काठमाडौं- राष्ट्रियसभाको मंगलबारको बैठकमा सभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। वर्षायाम प्रारम्भ हुनुअगावै विपद् व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी गरिसक्नुपर्नेमा सांसदहरुको जोड छ।
उनीहरुले विपद् पूर्वतयारी र प्रतिकार्य, निर्माणाधीन र स्तरोन्नतिको चरणमा रहेका राजमार्गको यथाशीघ्र निर्माणसम्पन्न, मौलिक हकको कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानकर्षण गराएका हुन्। सांसद इन्दिरादेवी गौतमले प्राकृतिक विपदबाट घरबारविहीन भएका नागरिकलाई आउँदो मनसुन अगावै उचित बासस्थानको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।
निर्माणाधीन र स्तरोन्नतिका भइरहेका राजमार्गमा वर्षाका कारण यात्रु र सवारी साधन प्रभावित हुने अवस्था रहेको भन्दै उनले त्यस्ता सडक चाँडो सम्पन्न गर्न आग्रह गरेकी छन्। साथै वैकल्पिकमार्गको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
सांसद गोपीबहादुर सार्की अछामीले बिपी राजमार्गअन्तर्गतको भकुण्डेबेँसी-नेपालथोक खण्ड वर्षा याममा यातायात ठप्प हुने अवस्था रहेको बताए। उक्त खण्डको निर्माणमा तीव्रता दिन सरकारलाई सांसद सार्कीको सुझाव छ। सांसद सुमित्रा बिसीले वर्षायाम नजिकिएसँगै प्राकृतिक प्रकोपको डरले नागरिक त्रसित भइरहेको जनाउँदै विपद पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन माग गरिन्।
सांसद गंगाकुमारी बेल्बासेले राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छन्। सांसद जगप्रसाद शर्माले अपांगता भएका व्यक्तिका लागि खेलकुद योजना ल्याउन माग गर्दै राष्ट्रिय पाराओलम्पिक रंगशाला निर्माण गर्न सरकारलाई सुझाव दिए।
अर्का सांसद तारामान स्वाँरले दार्चुलाको महाकाली नगरपालिका-४ र ५ अन्तर्गत महाकाली नदी किनारकाे नेपाली भूमि अतिक्रमण गरी भारतले तटबन्ध निर्माण गरिरहेको जानकारी दिए। त्यसलाई रोक्न सरकारले के पहल गरिरहेको छ भनी सरकारको जवाफ माग गरे।
सांसद मायाप्रसाद शर्माले वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्सको दुवै पुगेका जाजरकोटको नलगाढ नगरपालिका-२ डाँडागाउँका रामबहादुर सुनार मृत फेला परेको घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरे।सांसद शारदादेवी भट्टले कैलालीको गेटा मेडिकल कलेजबारे नीति तथा कार्यक्रम कहीँकतै उल्लेख नभएको गुनासो गरेकी छन्।
सांसद तुलसाकुमारी दाहालले बाल सुधारगृहमा रहेका बालबालिका असुरक्षित बन्दै गएको जनाउँदै त्यस्ता सुधारगृहको नियमित अनुगमनको माग गरिन्। सांसद शेखरकुमार सिंहले तराई मधेशमा जनता आवास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारकालाई सुझाव दिए। रासस