बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

स्वास्थ्य बीमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

शुक्रबार, वैशाख १२ २०८२
स्वास्थ्य बीमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

यसअघि नै बीमा बोर्डले तीन महिनामा एकपटक मात्रै परीक्षण गर्न पाउनेगरी नीति बनाएको थियो। भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बीमामार्फत गर्न रोकिएको हो।

चितवन- साउनयता स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर अस्पतालले बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ। परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ।

बीमा बोर्डबाट पाउनुपर्ने ५० करोड रूपैयाँ भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन्। यसअघि नै बीमा बोर्डले तीन महिनामा एकपटक मात्रै परीक्षण गर्न पाउनेगरी नीति बनाएको थियो। भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बीमामार्फत गर्न रोकिएको हो।

पौडेलले भने, 'अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ। ती परीक्षणको कीट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो हुने गर्दछ। त्यसैले रोक्नु परेको हो।'

बीमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट (केमिकल) र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको उनले बताए। उनका अनुसार फागुनदेखिको १२ करोड रूपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ। ती कम्पनीहरुले अस्पताललाई समान दिन गाह्रो मानेको उनी बताउँछन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा पौडेल बीमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउनसमेत कठिन हुन थालेको र अस्पताल सञ्चालनका लागि तत्काल २५ करोड रूपैयाँ भुक्तानी भयो भने अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुने बताउँछन्।

उनी भन्छन्, 'यस्तै अवस्था रहे फर्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ। अस्पतालमा हाल दैनिक एक हजार ५ सयभन्दा बढी स्वास्थ्य बीमामार्फत बिरामीले उपचार लिँदै आएका छन्। अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी यस्ता बिरामी रहेका तर भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा कठिन भएको हो।'

अस्पतालका बीमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको ३७ करोड रूपैयाँ भुक्तानी भए पनि चालु आर्थिक वर्षको हालसम्म भुक्तानी भएको छैन। अस्पताल विकास समितिको पैसाबाट बीमाका बिरामीलाई सेवा दिइएको जानकारी दिँदै उनले यही अवस्था रहे अस्पताल आर्थिक संकटमा धकेलिने बताए।

अस्पतालले मासिक ६ करोड रूपैयाँभन्दा बढीको स्वास्थ्य बीमाको उपचार सेवा दिँदै आएको छ। भरतपुर अस्पताल स्वास्थ्य बीमामा देशकै उत्कृष्ट र नमूना मानिन्छ। देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा दाबी प्रक्रिया बुझ्न कर्मचारी यहाँ आउने गरेका छन्। यसरी आएकाहरूलाई बीमा दाबी भुक्तानीका बारेमा थप प्रशिक्षित गरेर पठाउने गरिएको पौडेलले बताए। रासस


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२१६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend