काठमाडौं- प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले राजधानीमा भइरहेका विभिन्न प्रदर्शन, मौलिक हकको कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने बताएका छन्। साथै सामाजिक सञ्जाल दर्तालगायत समसामयिक विषयमा पनि सांसदहरले सरकारको ध्यानाकर्षण गारएका छन्।
बैठकको शून्य समयमा बोल्दै सांसदहरूले शिक्षक, चिकित्सक, लघुवित्त र सहकारी पीडितको प्रदर्शनलाई सम्बोधन गर्न, पहाडी क्षेत्रमा भइरहेको खानेपानीको अभाव अन्त्य गर्न आगामी बजेटमा विशेष व्यवस्था गर्न सुझाव दिएका हुन्। सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
प्रदर्शनरत शिक्षक, आवासीय चिकित्सक, स्थानीय कर्मचारी, लघुवित्त र सहकारी पीडितका समस्या समाधानमा गम्भीर बन्न सासद केसीले सरकारको ध्यानाकर्षण गराए। अर्का सांसद अम्मरबहादुर थापाले शिक्षकसँग तत्काल वार्ता र संवाद गरेर माग सम्बोधन गर्नुपर्ने बताए।
सांसद कान्तिका सेजुवालले शिक्षकसँग यसअघि भएका सहमतिको कार्यान्वयन गर्दै निःशुल्क र गुणस्तरीय शिक्षा पाउने विद्यार्थीको हक सुनिश्चित गर्न आग्रह गरे। उनले आगामी आवमा कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नसमेत अनुरोध गरेकी छन्।
सांसद गंगा कार्कीले विभिन्न माग राखेर सडकमा आन्दोलन गरिरहेका शिक्षक, चिकित्सक र लघुवित्त पीडितलगायतको माग पूरा गर्न सरकारसँग आग्रह गर। सांसद आश्माकुमारी चौधरीले जनभावना सम्बोधन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिइन्।
त्यस्तै डा. अमरेशकुमार सिंहले राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरूको वैदेशिक भ्रमणका क्रममा प्राप्त उपहारलाई संग्राहालय बनाएर राख्नुपर्ने बताएका छन्। सांसद असिम साहले सामाजिक सञ्जाल नेपालको कानूनअनुसार दर्ता भएर सञ्चालित हुनुपर्नेमा जोड दिँदै त्यस्ता कानूनमा भएका उल्झन हटाउन आग्रह गरे।
सांसद ईश्वरी घर्तीले पिउने पानीको अभावमा पहाडी क्षेत्रका नागरिकले सास्ती व्यहोर्नुपरेको जनाएकि छन्। जसकाे समाधानका लागि आगामी आवको बजेटमा प्रत्येक वडामा ‘रिचार्ज’ पोखरी निर्माणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
सांसद उर्मिला माझीले गोरखा भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित माझी बस्तीका रहेका ५५ परिवारका नागरिक बैंकको कालोसूचीमा परेकाे विषय उठाएकी छन्। उक्त बस्ती लिलामीको अवस्थामा पुगेको जनाउँदै उनले माझी समुदायमाथि परेको अप्ठ्यारो समाधान गर्न आग्रह गरिन्।
सांसद एकनाथ ढकालले आगामी जेठ पहिलो साता काठमाडौंमा आयोजना हुने सगरमाथा संवादको तयारीमा सांसद्लाई पनि परिचालित गर्न आग्रह गरे। सांसद कालुराम राईले हिउँदमा आगलागी र डढेलोबाट धनजनको क्षति र वातावरणीय प्रदूषण बढेको भन्दै अगलागी र डढेलो न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन्।
सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। अर्का सांसद छिरिङ डम्डुल लामाले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तका विषयमा भएका निर्णय प्रक्रियाबारे सदनलाई जानकारी गराउन माग गरे। रासस