शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

६ महिनामा दुई हजारभन्दा बढी पर्यटकले गरे शुक्लाफाँटा निकुञ्ज भ्रमण

बिहीबार , वैशाख १८ २०८२
६ महिनामा दुई हजारभन्दा बढी पर्यटकले गरे शुक्लाफाँटा निकुञ्ज भ्रमण

निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ भने सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले भ्रमण गरेका छन्।

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३ सय ८८ पर्यटकले भ्रमण गरेका छन्। त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ।

सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताए। उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन्। सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्।

कात्तिकमा ३१६, मंसिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन्। उनका अनुसार साउन, भदौ र असोजमा बर्सातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ। आव २०८०/८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए। त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए।

आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए। विसं २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ। थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ।

दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ। नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठुलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ। निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन्। 

निकुञ्जभित्र रहेका रानी ताललगायतका अन्य तालमा मगर गोही पाइन्छन्। रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन्। निकुञ्जमा १२ प्रजातीका घस्रने वन्यजन्तु, २० प्रजातीका उभयचर, २४ प्रजातीका माछा र ३५ प्रजातीका पुतली पाइन्छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend