कैलाली- गौरीगंगा नगरपालिका-७ का सुवन चौधरी अहिले ‘प्लम्बिङ’ पेसामा आबद्ध छन्। उनले मासिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। केही वर्षअघि गौरीगंगा-७ स्थित सुनपाल सामुदायिक वनले आयोजना गरेको सीपमूलक तालिममा सहभागी भएर उनले यो सीप सिकेका हुन्।
सीप सिकेपछि धेरैले वैदेशिक रोजगारी रोजे चौधरी भने गाउँमै बसेर काम गर्दैछन्। ‘सँगै तालिम लिने साथीहरू कोही तेस्रो मुलुक गए, कोही भारततिर लागे, म भने यतै बसेर काम गर्छु, खुसी पनि छु’ उनले भने। अहिले उनी ड्राइभिङ तालिम पनि लिँदैछन्।
चौधरी जस्तै गौरीगंगा-८ की मनिषा विष्ट पनि दैनिक ब्यूटिसियन तालिम लिन जान्छिन्। अहिले सुनपाल सामुदायिक वनले चौधरी र विष्ट जस्तै ९७ जनालाई सीपमूलक तालिम प्रदान गरिरहेको छ। वनले ३ महिने ब्यूटिसियन र ४५ दिने ड्राइभिङ तालिमसँगै ३ महिने कम्प्युटर बेसिक तालिम दिइरहेको सुनपाल सामुदायिक वनका अध्यक्ष रामबहादुर कामी बताउँछन्।
साथै सिलाइकटाइ तालिम, टायल मार्बलिङ र प्लम्बिङ तालिम पनि सञ्चालन भइरहेको छ। सुनपाल सामुदायिक वनमा गौरीगंगा-७ र ८ का उपभोक्ता छन्। समूहमा आबद्ध उपभोक्ता घरपरिवार मध्येबाट इच्छुक युवायुवतीलाई तालिम दिइरहेको अध्यक्ष कामीले जानकारी दिए। वन ऐनअनुसार सामुदायिक वन उपभोक्ता समूहले कार्ययोजना बमोजिम आर्जन गरेको वार्षिक आयबाट कम्तीमा २५ प्रतिशत रकम वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गर्नुपर्छ।
बाँकी रकमको कम्तीमा ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गरिबि न्यूनीकरण, महिला सशक्तीकरण तथा उद्यम विकास कार्यमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ। सोहीअनुसार सीपमूलक तालिम दिन थालिएको अध्यक्षले बताए। उनका अनुसार आर्थिक वर्ष २०८१(८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सिलाइकटाइका लागि २ लाख १० हजार, ड्राइभिङका लागि ४ लाख, ब्यूटीसियनका लागि १ लाख ७० हजार रुपैयाँ छुट्याइएको छ।
त्यस्तै कम्प्युटर बेसिकका लागि १ लाख २५ हजार, प्लम्बिङका लागि २ लाख ५० हजार र टायल मार्बल फिटिङ तालिमका लागि २ लाखगरी जम्मा १३ लाख ५५ हजार रुपैयाँ रकम छुट्याइएको छ। रोजगारका लागि जुन सुकै ठाउँमा गए पनि सहजै रोजगारी र राम्रो ज्याला पाउन भन्ने उद्देश्यका साथ तालिम दिइरहेको अध्यक्ष कामी बताउँछन्।
उनी भन्छन्, ‘हामीले तालिमको आयोजना आफ्नै ठाउँमै रोजगारीको सम्भावना बढाउनका लागि गरेका हौँ। यदि विदेश जानुपर्ने भए पनि सीप सिकेर जान सकियोस् र काम खोज्न कठिनाइ नहोस् भन्ने सोचले यो तालिम सुरु गरिएको हो।’तालिममा एकल महिला र विपन्न परिवारलाई प्राथमिकतामा राखिएको छ। तालिमसँगै सुनपालले परम्परागत पेसा व्यवसाय संरक्षणका लागि अनुदान दिने निर्णय पनि गरेको छ।
अध्यक्षका अनुसार आरन व्यवसाय, बेत बाँस तथा चोयाबाट सामग्री बनाउने, थारू समुदायको डेलुवा, ढकिया, हेल्का, डिलिया बनाउने, दुना टपरी र हाते होजियारी व्यवसाय गर्नेहरूका लागि आवश्यक सामग्री खरिद अनुदान दिनेगरी आवेदन माग गरिएको छ। उपभोक्तालाई रोजगारतर्फ उन्खुम गराउन प्रयास गरिरहेको सुनपालले गौरीगंगा रहेको खप्तड बहुमुखी क्याम्पसलाई एक थान ल्यापटप र पाठ्यपुस्तक खरिदका लागि २ लाख दिने निर्णय गरेको छ। रासस