मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

राहदानी छपाइमा 'आईडीईएमआईए'को एकाधिकार तोडियो, ६४ लाख ई-पासपोर्ट छपाइको जिम्मा जर्मन कम्पनीलाई

बिहीबार , जेठ २२ २०८२
राहदानी छपाइमा 'आईडीईएमआईए'को एकाधिकार तोडियो, ६४ लाख ई-पासपोर्ट छपाइको जिम्मा जर्मन कम्पनीलाई

६४ लाख विद्युतीय राहदानी छपाइको ठेक्का जर्मन कम्पनीले पाएका छन्। राहदानी विभागले गरेको ६४ लाख राहदानी छपाइको दुईवटा प्याकेज नै जर्मन कम्पनीले पाउने भएका छन्।

काठमाडौं-‍ राहदानी छपाइमा १५ वर्षदेखि एकछत्र राज गर्दै आएको फ्रेन्च कम्पनी 'आईडीईएमआईए' अन्तत: बाहिरिएको छ। विभिन्न समयमा भएका टेन्डर, भेरिएसनमार्फत यो अवधिमा १ करोड ५३ लाखभन्दा धेरै राहदानी छापेको कम्पनी पछिल्लो समय विवादित भएको थियो। 

भेरिएसनमा घोटाला भएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। आईडीईएमआईएले २०६७ सालमा ४५ लाख एमआरपी राहदानी छपाइका लागि टेन्डर जितेको थियो। त्यसपछि २७ लाख राहदानी भेरिएसनबाट छापेको थियो।

यसैगरी २०७७ कात्तिकमा २० लाख विद्युतीय राहदानी छपाइका लागि छनौट भएको थियो। तर त्यसपछि ३१ लाख थप राहदानी भेरिएसनबाट छापेको थियो। 

यसपालिको टेन्डरमा ६४ लाख विद्युतीय राहदानी छपाइको ठेक्का जर्मन कम्पनीले पाएका छन्। राहदानी विभागले गरेको ६४ लाख राहदानी छपाइको दुईवटा प्याकेज नै जर्मन कम्पनीले पाउने भएका छन्। 

विभागले मंसिर १३ गते ६४ लाख विद्युतीय राहदानी छपाइका लागि ग्लोबल टेन्टर गरेको थियो। विभागले दुईवटा प्याकेजमार्फत टेन्डर गरेको थियो। विभागले प्याकेज १ अन्तर्गत स्टिम इन्क्लुडिङ प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरीको कामका लागि ग्लोबल टेन्डर गरेको थियो। 

उक्त कामका लागि प्याकेज १ को कामका लागि फ्रान्सेली कम्पनी आईडीईएमआईए, जर्मन कम्पनी मुलबाउर र मलेसियन कम्पनी आइरिस कर्पोरेशनले आवेदन दिएका थिए। त्यसमध्ये मलेसियन कम्पनी आइरिस कर्पोरेशनले आवेदन प्रक्रियामा नै प्रक्रियागत काम पूरा नगरेको भन्दै प्राविधिक मूल्यांकनमा सहभागी गराइएको थिएन। फ्रान्सेली कम्पनी आईडीईएमआईए र जर्मन कम्पनी मुलबाउर प्राविधिक रुपमा सफल भएका थिए। सफल कम्पनीहरूबीच जेठ १४ गते आर्थिक प्रस्ताव खोलिएको थियो। 

प्याकेज-१ अन्तर्गत आर्थिक प्रस्तावमा मुलाबरले १ करोड ११ लाख ५४ हजार ८३४ अमेरिकी डलर प्रस्ताव गरेको थियो। उक्त रकम नेपाली रुपैयाँ १ अर्ब ५५ करोड ८ लाख १४ हजार ३२५ रुपैयाँ हुन्छ। 

यसैगरी विभागले प्याकेज २ मा बुकलेट, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङको काम रहेको थियो। प्याकेज २ अन्तर्गतको कामका लागि फ्रान्सेली कम्पनी आईडीईएमआईए, जर्मन कम्पनी भेरिडस, जर्मन कम्पनी मुलाबाउर र पोल्याण्डको पीडब्लू पीडब्लूले आवेदन दिएका थिए। आवेदन दिएका सबै कम्पनी प्राविधिक रुपमा पास भएका थिए। 

प्रावधिक रुपमा पास भएका कम्पनीहरूमा भेरिडोसले बाजी मारेको छ। भेरिडोसले ६ अर्ब ११ करोड ३८ लाख ३७ हजार ३३७ रुपैयाँ कबोल गरेको छ। यो नै सबैभन्दा न्यून रकम हो। अबदेखि राहदानी छपाइमा दुई जर्मन कम्पनीले काम गर्ने भएका हुन्। 

६४ लाख विद्युतीय राहदानी छपाइ मूल्यांकनमा ढिलासुस्ती, प्राविधिकरुपमा असफल कम्पनीलाई पास गराउन चलखेल सुरु ६४ लाख विद्युतीय राहदानी छपाइ मूल्यांकनमा ढिलासुस्ती, प्राविधिकरुपमा असफल कम्पनीलाई पास गराउन चलखेल सुरु ६४ लाख राहदानी छपाइको 'प्याकेज १' मा तीन र 'प्याकेज २' मा चार कम्पनीको आवेदन ६४ लाख राहदानी छपाइको 'प्याकेज १' मा तीन र 'प्याकेज २' मा चार कम्पनीको आवेदन ‘आईडीईएमआईए’लाई सहज हुने व्यवस्थाका पक्षमा राहदानी विभागका महानिर्देशकको अडान, खरिद अनुगमनको निर्देशनको अवज्ञा ‘आईडीईएमआईए’लाई सहज हुने व्यवस्थाका पक्षमा राहदानी विभागका महानिर्देशकको अडान, खरिद अनुगमनको निर्देशनको अवज्ञा 


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend