मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

काठमाडौंसँग पूर्व जोड्ने नाकामा संकट : बर्खामा बिपी राजमार्ग चल्न कठिन

बैशाखकै भेल नथेगेको राजमार्गमा साउन-भदौमा सवारी चलाउने सपना देख्दै सरकार

images
बिहीबार , जेठ १ २०८२
images
images
काठमाडौंसँग पूर्व जोड्ने नाकामा संकट : बर्खामा बिपी राजमार्ग चल्न कठिन
images
images

काठमाडौं- बिपी राजमार्ग सहज हुनेगरी पुनर्निर्माण अझै सुरु नभएको अवस्थामा साउन-भदौमा सवारी सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दाबी अवास्तविक देखिएको छ।

images
images
images

गएको सोमबारको वर्षाले नै १३ घण्टासम्म सवारी आवागमन रोकिनुले सोही संकेत गर्दछ। बैशाख महिनाको अन्त्यसम्म आइपुग्दा राजमार्गको सबैभन्दा जोखिमयुक्त खण्डहरुमा पानीको भेल अझै थामिएको छैन।

images
images

सडकको अति जोखिमयुक्त क्षेत्र, विशेषगरी खानीखोला-बहादुर भञ्ज्याङ र खुर्कोट-सिन्धुली खण्डमा पहिरो, कटान र भासिने समस्या पूर्णरूपमा समाधान भएको छैन।

images
images
images

मन्त्रालयका अधिकारीहरू भने साउन र भदौभित्रै नियमित सवारी आवागमन सम्भव हुने दाबी गर्दै आइरहेका छन्। विभागीय सचिवदेखि मन्त्रीसम्मले विभिन्न सार्वजनिक कार्यक्रममा 'काम तीव्र गतिमा अघि बढेको' र 'निर्धारित समयमै सवारी सञ्चालन हुने' जस्ता वक्तव्य दिँदै आएका छन्। तर अहिलेको परिस्थिति हेर्दा आगामी बर्खामा संघीय राजधानी काठमाडौंसँग पूर्वी नेपालको सडक यात्रा फेरि टुट्ने देखिएको छ।

२०८१ असोज दोस्रो साताको बाढीले बिपी राजमार्गमा पर्ने काभ्रेको चौकिडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म २८ किलोमिटर सडकमा क्षति पुर्याएपछि अवस्था नाजुक भएको हो। गत वर्षको दसैँमा यात्रुले बिपी राजमार्गबाट गाउँ फर्किन पाएनन्। यद्यपि दोलखा-रामेछाप-सिन्धुली र काठकाडौं-हेटौंडाको वैकल्पिक बाटो भएर घर पुगेकाहरु बिपी राजमार्गबाट काठमाडौं फर्किएका थिए।

अब यो बर्खामा पनि सोही अवस्था दोहोरिने सम्भावना बढेको छ। हुन त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बर्खामा सावारीसाधन चलाउन मिल्नेगरी अस्थायी मर्मत भइरहेको दाबी गर्छ। तर फागुनबाट सुरु भएको अस्थायी मर्मत नसकिँदै बैशाखमै रोशीको बाढीले फेरि बगाउन थालिसक्यो।

संसद र सरकारमा राजमार्ग पुनर्निर्माण गर्ने विषयले चर्चा पाइरहन्छ तर निर्माणको जिम्मेवारी पाएको भौतिक मन्त्रालय स्थायी पुनर्निर्माणभन्दा अस्थायी मर्मतमा केन्द्रित छ। जुन क्षणिक हो। त्यसले सरकारी बजेट खोलामा बगाउनुसरह नै हुन जान्छ।

गएको सोमबार साँझ परेको पानीले राजमार्गको डाइभर्सन बगायो। तर मन्त्रालयमातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपाने अस्थायी मर्मतले बिपीमा बर्खाको यात्रा सहज हुने दाबी गर्छन्। साथै मुख्य बर्खा सुरु हुन बाँकी रहेकाले अहिले नै आत्तिनु पर्ने अवस्था नभएको बताउँछन्।

‘सोमबार साँझ बिपी राजमार्ग अवरुद्ध भएको ठाउँ मर्मत हुन बाँकी खण्ड हो, मर्मत भएको ठाउँमा असर पुगेको छैन’ उनले भने, ‘अहिलेको बाढीले पनि कहाँकहाँ कस्तो असर पर्छ भनेर हामीलाई अनुभव भएको छ त्यसैले अझै राम्रो सडक बनाउँछौँ।’ 

यस्तोमा वैकल्पिक सडकको व्यवस्थाका विषयमा समेत मन्त्रालयले कुनै तयारी गरेको देखिँदैन।

खोलामा बग्दैछ बजेट

गत फागुनबाट मन्त्रालयले सडक विभागका जनशक्ति र मेसिनहरु प्रयोग गरेर अस्थायी मर्मत सुरु गरेको हो। ठेक्का आह्वान नगरी आफ्नै जनशक्ति र मेसिन प्रयोग गर्ने र काम सकिएपछि बिल पेस गरेर भुक्तानी लिने गरी काम भइरहेको छ।

सार्वजनिक खरिद ऐनमा व्यवस्था भएको ‘अमानती’ व्यवस्थाअनुसार विभाग आफैले काम गरेको हो। यद्यपि आफ्नो स्रोत साधनले नभ्याउने तथा खरिद गर्नुपर्ने सामानका लागि भने सूचना निकालेर ठेक्का आह्वान नै गर्नुपर्छ।

मन्त्रालयले अस्थायी मर्मतमा करिब ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। हालसम्म कति खर्च भयो भन्ने यकिन विवरण तयार भइसकेको छैन। अस्थायी मर्मतको काम चलिरहेको छ।

सडक डिभिजन भक्तपुरका इन्जिनियर दुर्गाप्रसाद शाहका अनुसार बिपी राजमार्गमा १२ वटा स्काभेटर, १२ वटा टिप्पर र जेसीबी, डोजर साथै पानी ट्यांकर, मेसिन बोक्ने टेलर एक/एक वटा प्रयोगमा छन्। यद्यपि त्यो संख्या घटबढ भइरहने इन्जिनियर शाहले बताए।

माटो, ढुंगा थुपारेर खोला किनारबाट सडक उठाउने, केही ठाउँमा ढुंगाको जाली लगाउने, बाढीबाट क्षति नभएका सडक खण्डहरुलाई प्रयोगमा ल्याउने काम अस्थायी मर्मतमा भइरहेको छ। तर सडक विभागका पूर्वमहानिर्देशक एवं सरकार पूर्वसचिव इन्जिनियर अर्जुनजंग थापा यस्तो मर्मतबाट सन्तुष्ट छैनन्।

बाढी गइरहने रोशी खोलाको किनारमा माटो तथा ढुंगा राखेर केही उचाइ दिएको भरमा बर्खाको यात्रा सुरक्षित नहुने उनको तर्क छ। ‘मर्मत गरेको भन्छन् अहिलेकै बाढीले बगाइसक्यो, मुख्य बर्खा आउनै बाँकी छ। यसरी नै जाने हो भने पानी धेरै नपर्दासम्मलाई मात्रै सजिलो हुन्छ’ पूर्वसचिव थापाले भने।

भौतिक मन्त्रालयले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २८ किमि पुनर्निर्माणका लागि साढे ९ अर्ब रुपैयाँ लाग्छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि ५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरेपछि सडक विभागले ठेक्का आह्वान गरेको छ।

२८ किमिमध्ये सिन्धुलीतर्फको करिब ३ किमि सडक पुनर्निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले चासो देखाएको छ। बाँकी नेपालले आफ्नै लगानीमा पुनर्निर्माण गर्नेछ।

बिपी राजमार्गले काभ्रेको पूर्वीखण्ड, सिन्धुली, रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुरसहित मधेश प्रदेश र धनुषा जिल्लालाई काठमाडौंसँग जोड्छ।

बिपी रागमार्ग धुलिखेल-बर्दिवासम्म मात्रै हो। धुलिखेलबाट उपत्यका भित्रिन अरनिको राजमार्गअन्तर्गतको भक्तपुर-सूर्यविनायक सडक प्रयोग गर्नुपर्छ। १६ किलोमिटर लामो उक्त खण्ड पनि ६ लेनमा विस्तार भइरहेको छ। २०७९ पुस २४ बाट सुरु गरिएको उक्त सडक ३६ महिनाभित्र सम्पन्न गर्ने सम्झौता छ। सामान्य वर्षाले पनि धुलिखेल-साँगा सडकमा घण्टौँ जाम पर्ने र सवारी साधार चिप्लिएर दुर्घटना हुने जोखिम छ।


प्रकाशित : बिहीबार , जेठ १ २०८२१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend