आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

पर्यटक लोभ्याउँदै चिसापानी भिरचोक सामुदायिक घरबास, गाउँ छोडेकाहरु फर्किन थाले

images
आइतबार, वैशाख २१ २०८२
images
पर्यटक लोभ्याउँदै चिसापानी भिरचोक सामुदायिक घरबास, गाउँ छोडेकाहरु फर्किन थाले

होमस्टेको नियम अनुसारका ‘प्याकेज’मा कुनै कमी नहुने गरी उनीहरूले बेलुकाको खाजा नास्तादेखि खाना र बिहानको खाजा खुवाउने गर्छन्। प्योकजका लागि प्रतिव्यक्ति  एक हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।

images
images

कास्की- रुपा गाउँपालिका भिरचोक गाउँका भोजबहादुर गुरुङ र उनकी श्रीमती छलुको घरआँगन देख्दै चिटिक्क छ। घरको मूल ढोकाको छेउमा भिरचोक सामुदायिक होमस्टे (घरबास) नम्बर ९ भनेर लेखिएको सूचना झुण्ड्याइएको छ। उनीहरूले घरमा ३ वटा कोठा घरबासका लागि छुट्याएका छन्।

images
images
images

बाहिर घरआँगन मात्र होइन गुरुङ दम्पतीले पाहुनाका लागि छुट्याएका कोठा सजाएर राखेका छन्। कोठामा प्रयोग गरिने सिरकडसना पनि सफा छन्। उनका एक छोरा र एक छोरी वैदेशिक रोजगारीमा छन् भने दुई छोरा र एक छोरी पोखरामा बस्छन्। छोराछोरी बाहिर भए पनि उनीहरू होमस्टेका माध्यमबाट पर्यटकलाई स्वागत गरिरहन्छन्।

images
images

यहाँ आउने पाहुनालाई राख्ने पालो आएसँगै अतिथिलाई न्यानो आतिथ्यता प्रदान गर्दै आएको गुरुङले बताए। होमस्टेको नियम अनुसारका ‘प्याकेज’मा कुनै कमी नहुने गरी उनीहरूले बेलुकाको खाजा नास्तादेखि खाना र बिहानको खाजा खुवाउने गर्छन्। प्योकजका लागि प्रतिव्यक्ति  एक हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।

images
images

कतिपय सुन्दर गाउँ रोजगारी तथा सुविधाको खोजीका नाममा खाली हुँदै गइरहेकका छन्। तर, गुरुङ दम्पतीले गरेको यो प्रयास अरुका लागि पनि अनुकरणीय देखिन्छ। पेसाले भारतीय सेनामा रोजगारी गरी निवृत्त भएर गाउँ फर्किएका गुरुङ ५१ सालपछि यहाँ बस्दै आएका छन्। उनलाई गाउँको स्वच्छ हावपानी छोडेर सहरतिर जान मन लाग्दैन। साथै पछिल्ला समयमा गाउँमा सबै किसिमका सेवा सुविधा आइसकेको उनको बुझाइ छ।

‘पहिला गाउँमा खानेपानीको ठूलो दुुःख थियो, अहिले घरघरमा खानेपानीको सुविधा छ’ गुरुङ भन्छन्, ‘पानीसँगै गाउँमा बाटो कलोपत्र भइसकेको छ, यहाँ सुविधा सबैजसो आइसक्यो।’ पानीको चरम असुविधाका बखत सबैभन्दा पहिले वल्र्ड भिजन भन्ने संस्थाबाट वर्षाको पानी संकलन गर्नेगरी घरघरमा घैँटो निर्माण गरिदिएको उनले सम्झिाए। त्यसपछि स्थानीय खानेपानी आयोजनाबाट पानीको सुविधा प्राप्त भइरहेको उनको भनाइ छ।

गाउँको पर्यटकीय सुन्दरता र सम्भावनालाई दृष्टिगत गरी विगत एक वर्षयता चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा ‘चिसापानी भिरचोक सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याइएको होमस्टेका अध्यक्ष धनबहादुर गुरुङ बताउँछन्। होमस्टे सञ्चालनको सुरुवातसँगै विगतमा गाउँ छोडेका पनि क्रमशः फर्कन थालेका छन्।

आफूहरू होमस्टेका माध्यमबाट गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने अभियानमा जुटेको अध्यक्ष गुरुङले बताए। चिसापानी गाउँ करिब १ हजार ३६५ मिटर उचाइमा रहेको छ, भने नजिकै १० मिनेटको पैदलयात्रापछि भिरचोक गाउँ पुगिन्छ। समुद्री सतहबाट करिब १ हजार २३३ मिटर उचाइमा भिरचोक गाउँ छ। चिसापानी र भिरचोक गाउँको संयुक्त प्रयासमा यहाँका ३० घरमा होमस्टे सञ्चालन भइरहेको अध्यक्ष गुरुङले बताए। 

उनका अनुसार भिरचोकका ११ घर र चिसापानीका १९ घरमा होमस्टे सञ्चालन गरिएको छ। यहाँका होमस्टेमा पाहुनाका लागि सकेसम्म आफ्नै खेतबारीमा उत्पादन भएको अग्र्यानिक खाना खुवाउने गरिन्छ। त्यस्तै सांस्कृतिक रूपमा स्थानीयले पाहुनालाई गुरुङ संस्कृति अन्तरगतका सोराठी, घाटु, चरित्र, चुड्का, झोरा जस्ता विभिन्न नृत्य देखाउने गर्छन्।

पर्यटकले यहाँको हात्तीमता भ्यु प्वाइन्टसँगै नेपालको सबैभन्दा अग्लो झण्डाको साथमा रुपाकोट काल भैरवको मन्दिर, दुर्गादेवी मन्दिर, शिव, कमलादेवी, सरस्वती बराज्युलगायत धार्मिक एवं ऐतिहासिकस्थल अवलोकन गर्न पाउँछन्। त्यस्तै चिसापानी मन्दिर, थाप्ले भ्यु प्वाइन्ट, बराह थोक भ्यु प्वाइन्ट, माझकोट भ्यु प्वाइन्ट, रुपाकोट रिसोर्ट, हरियो वन जंगल आदिको दृश्यावलोकन गर्न पाउँनु यहाँको विशिष्टता हो।

यहाँबाट माछापुच्छे, अन्नपूर्ण, लमजुङका हिमाली दृश्यसँगै रुपा ताल, बेगनास ताल, फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्न सकिन्छ। यस ठाउँमा तनहुँको दमौलीसहित पावर हाउस, ताल चोकलगायत स्थानबाट सवारीसाधनमार्फत आउन सकिन्छ। यस होमस्टेको संस्थागत विकासको विषयलाई गाउँपालिकाले प्राथमिकतामा राखेको पालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

यस ठाउँको पर्यटन प्रवर्द्धनसँगै बेलायती युवराज चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेकको प्रबर्द्धनलाई प्राथमिकतामा राखिएको उनले बताए। होमस्टे सञ्चालनलाई व्यवस्थित, प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँका सञ्चालकलाई असल अभ्यास भएका अन्य होमस्टेमा अवलोकन भ्रमण गराइएको उनको भनाइ छ। पछिल्लो समयमा होमस्टेमा संस्थागत रूपमा विभिन्न समूह आउने गरेको यहाँका होमस्टे सञ्चालकहरु बताउँछन्। 

हालै प्रेस क्लब गण्डकीको संयोजनमा पोखरामा विभिन्न सञ्चारमाध्यममा क्रयाशील सञ्चारकर्मीले यस होमस्टेमा प्रबर्द्धनात्मक भ्रमण गरेका क्लबका अध्यक्ष एकराज गिरीले जानकारी दिए। ‘विभिन्न स्थानमा सञ्चालनमा आएका होमस्टेको प्रबर्द्धनसँगै त्यहाँ गरिएका असल अभ्यासको प्रबर्द्धनात्मक कार्यक्रमका माध्यमबाट प्रचारप्रसारलाई हामीले जोड दिएका छौँ’ उनी भन्छन्, ‘चिसापानी भिरचोक सामुदायिक होमस्टेमा दीर्घकालीन सञ्चालनका धेरै सम्भावना देखिएको छ।’ रासस


प्रकाशित : आइतबार, वैशाख २१ २०८२१६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend