शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

३ वर्षको ठेक्का सम्झौता तर ८ वर्ष पुग्दासमेत बनेन पुल 

मंगलबार, माघ २५ २०७८
३ वर्षको ठेक्का सम्झौता तर ८ वर्ष पुग्दासमेत बनेन पुल 

काठमाडौं- डोटी जिल्ला शिखर नगरपालिका-१० स्थित दुई गाउँपालिकासहित छिमेकी जिल्ला बझाङ जोड्ने उद्देश्यले निर्माण भइरहेको मोटरेबल पुलको शिलान्यास भएको आठ वर्ष भइसक्दासमेत काम पूरा हुन सकेको छैन।  

२६ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुने ४ सय मिटर लम्बाइको पुल डिभिजन सडक कार्यालय कुलपाते दिपायलले डडेल्धुराको पुष्प राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी काम अगाडि बढाएको थियो।

मोटरेबल पुल निर्माणका लागि विस २०७१ सालमा विस २०७४ असार २९ गते भित्र निर्माण सम्पन्न हुने गरी सम्झौता भएको थियो। तीन वर्ष पहिला ठेक्का सम्झौता अवधि सकिएर चार वर्ष म्यादसमेत थप भइसक्दा २० प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन। हालको सम्झौता अनुसार ठेक्का अन्तिम म्याद २०७८ चैत मसान्तसम्म छ भने ३ करोड २१ लाख रकम भुक्तानीसमेत लिइसकेको छ।

सेती नदीमा बन्ने भनिएको मोटरेबल पुल ८ वर्ष पुग्दासमेत बन्न नक्सादा शिखर नगरपालिका-११ र आर्दश गाउँपालिकाका स्थानिय सडक सञ्चालसँग जोडिन पाएका छैनन्। नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडकसमेत अलपत्र छ। 

साथै, सो स्थानमा गुणस्तरीय अस्पताल नहुँदा बिरामीसमेत दुई/तीन घण्टाको बाटो हिँडेर सडक भएको ठाउँसम्म आउनुपर्ने बाध्यता रहेको शिखर नगरपालिका-११ मल्लीसातका स्थानीय गणेश रावलले बताए। उनले सडकसँगै गुणस्तरीय अस्पतालसमेत नपुग्दा गाउँमा कोही बिरामी भए लामो बाटो बोकेर लैजानुपर्ने र कतिको बाटैमा मृत्यु हुने गरेको गुनासो पोखे।  

निर्माण कम्पनीले भने करिब तीन वर्ष यतादेखि पिल्लरको फाउण्डेसनमा रक भेटिएको बोर पाईलिङ मेसिन ल्याउने पर्ने भन्दै कार्य आलटाल गर्ने खोजी रहेको छ। निर्माण कम्पनी पुष्प राजेन्द्र जेभीका इन्जिनियर राजेन्द्र साउदले तीन वर्षअगाडि २०७६ को असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने बाचा गरे पनि आजसम्म २० प्रतिशत मात्र काम भएको छ।

निर्माण कम्पनीले पुलको बाहानामा गिट्टी ढुङगा बालुवा अन्तै सप्लाई भइरहेको गुनासो स्थानीयले गरेका छन्। यो पुल प्रत्येक वर्ष चुनावका बेला राजनीतिक मुद्दामात्रै बन्ने गरेको छ। निर्माता कम्पनीले राजनीतिक आडमा प्राकृतिक स्रोत साधनको फाइदा लिइरहेको स्थानीय बासिन्दाको आरोप छ।


प्रकाशित : मंगलबार, माघ २५ २०७८०६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend