काठमाडौं- आन्तरिक उड्डयन सेवामा सफल यात्रा तय गरिसकेको बुद्ध एयर अब प्रदेशस्तरीय उडान सेवा विस्तारमा अग्रसर हुने भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले कोशी प्रदेशका दुर्गम क्षेत्रहरूलाई लक्षित गर्दै ‘कोशी एयर’ नामक नयाँ वायुसेवा कम्पनी स्थापना गर्ने तयारी गरिएको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा आफ्नो पुस्तक बाई द बुक विमोचन गर्दै बस्नेतले बुद्ध एयरको स्थापना, सफलता र आगामी योजनाबारे जानकारी दिएका हुन्। पुस्तकमा उनले कोशी प्रदेशमा सस्तो, सुलभ र भरपर्दो हवाई सेवा आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले सहजीकरण गरेमा कोशी एयरको अवधारणा मूर्तरूपमा अगाडि बढाउने बताएका छन्।
बस्नेतका अनुसार, कोशी एयर निजी क्षेत्रको एकल प्रयासबाट सम्भव छैन। त्यसका लागि सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडलमार्फत अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। बुद्ध एयरले कोशी प्रदेशका मुख्यमन्त्रीलाई कम्पनी स्थापनासम्बन्धी अवधारणापत्र बुझाइसकेको र प्रदेश सरकार सकारात्मक देखिएको समेत पुस्तकमा उल्लेख छ।
'कोशी प्रदेशका दुर्गम क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले छुट्टै वायुसेवा कम्पनी सञ्चालन गर्न सकिन्छ, तर त्यो एकल प्रयासबाट सफल हुँदैन,' पुस्तकमा लेखिएको छ, 'सरकारसँग सहकार्य आवश्यक छ।'
पुस्तकमा उल्लेख भएअनुसार, बुद्ध एयर वा त्यसका कर्मचारीको ५० प्रतिशत र कोशी प्रदेश सरकारको ५० प्रतिशत स्वामित्व रहने गरी कम्पनीको प्रारम्भिक संरचना प्रस्ताव गरिएको छ। व्यवस्थापन पक्ष भने बुद्ध एयरले नै सम्हाल्नेछ। कम्पनी सञ्चालनको पहिलो पाँच वर्षभित्र मुनाफामा ल्याउने लक्ष्य लिइएको छ।
त्यसपछि कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरी बुद्ध एयरको स्वामित्व १५ प्रतिशतमा झार्ने र बाँकी ८५ प्रतिशत सेयर कोशी प्रदेशका स्थानीय बासिन्दालाई बजार मूल्यमा बिक्री गर्ने योजना छ।
'म एक जना धनी भएर होइन, समुदायलाई समृद्ध बनाउँदै अघि बढ्न चाहन्छु,' बस्नेतले पुस्तकमा लेखेका छन्, 'कोशी एयरलाई लाभमा ल्याएर त्यसको स्वामित्व स्थानीय जनतासँग बाँड्ने मेरो योजनाले उनीहरूमा अपनत्व र सामूहिक भावना बढाउनेछ।'
बस्नेतले नेपालको दुई तिहाइ भूभाग उच्च पहाडी र हिमाली क्षेत्रले ओगटेको हुँदा त्यहाँ यातायातको वैकल्पिक माध्यमको रूपमा हवाई सेवा आवश्यक भएको उल्लेख गरेका छन्। सडक सञ्जाल नपुगेका र विपद् जोखिमयुक्त क्षेत्रमा भरपर्दो हवाई सेवा नभएसम्म विकास सम्भव नहुने उनको निष्कर्ष छ।
बुद्ध एयरका ठूला जहाजहरूबाट दुर्गम क्षेत्रमा उडान सम्भव नभएकाले साना जहाजमार्फत छोटो दुरीको उडान सेवा सञ्चालन गर्न नयाँ वायुसेवा कम्पनीको आवश्यकता रहेको पनि उनले औंल्याएका छन्।
२०८१ भदौमा आएको बाढी र वीपी राजमार्ग अबरुद्ध हुँदा देखिएको अवस्थालाई उदाहरण दिँदै बस्नेतले विपद् व्यवस्थापनका लागि पनि हवाई सेवा अपरिहार्य भएको स्पष्ट पारेका छन्। साथै, पर्यटन तथा व्यापार प्रवर्द्धनका लागि समेत प्रदेशस्तरमा नियमित उडान सेवा आवश्यक भएको उनी बताउँछन्।
'सामान्य अवस्थामै पनि पहाडी क्षेत्रमा सस्तो र भरपर्दो हवाई सेवा दिन सक्ने हो भने त्यो सेवा र व्यवसाय दुबैका लागि लाभदायक हुनेछ,' पुस्तकमा उल्लेख छ।
बुद्ध एयरले विराटनगर र भद्रपुरलाई आधार बनाएर पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षभर नियमित उडान गर्ने योजना बनाएको छ।