काठमाडौं- अवैध बाटोबाट आयात गरेर ल्याएको ल्यान्ड रोभर रेन्ज रोभर कार अन्डर इनभ्वोइस भएको पुष्टि गरेर भन्सार विभागले पत्राचार गरेपछि काइरोस इन्टरनेसनल अदालत गएको छ।
भन्सारले ६७ हजार ५ सय २० डलरमा ल्याएको कार अन्डर इनभ्वाइस भएको पुष्टि गर्दै ८६ हजार अमेरिकी डलर मूल्य कायम गरिदिएको थियो। भन्सार विभागको उक्त निर्णयलगत्तै काइरोस इन्टरनेसनल प्रालि जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जमा मुद्दा लिएर पुगेको हो।
काइरोस इन्टरनेसनलले सुटुक्क आफ्नो पक्षमा आदेश ल्याउन जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा मुद्दा दायर गरेको पाइएको छ। अदालतको सेटिङमा माहिर मानिएको काइरोस इन्टरनेसनलले आफ्नो गल्ती तथा कमजोरी छोप्न अदालतको सहारा लिने गरेको छ।
भन्सार विभागको निर्देशनपछि सुक्खा बन्दरगाह कार्यालय सिर्सियाले काइरोस इन्टरनेसनललाई निर्धारण भएको थप कर तथा जरिवानाको पत्र पठाएको थियो। उक्त पत्र पाउनेबित्तिकै काइरोस इन्टरनेसनल सुक्खा बन्दरगाह कार्यालयको पत्रविरुद्ध मुद्दा लिएर अस्थायी इजलास वीरगञ्ज पुगेको हो।
बैशाख १० गतेअघि नै काइरोसले जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरेको पाइएको छ। उक्त इजलासले बैशाख १० गते नै अल्पकालीन अन्तरिम आदेश दिएको थियो। काइरोस इन्टरनेसनल प्रालिका तर्फबाट राजेश शर्माले सुक्खा बन्दरगाह भन्सारविरुद्ध मुद्दा दायर गरेका थिए।
जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश अर्जुन महर्जनको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर बैशाख १७ गते दुवै पक्षलाई अन्तरिम आदेश दिनुपर्ने नपर्ने विषयमा छलफल गर्न बोलाएको छ। बैशाख ३ गते सुक्खा बन्दरगाह कार्यालयले काटेको पत्र तत्काल कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको थियो।
काइरोस इन्टरनेसनल प्रालिले उत्पादक कम्पनी वा उसले तोकेको बिक्रेता कम्पनीसँग नभइ अर्कै कम्पनी खडा गरेर ल्यान्ड रोभर रेन्ज रोभरको कार आयात गरेर ल्याएको थियो। काइरोसले आयात गरेको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्टस कार गएको माघ २७ गते आइतबार भन्सार जाँचपास भएर नेपाल भित्रिएको थियो।
उक्त कार आधिकारिक बिक्रेता नै नभएको कम्पनीले कहाँबाट र कसरी आयात गर्यो र यसरी अवैध बाटोबाट आयात भएको रेन्ज रोभर कार भन्सारले कसरी जाँचपास गर्यो? बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो।
वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट उक्त गाडी जाँचपास भएको थियो। उक्त कार्यालयले कुनै आधिकारिक बिक्रेताको किर्ते कागजातकै आधारमा काइरोस इन्टरनेसनलले अवैध बाटोबाट ल्याएको ल्यान्ड रोभर रेन्ज रोजर स्पोर्टस कार जाँचपास गरेको पाइएको थियो।
बेलायती विलासी कार उत्पादक कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)ले नेपालमा आधिकारिक बिक्रेता नरहेको बताइसक्दा ल्यान्ड रोभरको कार भन्सार जाँचपास भएको थियो। भन्सार कानूनअनुसार उत्पादन कम्पनी वा उत्पादक कम्पनीले तोकको कम्पनीबाट मात्र सवारी आयात गरेर ल्याउने पाइन्छ। तर उत्पादक कम्पनीले नै आधिकारिक बिक्रेता छैन भन्दासमेत ल्यान्ड रोभरको कार भन्सारले जाँचपास गरेर नेपाल ल्याउन दिएको हो।
यसरी अवैध बाटोबाट ल्यान्ड रोभरका कार नेपाल आयात भएको समाचार बिजनेस न्युजले बाहिर ल्याएपछि भन्सार विभागले आफ्नोतर्फबाट अनुसन्धान सुरु गरेको थियो। सो अनुसन्धानपछि काइरोस इन्टरनेसनलले ल्याएको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्टस कारमा अन्डर इन्भोइस भएको निष्कर्ष भन्सार विभागले निकालेर आयातकर्तालाई पत्र काटिसकेको थियो। विश्व बजारमा उक्त कारको मूल्य ९० हजार अमेरिकी डलरभन्दा बढी रहेको छ। तर काइरोसले उक्त कार सीआईएस (सामानको मूल्य, भाडा तथा बीमासमेत) मूल्य नै जम्मा ६७ हजार ५ सय २० अमेरिकी डलरमा आयात गरेर ल्याएको थियो।
काइरोसले रेन्ज रोभर स्पोट्र्स कार अमेरिकाबाट ल्याएको भन्सारमा घोषणा गरेको थियो। अमेरिकाबाट उक्त कार ल्याउन भाडा र बीमा नै कम्तिमा ४ देखि ५ हजार डलर लाग्छ। त्यसरी हेर्दा यो रेन्ज रोभर स्पोर्टस कार ६० हजार डलर हाराहारीमा खरिद गरेको देखिन्छ। यो सरासर अन्डर इन्भाइस थियो। भन्सार विभागले सुख्खा बन्दरगहा भन्सार कार्यालयसँगको समन्वयमा सबै कागजात, अन्तर्राष्ट्रिय बजार मूल्य र कम्पनीले बिक्रेतालाई दिने मूल्यसमेत अध्ययन गरेर ल्यान्ड रोभर रेन्ज रोभर स्पोट्र्सको मूल्य कायम गरेको हो।
भन्सार विभागले ६७ हजार ५ सय २० अमेरिकी डलरमा खरिद गरिएको उक्त कारको मूल्य ८६ हजार डलर कायम गरेर काइरोस इन्टरनेसनललाई पत्र पठाएको थियो। भन्सार विभागले कारइरोसबाट सोहीअनुसार बाँकी भएको रकममा भन्सार महसुल, अन्तःशुल्क, सडक मर्मत सम्भार दस्तुर, भ्याट र जरिवनासमेत असुल गर्न भनेको छ। त्यसविरुद्ध काइरोस इन्टरनेसनल मुद्दामा गएको थियो।
काइरोसले अवैध बाटोबाट ल्याएको रेन्ज रोभरमा ‘अन्डर इनभ्वोइस’ भएको पुष्टि
अवैध बाटोबाट आएको ल्यान्ड रोभर कार भन्सारले कसरी गर्यो पास?
ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन