सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १ २०७८
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

पाँच हजार पाँच सय मिटरमध्ये दुईवटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको र राहुघाट मङ्गलेको पनि थप तीन वटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ।

चिमखोला- म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुईवटा जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ।

तुँदी पावर कम्पनीले ३५ दशमलव ५ मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८दमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो। आयोजनाका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको पहुँचमार्गको काम सकेर सुरुङ खन्ने काम थालिएको बताए।

'मौवाफाँटदेखि बन्दीघाटसम्म सडक र दुईवटा बेलिब्रिज बनाएर आयोजना निर्माणस्थललाई पहुँचमार्गसँग जोडेका छौँ,' उनले भने 'सुरुङ निर्माण थालिएको र  दुईवटै आयोजनाको विद्युतगृह र बाँधको काम सुरु गर्ने तयारीमा छौँ।'

पाँच हजार पाँच सय मिटरमध्ये दुईवटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको र राहुघाट मङ्गलेको पनि थप तीन वटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ।

माथिल्लो राहुघाटको पाँच किलोमिटरमध्ये दुई वटा अडिटबाट २३१ मिटर सुरुङ निर्माण गरिएको छ। बन्दीमा बाँध निर्माणाधीन अवस्थामा रहेको राहुघाट मङ्गले जलविद्यु्त् आयोजनाको चिमखोलाको मलाङमा विद्युत्गृह बनाउनका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ। 

दग्नामको अजिङ्गर भीरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले बगरखोलामाथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवतजावत गर्न सहज भएको छ। 

घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी भएको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए। कूल लागत ५ अर्ब ९२ करोड लागत अनुमान गरिएको मङ्गले राहुघाटको आउटलेटदेखि ३५० मिटर तल रहेको विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ। राहुघाट मङ्गलेकोको विद्युत्गृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलविद्युत् आयोजनाको बाँधदेखि ५०० मिटरमाथि विद्युतगृह बनाउने गरी अर्को माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पनि निर्माण सुरु भएको हो।

विद्युतगृह र अडिट निर्माणस्थल पुग्ने पहुँचमार्ग निर्माण गरिएको छ। विद्युत्गृह निर्माणस्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ। आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगङ्गा–७स्थित चिमखोलामा नेपाली सेनाको क्याम्प तथा प्रहरीको चौकी स्थापना गरिएको  छ। 

उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सवस्टेशनदेखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दूरीको प्रशारण लाइन बनाउन वातावरणीय परीक्षणको प्रक्रियामा रहेको छ। राहुघाट नदीको सहायक ठूलो खोलामा संयुक्त ऊर्जा प्रालीले २१दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण थालिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। 

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। राहुघाटको ३५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ। रासस


प्रकाशित : आइतबार, फागुन १ २०७८०७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend