काठमाडौं- एआई र ‘रोबोटिक्स’ प्रविधिको तीव्र विकासले विश्वभर श्रम बजारमा गहिरो प्रभाव पार्न थालेको छ। यसले एकातिर दक्षता, उत्पादकत्व र नाफामा उल्लेखनीय वृद्धि गरिरहेको छ भने अर्कोतर्फ हजारौँ कामदारहरू जागिर गुमाउने जोखिममा परेका छन्।
अनलाइन ग्रोसरी साथै टेक्नोलोजी बिजनेसमा रहेको बेलायती कम्पनी ओकाडोका प्रमुख कार्यकारी टिम स्टाइनरले पछिल्लो आम्दानी विवरण प्रस्तुत गर्ने क्रममा भने, ‘हामीले एआई र रोबोटिक्समा गरेको प्रगतिमार्फत अनलाइन ग्रोसरी अर्डरहरू पूरा गर्न अझ छिटो र सहज भएको छ।'
सन् २०१२ मा विभिन्न ५० वस्तुको अर्डर लिन मानिसलाई २५ मिनेटसम्मको समय लाग्थ्यो तर प्रविधिमा भएको विकाससँगै ओकाडोलाई यसवर्ष पहिलेभन्दा पाँच सय कर्मचारी कम हुँदा पनि सहज भयो।
बेलायतमा ओकाडोले कामदारको रुपमा प्रयोग गरिने जनशक्ति कटौतीमा काम गरिरहेको छ। जुन एउटा उदाहरणमात्र हो। त्यस्ता धेरै कम्पनीले मानिसहरूको रोजगारी घटाइरहेका छन्। एआईजस्ता स्वचालित प्रविधि अपनाउँदै आएका कम्पनीहरूको यस्ता कामले श्रमिकहरूलाई झस्काइरहेको छ। उत्पादन, दक्षता र नाफासमेत बढिरहँदा धेरै कामदार भने विस्थापित भइरहेका छन्।
कम्पनीहरू अझै परिवर्तनको सुरुवातमै छन् तर धेरैले एक वर्षभन्दा बढी समयदेखि एआई प्रयोग गरेर परीक्षणहरू गरिरहेका छन्। लिंक्डइनसँग आबद्ध रहेको अर्थशास्त्री करिन किमब्रगलाई उद्धृत गर्दै फाइनान्सिय टाइम्सले लेखेको छ, ‘अब कम्पनीहरू एआई के हो भनेर सोध्ने अवस्थाबाट अघि बढेर त्यसमा आफैले काम गर्न थालिसकेका छन्, जेनेरेटिभ एआई प्रयोग गरिरहँदा त्यसले कामको स्वरुप नै परिवर्तन गरिरहेको छ।'
नीति निर्माता, कम्पनीका प्रमुखहरू र कर्मचारीहरू मिलेर जेनेरेटिभ एआईका वास्तविक फाइदाहरू के हुन सक्छन् भनेर बुझ्ने प्रयासमा लागिरहेका छन्।
चार्टर्ड इन्स्टिच्युट अफ पर्सनल एन्ड डेभलपमेन्ट (सीआईपीडी) का प्रमुख कार्यकारी पिटर चीज भन्छन्, ‘पछिल्लो समय भइरहेको एआईको विकासले हरेक रोजगारीलाई बदल्न सक्छ। धेरै कम्पनीहरू एआई प्रयोगको सुरुवाती चरणमा रहँदा अहिले नै धेरै कामहरूमा एआईले फरक भने पारिसकेको छ।'
धेरै कम्पनीहरूले आर्थिक र राजनीतिक अनिश्चितताका विभिन्न मुद्दाहरूका कारण पनि रोजगारीमा कटौती गरिरहेका छन्। त्यसमा पनि एआईमा भएको विकासले कामदार कटौतीको संख्या बढिरहेको छ। टेक्नोलोजी कम्पनी आईबीएमदेखि भाषा सिक्ने एप्लिकेसन ड्यूलिङगोसमेत त्यसमा अघि छन्।
एन्थ्रोपिक नामको एआई कम्पनीका प्रमुख डारियो एमोडेइले आगामी पाँच वर्षभित्र कम्पनीहरूको ‘इन्ट्री लेभल जब’ आधा नै कम हुने दाबी गर्छन्। अहिले नै पनि शीर्ष १५ प्रविधि कम्पनीहरूमा नयाँ नियुक्तिको संख्या ७ प्रतिशतमा सीमित भइसकेको छ। बौद्धिक कार्यहरूमा एआईको प्रभाव थप बढिरहेको एमोडेइलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ।
कतिपय भने अहिले एआईको विषयमा डर फैलाउने प्रयास भइरहेको समेत बताउँछन्। श्रम बजारमा एआईको प्रभाव कस्तो छ भन्ने स्पष्ट दृष्टिकोणभन्दा डर ज्यादा रहेको उनीहरू बताउँछन्। कामको प्रकृति, उत्पादन र जनशक्ति समीकरणमा भने प्रभाव परिरहेको उनीहरू स्वीकार्छन्।
पीडब्लूसीका श्रमशक्ति विज्ञ पिटर ब्राउन कुनै पनि क्षेत्र एआईको प्रभावबाट अछुतो नरहेको बताउँछन्। यसमा कसैको भूमिका मेटाउनेभन्दा पनि परिवर्तन गर्नेतर्फ केन्द्रित भएको उनको भनाइ छ।
यस्तोमा एआईले सहयोग गर्न सक्ने भए पनि मानिसबिना काम सम्भव नहुने तर्क ट्रेड युनियनका नेताहरूले दिने गरेका छन्।
च्याटजीपीटीको विकासपछि धेरै कम्पनीहरू एआईको प्रयोग गरेर कामदारको क्षमता अभिवृद्धि गर्ने वा कामदारको संख्या कटौती गर्दै समान उत्पादन कायम राख्ने निर्णयमा पुगिरहेका छन्। गुगल, मेटा, एक्सजस्ता कम्पनीहरू नै कामदार कटौती गर्दै एआईमाथिको निर्भरता बढाउँदै लगिरहेका छन्।
यस्तोमा एआई प्रविधिमा दक्ष रहेका कामदारले भने राम्रो सुविधा पाइरहेका छन्। पीडब्लूसीको हालैको रिपोर्टअनुसार एआईमा दक्ष रहेका कामदारहरूले सन् २०२४ मा औसतभन्दा ५६ प्रतिशत बढी तलब पाएका छन्।
यस्तै एआईको प्रभावमा रहेका उद्योगहरूले प्रतिकामदार आम्दानीमा तीनगुणा वृद्धि गरेको देखाएका छन्। तर दीर्घकालमा यो कति टिकाउ हुन्छ भन्ने प्रश्न भने खडा भएको छ। पीडब्लूसीका अनुसार, एआई प्रभावित रोजगारीहरूको वृद्धि दर ३८ प्रतिशतमात्र छ, जब कि कम प्रभावित कामहरूमा यो ६५ प्रतिशत रहेको छ।
एआईसँग तालमेल नमिलाउने कर्मचारीहरू पछि पर्ने सम्भावना बढ्दै छ। रिपोर्टअनुसार एआईको प्रभावमा रहेका क्षेत्रमा चाहिने सीपहरू छिटो परिवर्तन हुँदैछ, जसले खासगरी मध्यम आयका र साना कम्पनीहरूका कामदारलाई चुनौती दिन सक्छ। एआईले पुराना धेरै काम नियन्त्रणमा लिँदै जान थालेपछि मानिसहरू मानवकेन्द्रित सीपतर्फ समेत सर्दैछन्।
अहिले अर्थतन्त्रको गति नै एआईमा लगानी गर्ने र नगर्ने कम्पनीहरूबीच दुई गतिमा देखापरेको छ। यो विभाजन परम्परागत उद्योगको सीमामा छैन।
चीनजस्ता देशले त एआईको विकाससँगै ‘ह्युमनोइड’ रोबोटमा नै निकै प्रगति गरिसकेका छन्। चीन सरकारले ‘ह्युमनोइड’ रोबोटमा देखिएको यथार्थपरक प्रगतिप्रति गहिरो चासो राखिरहेको छ।
चिनियाँ सरकारले ‘ह्युमनोइड’ रोबोट उद्योगमा पछिल्लो वर्ष २० अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ। चीनले १ खर्ब ३७ अर्ब डलरबराबरको नयाँ स्टार्टप सहयोग कोषसमेत घोषणा गरेको छ। सेन्जेज, बेइजिङ र वुहानजस्ता सहरहरूमा त स्थानीय सरकारले नि:शुल्क कार्यालय, खरिदमा प्रोत्साहन, करोडौँ अनुदानको व्यवस्थासमेत गरेका छन्।
जानकारहरूका अनुसार अहिले एउटा ‘ह्युमनोइड’ रोबोट बनाउन करिब ३५ हजार डलर खर्च लाग्छ। चीनले उत्पादन श्रृंखला सस्तो बनाउँदै लगिरहँदा यो लागत सन् २०३० सम्म १७ हजार डलरमा झर्ने विश्वास लिइएको छ। चीनले रोबोटको हार्डवेयरमा करिब ९० प्रतिशत स्वदेशमै उत्पादन गर्न सक्छ, जसले लागत घटाउने र प्रतिस्पर्धामा अग्रता दिन सहयोग गर्छ।
मानव आकृतिका रोबोटको दक्षता हार्डवेयरमा मात्र सीमित छैन। रोबोटलाई वास्तविक वातावरणमा सोचेर काम गर्न सक्षम बनाउने एआई मोडेलको विकासमा पनि चीनले प्रगति गरिरहेको छ। डिपसिक, अलिबाबा, क्वेन जस्ता चिनियाँ एआई प्लेटफर्महरू अहिले रोबोटका लागि ‘मस्तिष्क’ बनाउन प्रयोग गरिँदैछ।
त्यस्ता रोबोट बनाइरहेका कम्पनीहरूका अनुसार तिनका रोबोटहरू अहिले गुणस्तर परीक्षण, सामग्री व्यवस्थापन र उत्पादन लाइनमा कार्यरत छन्। १२ करोडभन्दा धेरै मानिस रोजगारीमा रहेको चीनको निर्माण क्षेत्रमा ‘ह्युमनोइड’ रोबोटको प्रवेशले दीर्घकालीन असर पार्न सक्ने चिन्ता पनि व्यक्त गरिएका छन्।
चीनमा निर्माण क्षेत्रको ७० प्रतिशत काममा रोबोट र एआईको प्रभाव पर्ने अध्ययनहरू पनि भएका छन्। यस्तोमा बेरोजगारीलाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्नहरू पनि उठ्न थालेका छन्। तर चिनियाँ सरकारका अनुसार रोबोटको प्रयोगले वृद्धहरूको हेरचाह, जोखिमयुक्त र दोहोरिने कामहरूमा मात्र मानिसहरूको बोझ घटाउनेछ।
गएको डिसेम्बरमा जारी भएको चीनको वृद्ध हेरचाह राष्ट्रिय योजनाले ‘ह्युमनोइड’ रोबोटको प्रयोगलाई प्रोत्साहनसमेत दिएको छ। विभिन्न कम्पनीहरूले वृद्ध हेरचाहमा केन्द्रित रोबोट उत्पादन सुरुसमेत गरिसकेका छन्।
नेपालजस्ता देशमा एआईसम्बन्धीका विषय प्रारम्भिक बहसको चरणमै छ। तर पनि प्रविधिमैत्री शिक्षा र एआईसम्बन्धी नीति निर्माणको आवश्यकता व्यापक भइसकेको सबैले स्वीकार गरेका छन्।
नेपालमा पछिल्लो समय सरकारी तथा निजी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ। बैंक, बीमा, स्वास्थ्य साथै शैक्षिक संस्थाहरूमा डिजिटल प्रणाली लागु हुँदै गए पनि एआई र स्वचालनसम्बन्धी स्पष्ट नीति, तालिम र कार्ययोजना भने अझै निर्माण हुन बाँकी छ।
एआईको विकासले काम गुम्ने डरमात्र होइन सीप, सोच र कार्यपद्धति नै फेरिरहेको छ। जसले परिवर्तनसँग जो छिटो घुलमिल हुन्छ उही अघि बढ्छ, यही समयको माग हो। काम गुमाउने डरबाट अघि बढेर रूपान्तरणको सम्भावनातर्फ लाग्नुपर्छ।