काठमाडौं- तीन वर्षअघि ऋणात्मक भएको राजस्व संकलन बल्ल यो वर्षदेखि त्यसअघिको वर्षको तहमा उक्लिएर पार गर्न सफल भएको छ। अर्थ मन्त्रालयले प्रकाशित गरेको आठ महिनाको विवरणअनुसार चार वर्षअघिको तह भेट्टाएर माथि गएको छ।
आर्थिक वर्ष २०७८/७९ सम्म राजस्व संकलनमा तीव्र वृद्धिदर कायम भइरहेको थियो। उक्त वर्ष आठ महिनामा ६ खर्ब ८४ अर्ब संकलन भएको थियो। त्यसपछिको वर्ष ऋणात्मक भएको राजस्व गत आर्थिक वर्ष पनि उक्त आधार भेट्टाउन सकेको थिएन।
बल्ल चालु आर्थिक वर्षमा आएर भने आर्थिक वर्ष २०७८/७९ कोभन्दा धेरै राजस्व संकलन भएको छ। चालु वर्षको आठ महिनामा कुल राजस्व ७ खर्ब २० अर्ब ३४ करोड संकलन भएको छ।
गत वर्ष त्यसअघिको ऋणात्मक आधारमा सन्तोषजनक वृद्धिदर देखिए पनि त्यसअघिको वर्षको लेभल बराबर गर्न सकेको थिएन।
यो वर्ष आएर नियमित वृद्धिदर भइरहेको वर्षको तहमा पुगेकाले आगामी वर्ष पनि राम्रो वृद्धिदरको सम्भावना अझै नरेहको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। यद्यपी समग्र सूचकमा सुधार हुँदा खर्चमा वृद्धि भयो भने राजस्व संकलनमा सुधार हुन सक्नेछ।
अर्थ मन्त्रालयले भने सूचकहरूमा बिस्तारै सुधार हुँदै गएको र यसले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरेको छ। राजस्व संकलन, वैदेशिक मुद्रा सञ्चिति, तथा पर्यटन आगमनजस्ता क्षेत्रमा सुधार देखिएको मन्त्रालयको तथ्यांक छ।
आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म संघीय सरकारको कुल राजस्व १२.७ प्रतिशतले वृद्धि भइ ७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। यस्तै कर सहभागिता पनि निरन्तररुपमा बढेको छ। स्थायी लेखा नम्बर लिनेहरूको संख्या ६७ लाख नाघेको छ।
वित्तीय सूचकहरूमा सुधारका संकेत देखिएको मन्त्रालयले उल्लेख गरेको छ।
बाह्य क्षेत्र यसै पनि बलियो रहेको अवस्थामा आन्तरिक माग संकुचित हुँदा अर्थतन्त्र शिथिल बनेको छ। यसको प्रभाव राजस्व संकलनमा पर्दै आएको छ। वैदेशिक सहायताका ढोकाहरू बन्द हुँदै जाँदा राजस्वमा परेको चापले अझ तनाव थपेको छ।