आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रका विषयमा छलफल

मंगलबार, वैशाख २३ २०८२
बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रका विषयमा छलफल

नेपालका प्रतिनिधिका रूपमा विनोद चौधरीको सहभागिताले सम्मेलनमा नेपालको उपस्थिति र सामाजिक क्षेत्रका संवेदनशील विषयमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको विश्लेषण गरिएको छ।

सिङ्गापुर- चौधरी ग्रुपका अध्यक्ष तथा संघीय सांसद विनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स-२०२५ (पीएए-२०२५) को अवसरमा विश्वप्रसिद्ध परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्। उक्त भेटमा नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीबारे गम्भीर छलफल भएको चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

सांसद चौधरीले बिल गेट्ससँगको साइडलाइन मिटिङको तस्बिर सार्वजनिक गर्दै सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड-१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा 'बलियो नेपाल' अभियानमार्फत भएको सहकार्यप्रति गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरेका छन्। उनले विगतका साझेदारीलाई अझ सशक्त बनाउँदै नेपालको सामाजिक क्षेत्रमा गेट्स फाउन्डेसनको संलग्नता थप विस्तार गर्ने विषयमा समेत छलफल भएको उल्लेख गरेका छन्।

भेटमा गेट्स फाउन्डेसनले अन्य विकासशील राष्ट्रहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी केन्द्रित कार्यक्रमहरूलाई नेपाल सन्दर्भअनुसार कसरी लागु गर्न सकिन्छ भन्ने विषयमा समेत विशेष छलफल भएको थियो।

२०७२ सालको भूकम्पपछिको उद्धार तथा पुनर्निर्माणमा चौधरी ग्रुपको सामाजिक संस्था चौधरी फाउन्डेसनले झण्डै तीन हजार भूकम्प प्रतिरोधी अस्थायी आवास निर्माण गर्नुका साथै विद्यालय पुनर्निर्माण, खाद्यान्न तथा पिउने पानी वितरणमार्फत प्रभावित समुदायलाई राहत पुर्‍याएको थियो।

यस्तै, कोभिड-१९ महामारीका बेला चौधरी फाउन्डेसनले वीर अस्पतालमा आईसीयू र अक्सिजन प्लान्ट, धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै सातवटै प्रदेशमा अक्सिजन कन्सन्ट्रेटर, पीसीआर परीक्षण किट, पिपिई र एन-९५ मास्क वितरण गरेर स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा सहयोग गरेको थियो।

फिलान्थ्रपी एसिया एलायन्स-२०२५ सम्मेलनमा विश्वका प्रतिष्ठित परोपकारी संस्था प्रमुख, नीति निर्माता र अन्तर्राष्ट्रिय नेतृत्वको सहभागिता रहेको थियो। सम्मेलनमा सिङ्गापुरका राष्ट्रपति थरमन शनमुगरत्नम, डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्स, इन्डोनेसियाका मानव विकास तथा सांस्कृतिक मामिलाका मन्त्री प्रतिक्नो, डब्लुएचओका प्रमुख वैज्ञानिक सर जेरेमी फरार र यूएनडीपीकी सहायक महासचिव सुसान ब्राउनजस्ता विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गरेका थिए।

नेपालका प्रतिनिधिका रूपमा चौधरीको सहभागिताले सम्मेलनमा नेपालको उपस्थिति र सामाजिक क्षेत्रका संवेदनशील विषयमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको विश्लेषण गरिएको छ। सम्मेलनले एसियाली मुलुकहरूमा दिगो विकास र सामाजिक न्याय प्रवर्द्धनका लागि परोपकारी क्षेत्रबीच सहकार्यको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend