मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

धान उत्पादन जति बढेपनि चामल आयात किन बढिरहन्छ? मीठो र मसिनोमा भारतीय उत्पादनकै भर

मंगलबार, जेठ २७ २०८२
धान उत्पादन जति बढेपनि चामल आयात किन बढिरहन्छ? मीठो र मसिनोमा भारतीय उत्पादनकै भर

दुई तिहाइ जनता कृषिमा निर्भर रहेको मुलुकमा धानको उत्पादन जतिसुकै बढेपनि चामलमाथिको परनिर्भरता बढ्दै गएको छ। उत्पादन बढाउने सरकारका प्रयास अहिलेसम्म सबै असफल भएका छन्।

काठमाडौं- चालु आर्थिक वर्ष नेपालमा धान उत्पादन ऐतिहासिक बिन्दुमा पुग्ने सरकारी प्रक्षेपण भएको छ। ५९ लाख ५५ हजार ७६ हजार टन धान उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमान गरेको थियो। धान उत्पादन बढेकै कारण आर्थिक वृद्धि पनि राम्रो हुने राष्ट्रिय तथ्यांक कार्यालयले अर्को अनुमान प्रस्तुत गरिसकेको छ। 

मुलुककै आर्थिक वृद्धिलाई सहयोग गर्नेगरी धानको उत्पादन बढेकै वर्षको १० महिनामै १५ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भइसकेको छ। चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा १५ अर्ब ७६ करोड रूपैयाँको चामल आयात भएको भन्सार विभागको तथ्यांक छ। 

जुन वर्ष मुलुकमा धानको उत्पादन उच्च बिन्दुमा पुग्छ सोही वर्ष चामल आयात पनि उच्च हुनुलाई धेरैले तथ्यांकीय बेमेल मान्ने गरेका छन्। धान उत्पादन जतिसुकै बढेपनि आयातमा एकाध वर्षबाहेक खासै कमी आएको छैन। चामलको उपभोग मान्छेका लागिमात्र भन्दा अन्य औद्योगिक प्रायोजनमा हुने भएकाले पनि आयात भइरहेको सरकारी बनिबनाउ जवाफ रहेको छ। 

यसको अर्थ मुलुकमा मागअनुसारको उत्पादनकै कमीले गर्दा चामलको आयात बर्सेनि बढिरहेको छ। 

धानको उत्पादन बढाउनका लागि सरकारले बर्सेनि विभिन्न नाममा अनुदान तथा सहायतामा अर्बौँ बजेट खर्चिरहेको छ तर पनि यसले न माग थामेको छ न त आयात रोकिएको छ।

उत्पादन बढेपनि आयात नघट्नु नेपाली कृषि अर्थतन्त्रको आफैमा अर्को बिडम्बना हो। कृषि र त्यसमा पनि धानको अर्थशास्त्रको यो बिडम्बनालाई सम्बोधन गर्नका लागि सरकारी तहबाट आजसम्म खासै पहल भएको छैन। विभिन्न कृषि सुपर जोन बनाएर उत्पादन बढाउने भनिएपनि त्यसमा अहिलेसम्म खास उपलब्धि भएको छैन। 

जतिसुकै उत्पादन बढे पनि मागअनुसार अझै अपुग रहेको कृषि मन्त्रालयको भनाइ रहँदै आएको छ। नेपालको अहिलेको उत्पादनले करिब ८ लाख टन चामल अपुग हुने मन्त्रालयको अनुमान रहेको छ। तर पछिल्लो घरपरिवार सर्वेक्षणअनुसार उपभोग चलनमा व्यापक परिवर्तन भएर खाद्यान्नको अंश घटेको छ। 

नेपालमा जति उत्पादन भएपनि आयात बढ्नुमा विभिन्न कारण रहेको बताउँछन् अधिकारीहरू। पहिलो कुरा, नेपालको उत्पादन प्रणालीमा अझै रुपान्तरण भएको छैन। उपभोक्ताको रुचि मसिनो चामलतिर बढेको तर उत्पादन गर्ने किसानको चाहना भने अझै मोटो धानमै रहेकाले पनि आयात बढिरहेको धेरैको भनाइ छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी महानन्द जोशी उत्पादन हुने मोटो चामल घरेलु तथा किसानको तहमा खपत भएपनि आम उपभोक्ताको रोजाइमा भने मसिनो चामल रहेको बताउँछन्। नेपालमा उत्पादन हुने चामलको खपत घरेलु तथा उपभोक्ता तहभन्दा औद्योगिक तहमा हुने गरेको अधिकारीहरूको भनाइ छ, यद्यपि यसको कुनै सर्वेक्षण वा अनुसन्धान भने छैन। 

रोगकीराको समस्या धेरै नहुने, परीक्षण भएकाले खेती तरीकामा अभ्यस्त भएकाले किसानले बालीको बीउ फेर्न सकिरहेका छैनन्। यही भएर नेपाली उत्पादनले आयात छेक्ने सम्भावना न्यून छ। नेपालका मुख्य सहर बजारमा आउने हरेक नेपाली चामलको धान भारतीय हुने गरेको छ। भारतबाट चामल ल्याएर नेपालमा प्याकेजिङ गर्ने चलन बढ्दो छ। 

अझ कतिपय भारतीय चामल नै धेरै पाइन्छ। नेपाली बजारमा भातरकै धान चामलको बर्चस्व प्रत्येक वर्ष बढ्दै गएको छ। औपचारिक च्यानलबाट आयात घट्दासमेत बजारमा चामल भने भारतकै आउने गरेको छ। 

दुई तिहाइ जनता कृषिमा निर्भर रहेको मुलुकमा धानको उत्पादन जतिसुकै बढेपनि चामलमाथिको परनिर्भरता बढ्दै गएको छ। उत्पादन बढाउने सरकारका प्रयास अहिलेसम्म असफल भएका छन्। 

बजारको मागअनुसारको उत्पादन गराउनका लागि सरकारले विभिन्न जातका धानका बीउ विकास गरेपनि त्यसको विस्तार हुन सकेको छैन। अहिलेसम्मको बजारको बीउको ग्यारेन्टी पाइरहेका किसानले नयाँमा खासै रुचि देखाएका छैनन्। यसको फाइदा मुख्यगरी महानगरजस्ता सहरको ठूलो बजार भारतीय उत्पादनकै भरमा परेको छ। 

औपचारिकभन्दा अनौपचारिक च्यानलबाट पनि भारतबाट उत्तिकै आयात हुने भएकाले खास आँकडा कहिलै सार्वजनिक हुँदैन। तर काठमाडौंमा पाइने अधिकांश चामल भारतीय धानकै हुने गरेको छ। मसिनो चामल तुलनात्मक रुपमा सस्तोमा पनि पाइने र मार्जिन पनि धेरै हुने भएकाले व्यापारीले पनि त्यसमै जोड दिने गरेका छन्। 

नेपाली किसानले उत्पादन गरेको मसिनो धानको लागत उच्च हुँदा त्यसले बजार नपाउने त्रासले गर्दा पनि किसान यसमा आकर्षित हुन नसकेको स्वयं सरकारी अधिकारीहरूकै स्वीकारोक्ति छ।


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend