कैलाली- कैलालीको चुरे गाउँपालिका-४ खैरालाका किसानलाई मिनी टिलर वितरण गरिएको छ। व्यावसायिक रूपमा कृषि पेसामा आवद्ध १८ जना किसानलाई ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर हस्तान्तरण गरिएको हो। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार ७० हजार मूल्य पर्ने मिनी टिलरको ३५ हजार रुपैयाँमा अनुदानमा किसानलाई उपलब्ध गराइएको हो।
मागमा आधारित कार्यक्रममार्फत किसानलाई मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ। चुरेलाई व्यावसायिक अदुवा, बेसार, सुन्तला, मौसमी, अमिलो तथा केराखेतीका लागि उर्बर भूमिका रूपमा लिने गरिएको छ। केन्द्रका सूचना अधिकारी दुर्गा ओझाले किसानलाई मिनी टिलर वितरणले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताएका छन्।
किसानले गोरु पाल्न छाडेपछि खेतबारी बाँझै हुन नदिन र किसानलाई खेतीपातीमा उत्साहित गर्न केन्द्रले पालिकासँगको समन्वयमा अनुदानमार्फत मिनी टिलर वितरण गरेको हो। ‘एकातिर किसानले गाईगोरु पाल्न छाडेका र अर्कोतिर परम्परागत भन्दा यान्त्रिक उपकरणले खनजोत गर्दा कम लागत पर्ने र छिटोछरितो हुने भएकाले किसानको मागअनुसार मिनी टिलर वितरण गरेका हौँ’ सूचना अधिकारी ओझाले भने।
कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई मिनी ट्र्याक्टर उपलब्ध गराइएको केन्द्रले जनाएको छ। चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रूपमा चिनिँदै आएको छ। किसानलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउने विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सूचना अधिकारी ओझाको भनाइ छ। सोहीअनुसार मिनी ट्र्याक्टर उपलब्ध गराइएको उनको भनाइ छ। रासस