काठमाडौं- गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा उनले विपद्का घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताएका हुन्।
‘यहाँबाट तपाईं हामी बसेर नीतिनिर्माण गर्ने हो, यसलाई लागु गर्ने स्थानीय तहले भएकाले उनीहरूलाई सक्षम बनाउनु पर्छ’ गृहमन्त्री लेखकले भने। आपत्कालीन गोदामघर स्थापना गरेर त्यसमा आधारभूत सामग्रीहरू राख्नुपर्ने उनको भनाइ छ।
साथै गोदाम घर भनेर छुट्टै घर नभइ पालिकाकै एउटा कोठा छुट्याउँदा पुग्ने पनि उनले बताए। गृहमन्त्री लेखक भन्छन्, ‘प्रत्येक पालिकाका आफ्ना कार्यालय छन्, ती कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ।’
गोदामघरलाई संघ र प्रदेश सरकारले पनि सहयोग गर्ने तर, मुख्य जिम्मेवार एवं आधार स्थानीयलाई बनाउनु पर्ने उनले बताए। सरकारले ४ वटा प्रदेशमा आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ। काठमाडौं बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सरकारको तयारी छ।
‘प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमाडौंमा प्राधिकरणसँग समन्वय गर्नुपर्ने स्थिति थियो’ उनले भने, ‘अहिले नीतिगत तहबाट निर्णय गरेर सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गर्ने काम भएको छ।’ त्यस्तै विपद् व्यवस्थापनका विषयमा सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका रहने गृहमन्त्रीको भनाइ छ। रासस