बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

उद्योग संगठन मोरङको अध्यक्षमा राठी निर्विरोध, नवप्रवर्तन र निकासी प्रवर्द्धनमा जोड

शनिबार, जेठ ३१ २०८२
उद्योग संगठन मोरङको अध्यक्षमा राठी निर्विरोध, नवप्रवर्तन र निकासी प्रवर्द्धनमा जोड

उद्योग संगठन मोरङको अध्यक्षमा नन्द किशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न संगठन ५२ औँ वार्षिक साधारण सभाले राठीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

विराटनगर- उद्योग संगठन मोरङको अध्यक्षमा नन्द किशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न संगठन ५२ औँ वार्षिक साधारण सभाले राठीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

सङ्गठनका १६ औँ अध्यक्षका रूपमा चयन भएका राठीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल चयन भएका छन्। यस्तै, तीन उपाध्यक्षहरूमा सुरेन्द्र गोल्छा (वित्तीय क्षेत्र), विपिन काबरा (कृषि, जलश्रोत तथा ऊर्जा) र सुबोध कोइराला (रोजगारदाता) चयन भएका छन्। कोषाध्यक्षमा पारस लुनियाँ चयन भएका छन्।

समितिका अन्य सदस्यहरूमा दीपक कुमार अग्रवाल, जयेन्द्र कुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, सौरभ शारडा, वीरेन्द्र राठी, प्रतीक राउत, पारस गोल्छा र किरण ब्यास रहेका छन्। यी सबै सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका हुन्।

नव-निर्वाचित अध्यक्ष राठीले नयाँ कार्यसमितिले उद्योगीका मुद्दाहरूलाई थप स्पष्ट र सशक्त रूपमा अघि बढाउने बताए। उनले भन्सार प्रक्रियामा देखिएको जटिलता हटाउन सरकारसँग संवाद बढाइने र युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार, नयाँ कार्यसमिति उद्योग प्रवर्द्धनका क्षेत्रमा विगतको कार्यसमितिभन्दा अझ प्रभावकारी बन्नेछ।

साधारण सभाका अवसरमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा क्रियाशील दुई ठूला उद्योगलाई उत्कृष्ट निकासी उद्योगका रूपमा सम्मानित गरिएको छ। आरती स्ट्रिप्स प्रा.लि. र अरिहन्त अटोकोरोगेशन लिमिटेडलाई उद्योग सङ्गठन मोरङद्वारा अवार्ड प्रदान गरिएको हो।

उद्योग संगठन तत्कालीन अध्यक्ष राकेश सुरानाले आरती स्ट्रिप्सका उपमहाप्रबन्धक जीवन तिम्सिना र अरिहन्त अटोकोरोगेशनका निर्देशक जयस लुनियाँलाई सम्मान प्रदान गरेका थिए। आरती स्ट्रिप्स सादा तथा रङ्गीन जस्तापाता, कर्कटपाता र पाइप उत्पादनमा संलग्न छ भने अरिहन्त अटोकोरोगेशन पेपर, काटुन, लेमिनेट, टिस्यु पेपर र डुप्लेक्स बोर्ड उत्पादन गर्दै ती वस्तुहरू निकासी गर्दै आएको छ। पछिल्ला तीन वर्ष यता अरिहन्त नेपालबाट सबैभन्दा बढी पेपर निकासी गर्ने उद्योग बनेको छ।


प्रकाशित : शनिबार, जेठ ३१ २०८२१६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend