त गरे। उनले भने, 'नेपाल राष्ट्र बैंकका प्रभावकारी नीतिहरूलाई निरन्तरता दिइनेछ, आवश्यक सुधार मात्र त्यहाँ गरिनेछ जहाँ आवश्यकता देखिन्छ।' उनले नीति निर्माणमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शलाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नव नियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, नायब कार्यकारी अधिकृतहरू लगायत बैंकिङ क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।


प्रकाशित : शनिबार, जेठ ३१ २०८२२२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend