सोमबार, वैशाख २२ गते २०८२    
सोमबार, वैशाख २२ २०८२
images
images

चन्दा संकलन गरेर ३ कोठे किरियाघर निर्माण

images
आइतबार, वैशाख २१ २०८२
images
चन्दा संकलन गरेर ३ कोठे किरियाघर निर्माण

भवन निर्माणका लागि नागरिकस्तरबाट स्वतःस्फुर्त रूपमा चन्दा संकलन गरिएको हो।

images
images

बागलुङ- बागलुङ बजारस्थित उपल्लाचौरका स्थानीयले चन्दा संकलन गरी किरियाघर निर्माण गरेका छन्। दुःखद क्षण र काजकिरिया गर्न समस्या भएपछि बागलुङ नगरपालका-४ उपल्लाचौरका स्थानीयले सामुदायिक किरियाघर निर्माण गरेका हुन्।

images
images
images

करिब २३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनमा बास बस्न ३ वटा कोठा, ३ वटा शौचालय र ३ ठाउँमा पूजा गर्न, पिण्ड चढाउन मिल्ने सत्तल निर्माण गरिएको छ। यो भवन निर्माणका लागि नागरिकस्तरबाट स्वतःस्फुर्त रूपमा चन्दा संकलन गरिएको हो।

images
images

सामुदायिक भवनबाट काजकिरिया गर्न सबैका लागि सहज बनाउने उद्देश्यले चन्दा संकलनमार्फत किरियाघर निर्माण गरिएको समितिका अध्यक्ष हरिबहादुर जिसी बताउँछन्। उनका अनुसार मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पुर्याउने उद्देश्यले किरियापुत्री बसेर सहज रूपमा आवश्यक कर्म गर्न सकुन् भनेर भवन निर्माण गरिएको हो।

images
images

‘उपल्लाचौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिब नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न किरिया भवन निर्माण गरिएको हो’ अध्यक्ष जिसीले भने। बागलुङ-४ वडा कार्यालयको १ लाख ३६ हजार र अन्य  २१ लाख ६४ हजार रुपैयाँ चन्दा संकलनमार्फत भवन निर्माण भएको छ। २०७७ मा निर्माण सुरु गरिएको भवन कोरोना महामारीका कारण रोकिएर अहिले सम्पन्न भएको हो।

साथै २ सय ८७ जनाले ५ हजारका दरले सहयोग गरेको बताइएको छ। केहीले १ हजार, २ हजार पनि सहयोग गरेका अध्यक्ष जिसी बताउँछन्। स्थानीय सामुदायिक वनको जग्गामा भवन निर्माण गरिएको छ। आर्थिक सामाजिक हिसाबले कमजोर भएका कोही पनि काजकिरिया गर्नबाट बञ्चित हुन नपरोस् भनेर भवन निर्माण गरिएको समितिका सचिव रामकाजी भण्डारीको भनाइ छ।

उपल्लाचौरमा सहरीकरण बढेकाले वडारचौरमा रहेका सत्तलमा किरिया गर्न नदिएपछि सामुदायिक भवन निर्माण गरिएको सचिव भण्डारीले जानकारी दिए। उपल्लाचौरमा ग्राणीम क्षेत्र धम्जा, भीमापोखरालगायतका क्षेत्रबाट आएर बसोबास गर्नेको संख्या धेरै छ। गाउँको जग्गा जमिन बिक्री गरेर आएकाहरूको गाउँ जाने ठाउँ पनि नभएपछि यो भवन प्रभावकारी विकल्प बन्ने विश्वास लिइएको छ। रासस 


प्रकाशित : आइतबार, वैशाख २१ २०८२१८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend