काठमाडौं- केही समयअघिसम्म निरन्तर ओरालो लागेको हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य पछिल्लो केही सातायता उकालो लागेको छ। बैंकको घट्दो ब्याजदरका कारण लागत कम हुनुको साथै नाफा बढ्ने देखिएपछि लगानीकर्ता हाइड्रोपावरतर्फ केन्द्रित भएका छन्।
अघिल्लो साता ०.६० प्रतिशतले घटेको हाइड्रोपावर उपसूचक गतसाता ५.५३ प्रतिशतले उकालो लागेको छ। वर्षौंदेखि घट्दो क्रममा रहेका कम्पनीहरूको पनि सेयर मूल्य एकाएक उकालो लागेपछि हाइड्रोपावरमा लगानीकर्ता केन्द्रित भएको देखिएको छ।
हाइड्रोपावर कम्पनीहरूको ब्याज लागत घटेको र विद्युत् उत्पादन उच्च हुँदै गएको अवस्थाले लगानीकर्ताको मनोबल बढाएको छ।
हाइड्रोपावरमा लगानी बढेसँगै सेयर बजारको कारोबार पनि उच्च बनेको छ। गएको बिहीबार एकै दिन १२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। पछिल्लो तीन महिनामा पहिलो पटक कारोबार रकम १२ अर्ब नाघेको हो। यसअघि २०८१ फागुन २० गते १२ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको थियो।
गतसाता लगानीकर्ताको सक्रियता र हाइड्रोपावरको सेयर मूल्यमा देखिएको उछालले पुनः सेयर बजारमा सकारात्मक संकेत देखिएको छ।
यो साता सबैभन्दा बढी पियोर इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा वृद्धिको देखिएको छ। कम्पनीको सेयर ६०.९७ प्रतिशतले उकालो लागेर ८२४.७० रुपैयाँमा पुग्यो। यसपछि बुटवल पावर कम्पनीको सेयर २१.०१ प्रतिशतले बढेर ७६४.८८ रुपैयाँमा कायम रह्यो। जुन मूल्य ४०० रुपैयाँदेखि सुरु भएको वृद्धि अहिले ७६४ रुपैयाँ पुगेको छ।
सिनर्जी पावरको सेयर मूल्य १९.२५ प्रतिशतले बढेर ४३४.६१ रुपैयाँमा पुगेको छ। त्यस्तै रिभर फल्स पावरको मूल्य १८.१४ प्रतिशतले वृद्धि भई ६१९.७५ रुपैयाँमा बन्द भयो। चिलिमे हाइड्रोपावरको सेयर १६.५६ प्रतिशतले वृद्धि भई ५६७.३७ रुपैयाँमा पुगेको छ। युनियन हाइड्रोपावरको सेयर १४.७३ प्रतिशतले बढेर ३६८.०२ रुपैयाँमा कायम भयो। सानिमा माई हाइड्रोपावरको मूल्य १२.५६ प्रतिशतले बढेर ६३५.८४ रुपैयाँमा पुगेको छ।
किन बढ्यो?
केही ठूला संस्थागत लगानीकर्ताले समेत पछिल्लो समय हाइड्रोपावरतर्फ लगानी बढाएका छन्। ब्याजदरमा आएको सहजता, उत्पादन सिजन, लाभांशको सम्भावना, संस्थागत लगानीकर्ताको चासो पनि हाइड्रोपावर क्षेत्रमा देखिन्छ।
लगातारको मूल्य गिरावटपछि धेरै कम्पनीको सेयर 'अन्डर भ्यालु' मा रहेका छन्। पछिल्लो समय ब्याजदर घट्दै गएको छ, जसले परियोजनाको वित्तीय दबाब कम गरेको छ।
बैंकिङ प्रणालीमा करिब ८ खर्ब अधिक लगानीयोग्य रकम रहेपनि अर्थतन्त्रमा कर्जाको माग बढ्न सकेको छैन। कर्जाको माग नबढेकाले बैंकहरुले विगत २ वर्षयता निरन्तररुपमा निक्षेप तथा कर्जाको ब्याजदर घटाउँदै आएका छन्। यस महिना पनि निक्षेपको ब्याजदर घटाउने बैंकहरुको साउनमा थप कर्जाको ब्याजदर घट्ने देखिएको छ।
असारका लागि कुमारी बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले मोबाइल एप्समार्फत गरिने व्यक्तिगत मुद्दती निक्षेपमा प्रोत्साहन गर्न बढी ब्याजदर तोक्दै आएको छ। असारका लागि यस बैंकले ३ देखि ६ महिनाको मुद्दती निक्षेपमा ३.९१ प्रतिशत, ६ देखि १ वर्षसम्मको मुद्दती निक्षेपमा ४.११ प्रतिशत, १ देखि २ वर्षको मुद्दती निक्षेपमा ४.६१ प्रतिशत, २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ५.५१ प्रतिशत ब्याजदर तोकेको छ। यो सँगै कर्जाको ब्याजदर एकल अंकमा आएको छ। यसले पनि लगानीकर्तामा उत्साह थपेको छ।
जलविद्युतमा आधारित कम्पनीहरूको आम्दानी वर्षायाममा नै बढी हुने गर्छ। उत्पादन बढ्न थालेसँगै कम्पनीहरूको नगद प्रवाहमा सुधार आउने अपेक्षाले पनि लगानीकर्तालाई उत्साहित बनाएको छ। यसैका कारण कम्पनीको वित्तीय अवस्था बलियो बन्ने र मुनाफा वितरणको सम्भावना बढ्ने अनुमानका कारण पनि लगानीकर्ता हाइड्रो केन्द्रित भएको अनुमान गरिएको छ।